उत्तरी जर्मनीमा आगामी अगष्टमा सुरु हुने एक भव्य सांगितिक महोत्सव वाकेन ओपन एयर हार्ड रक फेस्टिबलका लागि भूमिगत मदिरा पाइप लाइन बिछाइएको छ ।
१४ इन्च व्यासको उक्त पाइपलाइनबाट हरेक सेकेण्डमा एक गिलास बियर भरिनेछ ।यो चार माइल लामो पाइपलाइन संजालको एक भाग रहेको र यसले महोत्सवलाई वातावरणमैत्री बनाउने आयोजकहरुको भनाई छ ।
वाकन ओपन एयर फेस्टिबल विश्वकै सबैभन्दा ठूलो रक संगीतको महोत्सव हो । जर्मनीको ह्याम्बर्गभन्दा ८० किलोमिटर उत्तर पश्चिममा पर्ने वाकेन गाउँमा वर्षेनी यो महोत्सव हुने गर्दछ । उक्त गाउँमा १८५० जनसंख्या रहेको छ । सन् १९९० देखि हेभी मेटल भनिने विशेष खाले रक संगीतको यो महोत्सवको आयोजना हुँदै आएको छ ।
यो रक संगीत महोत्सवमा चर्चित ब्याण्डहरुले सहभागिता जनाउने गर्दछन् । तिन दिनसम्म हुने महोत्सवमा झण्डै डेढसय ब्याण्डले संगीत पस्किन्छन् ।
उक्त महोत्सवमा ७५ हजार जना सहभागी हुने गरेका छन् । जहाँ हरेक सहभागीले औषतमा महोत्सव अवधिभर ५.१ लिटर बियर पिउँदछन् ।
ठूलो परिमाणमा बियर खपत हुने भएकाले बियरको आपूर्ति सहज बनाउन पाइप लाइनबाटै बियर आपूर्ति गर्ने निर्णय भएको हो । यो बढि दिगो तथा मूल्य प्रभावी हुने आयोजकको भनाई छ । पाइप लाइनबाट बियर आउने भएपछि बियर लादिएका ट्रकका लाइन महोत्सव स्थलमा देखिने छैनन् ।
बियर आपूर्तिका साथै पानीको आपूर्ति र फोहोरमैला निस्कासनका लागि समेत छुट्टै पाइपलाइनको व्यवस्था गरिनेछ ।
बीबीसी


