, तातोपानी (सिन्धुपाल्चोक)
श्रावण ५, २०७४- अविरल वर्षाले भोटेकोसी गाउँपालिकाको दर्जनौ स्थानमा पहिरो जाँदा पाँच बस्ती उच्च जोखिममा परेको छ । भोटेकोसी गापा फुल्पिङकट्टीको झिर्पूको हिन्दी, मार्मिनको छ्यादीटोलको ह्याङ्ले र चाकु बजारदेखि तातोपानीको दुगुना, बोक्चेनलगायतका स्थानमा पहिरोले सय परिवार पहिरोको उच्च जोखिम परेका हुन् ।
‘बाढीले तलबाट कटान गरिरहेको छ, माथिबाट पहिरो ओइरिरहेको छ,’ फुल्पिङकट्टी झिर्पु हिन्दीका ध्रुव पौडेलले भास्सिएको भुभाग देखाउँदै भने,‘ पहिरोले भागाभाग बनाएको छ, रातदिन डरमा बित्छ ।’ उनले फुल्पिङकट्टीको झिर्पू र हिन्दीमा मात्रै ६० परिवार पहिरोको उच्च जोखिममा परेको सुनाए ।

अविरल वर्षाले यहाँका बस्तीबस्तीका जमिन भास्सिदै गइरहेको छ । बाढीले तल्लोभाग कटान गर्दै लगेसँगै पुरा भुभाग धाँजा धाँजा फाटेपछि यहाँका स्थानीय जाग्राम बस्न थालेको पौडेलले जनाए । ‘सबै पहिरो र बाढीको जोखिमले निदाउन सकेका छैनन् ,’ उनले भने,‘ पहिरोको जोखिम मोलेरै बसिरहेका स्थानीय सुरक्षित स्थानको खोजिमा पिरोलिइरहेका छन् ।’

छ्यादी खोलाको बाढीले घर बगाएपछि विस्थापीत भएर छ्यादी टोलमा आएर बसिरहेका ह्याङ्लेटोलका २० परिवार बस्तीमाथि पहिरो लाग्न थालेपछि समस्यामा परेका छन् । ‘यहाँ पनि प्रकृतीले खेदन् छोडेन् , सुरक्षित ठाउँ पाए पनि जानु हुन्थ्यो, ’ घर बगाएपछि छ्यादीटोलमा आश्रय लिएर बसिरहेका निमपासाङ तामाङले भने,‘ खेतीयोग्य जमिन सबै भास्सिएको छ , कसरी जिवन निर्वाह गरेर बाँच्ने हो ?’

पारिको भिरका डाँडो सबै भास्सिएर झर्न थालेपछि मार्मिङको चाकुबजार नै जोखिममा परेको छ । झण्डै ६० परिवार बसिरहेको चाकु बजारको बस्तीमा बाढीले तलबाट कटान गर्दै लगिरहेको छ । भने, बस्तीको माथिल्लो पहाडबाट पहिरो झर्न थालेको छ ।
हाल बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकखण्डको दर्जनौ स्थानमा पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन सकेको छैन् । पहिरोको जोखिमले बोलेरोजस्ता सवारीसाधन पनि झिर्पुसम्मै मात्रै आउने गरेका छन् । चिनियाँ कम्पनी सिआरसीसीले पुनर्निर्माण गरेको कोदारी राजमार्गका पहिरोले बगाएको सात स्थान पुरानै जिर्ण अवस्थामा फर्किसकेको छ ।

सीमावर्ती तातोपानीको लिपिङ बजार ,बोक्चेनमा जस्ता बस्तीपिच्छे पहिरो झर्न थालेपछि स्थानीयमा त्रास भरिएको सीमास्थित सुरक्षा प्रहरी बलका प्रहरी नायब उपरिक्षक विमल डागीले बताए । ‘बिजुली र नेटवर्क नभएपछि उनीहरुमा थप त्रास फैलिएको हो,’ उनले भने,‘ सीमामा सुरक्षित स्थान नहुँदा सयौ परिवार पहिरोको जोखिम मोलेर बसोबास गरिरहेका छन् ।’ उनले सुरक्षित स्थानमा जग्गा नभएकै कारणले जोखिम सहेर बाध्यतापूर्वक पहिरोमुनी बसिरहेको प्रष्ट्याए ।
ekantiipur


