- टर्कीले डिपोर्ट गरेपछि खुल्यो अध्यागमन अधिकारीको पोल
अरु सामान्य विदेशीले झैं म्यागेनडेरान सजिलै अन–अराईभल भिसा पाएका थिए र उसै गरी उनी ५ असारमा टर्कीका लागि डिपार्चर भएका थिए । तर म्यागेनडेरानले नेपालमा जसरी सजिलै टर्की छिर्न पाएनन् । उनी टर्कीको अङ्कोरा विमास्थलबाटै डिपोर्ट भए । कारण थियो–‘इम्पोस्टर’, अर्थात उनले आफ्नो परिचय बदलेर अरु कसैको नक्कली पासपोर्टमा यात्रा गरिरहेका थिए ।
काठमाडौं उत्रने बित्तिकै अध्यागमनका अधिकारीहरुले नियन्त्रणमा लिएका म्यागेनडेरानले नक्कली पासपोर्टमा कसरी र केका आधारमा अन–अराभईल भिसा पाए भन्ने प्रश्न यतिबेला उब्जिएको छ ।
जबकी विमानस्थलमा पासपोर्ट रिडि गर्ने मेसिन छ र त्यसले पासपोर्टको वैधानिकता जाँच्ने गर्दछ । स्रोतका अनुसार डिपार्चर बुकमा समेत म्यागेनडेरान कहिले, कसरी र कुन विमानमार्फत टर्की गए भनेर खुलाइएको छैन । कान्तिपुरसँग सम्र्पकमा आएका स्रोतले म्यागेनडेरानले नक्कली पासपोर्टमा सजिलै अन–अराईभल भिसा पाउनु अध्यागमन अधिकारीहरुकै कमजोरी वा मिलेमतोको परिणाम भएको दाबी गरेको छ ।
अध्यागमन विभागले म्यागेनडेरानमाथी थुनामा राखेर थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद लिइसकेको छ ।
अध्यागमन विभागका महानिर्देशकले गंगाराम गेलालले म्यागेनडेरानको घटनाबारे आफूले बुझ्ने बताउँदै भने, ‘के भएको रहेछ बुझेर मात्रै बताउँला ।’
नक्कली पासपोर्टमा भिसा दिइएको हो भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘त्यस्तो भएको रहेछ भने कर्मचारीमाथी पनि गम्भिर अनुसन्धान र कारबाही हुन्छ ।’
स्रोतका अनुसार म्यागेनडेरान कुन देशका नागरिक हुन् भन्ने पनि अध्यागमनले ठम्याउन सकेको छैन । उनी श्रीलंकाली हुनसक्ने अनुमान गरिएपनि राष्ट्रियता खुल्ने कुनै आधारहरु फेला परिसकेको छैन । उनी किन र कुन उद्धेश्यमा काठमाडौं उत्रिए र के गरेर फर्किए भन्नेबारे पनि केही खुलेको छैन ।
म्यागेनडेरानको पासपोर्टमा उनले छोटो अवधीमा नै थाईल्याण्ड, भियतनाम, लाओससम्मको यात्रा गरेको देखिन्छ । विमानस्थल अध्यागमनका एक अधिकारीले म्यागेनडेरानले चोरीएको कसैको पासपोर्टमा आफ्नो फोटो टाँसेर झुक्याएको हुनसक्ने आशंका छ ।
ekantipur




















