प्रहरी निरीक्षकलाई विभागीय कारबाही
बुटवल : दलित युवकसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले मुद्दा चलाएको छ। शुक्रबार बाबु इन्द्रल यादवसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको हो।
रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–६, हिडुलीकी १७ वर्षीया मनिता यादवलाई स्थानीय २१ वर्षीया दिनेश लोधसँग प्रेम गरेकोभन्दै परिवारका सदस्यले नै निर्घात कुटपिट गरेका थिए। असार १९ गतेको घटना बिहीबार मात्रै सार्वजनिक भएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले किशोरीलाई कुट्ने बाबु इन्द्रल यादव, ठुलो बुवा लालमन यादव, उनकी श्रीमती, दाइ दिनेश यादव र छिमेकी पशुपती कोइरीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिनुभयो। युवती कुटिएको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री जनार्दन शर्माकै निर्देशनमा रुपन्देही प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको थियो।
असार १९ गते घटना भएपछि मर्चवार इलाका प्रहरी कार्यालयले कुटपिट गर्नेमध्येका बाबु इन्द्रललाई नियन्त्रणमा लिएर छाडेको थियो। महिला हिंसा भएको घटनालाई स्थानीय स्तरमै मिलाप गराएको भन्दै मर्चवार इलाकाका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिलाई स्पष्टिकरण सोधेको छ।
मर्चवार प्रहरीले किशोरीसंग प्रेम सम्बन्धमा रहेका लोधलाई एकलाख क्षतिपूर्ति गराई छाडेको थियो। मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँले छोरी कुट्ने बाबुलाई छुटाउने गरी प्रहरीसँग समन्वय गरेको बताइएको छ।
annapurnapost




















