मतपत्र च्यातिएपछि गणनास्थलको दृष्य । तस्वीर: बोमलाल गिरी
१५ जेठ, चितवन । मतगणनाको वातावरण नभएको भन्दै भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरेका हुन् । उनले घटनाको सत्यतथ्य छानबिन गर्न समिति बनाउने र समितिको प्रतिवेदनअनुसार आफूहरु अघि बढ्ने बताए ।
सुरक्षाका लागि गेटमा राखिएका प्रहरीले पनि प्रवेश पास नभएको व्यक्ति आएको र आफूले रोक्दा रोक्दै जबर्जस्ती भित्र छिरेको बताएका छन् ।पत्रकार सम्मेलनमा उनले भने, ‘म पिसाब फेर्न गएको बेला केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्याते ।’
मतपत्र च्यातेको भन्दै चितवन वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माओवादी प्रतिनिधि द्रोण सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले भने भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको दाबी गरेका छन् । यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको उनले आरोपसमेत लगाए ।
onlinekhabar


