- नेपाली नागरिक उड्डयन
श्रावण ६, २०७४- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाललाई सन् २०१३ देखि लगाएको गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको छ । नागरिक उडड्यन प्राधिकरणलाई बिहीबार आइकाओले यो सूचीबाट हटाइएको औपचारिक रुपमा जानकारी दिइपछि प्राधिकरणले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएको छ । आइकाओले रातो झण्डा हटाएपनि इयुको कालोसूचीबाट भने हटेको छैन ।
नेपाली एयरलाइन्सलाई इयुको कालोसूचीबाट पनि हटाउन नेपाल सरकारले आइकाओले रातो झण्डा हटाइएको भनेर दिएको प्रतिवेदनसहित आवश्यक कागजात पेश गर्नुपर्ने हुन्छ ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौमतका अनुसार, नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण समितिले बिहीबार (हिजो) मुख्यालय क्यानडामा बैठक गरी नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाउने निर्णय गरेको थियो ।
नेपालले सन् २०१३ यता गरेका सुधार मूल्यांकन गर्न आइकाओको दुई सदस्यीय अडिटर टोली असार २० गते नेपाल आएको थियो । एक साता नेपालमा बसेको उक्त टोलीले यहाँको हवाई कानून, नागरिक उड्डयनको संगठन, वायुयान सञ्चालन र उडान योग्यताको सम्परीक्षण गरेको थियो ।
अडिटकै क्रममा टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा सुपरीवेक्षणको प्रभावकारिता बुझ्न नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरु नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्समा आकस्मिक निरीक्षण पनि गरेको थियो ।
यो सम्परीक्षण अडिटबाट नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिसहरुको परिपालना दर औसतभन्दा ६ प्रतिशतले बढ्न गएको छ । आइकाओले निर्धारण गरेको औसत प्रतिशत दर ६० हो । नेपालले यसपटक ६६ दशमलव ०८ प्रतिशत पाएको छ ।
आइकाओले सबैभन्दा पहिले सन् २००९ मा पहिलोपटक ८ वटा क्षेत्रहरु समेटेर उडान सुरक्षा अडिट गरेको थियो । त्यसबेलाको अडिटमा नेपालको परिपालनको दर ४३ प्रतिशत मात्रै थियो । उक्त अडिटले औंल्याएका कमीकमजोरीहरुको निराकरणको अवस्थाको मूल्यांकन गर्न सन् २०१३ मा भएको दोस्रो सम्परीक्षण अडिटमा परिपालनको यो दर ५५ प्रतिशत पुगेको थियो । तर नेपालले वायुसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने सम्बन्धमा आइकाओबाट निर्धारित प्रक्रियाहरुको परिपालन नगरेको जनाई नेपाललाई गम्भीर सुरक्षा चासो भएको मुलुकको रुपमा राखेको थियो ।
यसैलाई मुख्य कारण देखाउँदै युरोपियन युनियनले नेपाली एयरलाइन्सहरुलाई विसं २०७० मंसिरदेखि आफ्ना सदस्य मुलुकभित्र निषेध गर्दै हवाई सुरक्षा सूचीमा राखेको थियो । महानिर्देशक गौतमले गम्भीर सुरक्षा चासो (एसएससी) बाटो आइकाओले हटाएको जानकारी ईयूलाई चाँडै गराउने जनाउँदै उस्ले यूरोपमा लगाएको प्रतिबन्धबाट फुकुवा गर्न पहल गरिने बताए ।
ekantipur




















