काठमाडौं, २७ बैशाख । युवतीको हत्यामा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–५ बस्ने ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसको कोठा नम्बर ३०४ मा बैशाख २३ गते काभ्रे, महांकालचौर–८ बस्ने २८ वर्षीया लक्ष्मी तामाङ र निज तिमल्सिनाले नाम, ठेगाना र फोन नम्बर समेत परिवर्तन गरी बिष्णु सापकोटा ठेगाना चितवन भनि सँगै बसेको र भोलिपल्ट बिहान हत्या भएको अवस्थामा लक्ष्मीको शव फेला परेको थियो ।
मृतक लक्ष्मीसँग तिमल्सिनाको करीब १८ महिना पहिलादेखि फोनमार्फत कुराकानी भई चिनजान भएको र उक्त दिन आर्थिक कारोबारको बिषयलाई लिई भएको बादविबादमा सलको पासो घाँटी कसी कर्तव्य गरी मारी बेडमा नै सिरकले छोपी मृतकको साथमा रहेको सुनको सिक्री १ थान, नेक्लेश १ थान, बेरुवा औंठी १ थान, मुन्द्रा ८ थान, माछा आकारको कानमा लगाउने टप, नगद ५ सय र मृतकको मोवाईल २ थान समेत लिई ३ जनाको लागि खाना अर्डर गरी आफु एयरपोर्ट जान्छु भनि हिंडेको खुल्न आएको छ ।
अभियुक्तबाट मृतकको मोबाईल १ थान, नगद ९५ हजार रुपैयाँ र सुनको जस्तो देखिने मृतकको तिलहरी १ थान समेत प्रहरीले बरामद गरेको छ । अभियुक्त तिमल्सिनालाई उक्त महाशाखाले थप कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाएको छ ।
rajdhanidaily




















