बिनोद श्रेष्ठ/मुग्लीन, चितवन
चितवन, असार ९ गते । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरीएको छ । प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगीलाई उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले दिएको जानकारी अनुसार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना.१ झ ९३ नं.को भ्यान र ना.५ ख ७८२७ नं.को ट्रकलाई पुरेको हो ।

शुक्रबार दिउसो सम्म पनि भ्यान पुरिएकै अवस्थामा र ट्रक नदीमा खसेको छ । भ्यान सँगै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ बेपत्ता छन।

त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ । पहिरोमुनि नै प्रहरीको भ्यान रहेको र पहिरोले भ्यानसहित प्रहरी पुरेको अनुमान गरिए गरीएको छ।

सो सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको थियो ।

सो ठाउँ र चारकिलोमा ठूला पहिरोे खसेको छ । घटनास्थलमा राति नै प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापासहित सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु पुगेका थिए । पहिरोका कारण दुवैतर्फ सवारीको लामो लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् । सो सडक दिउँसो बन्द गरेर काम गर्ने हुँदा रातको समयमा सवारी चाप बढ्ने गर्दछ ।







