नवीन अंकुर/मनाङ
चैत्र ९ गते । हिमाल पारीको जिल्ला भनेर चिनिएको मनाङ जिल्ला यो समयमा आन्तरीक तथा वाह्य पर्यटकहरुले खचाखच भरिएको छ ।
बसन्त ऋतुको समयमा पर्यटकहरुको आगमनमा बृद्धि हुने र यस समयमा परेको हिमपातले पर्यटकलाई झ आकर्षण गरिरहेको अवस्था छ । वरीपरी अन्नपुर्ण हिमश्रृङ्खला विस्वकै अग्लो स्थानमा रहेको तिलीचो ताल, तिलीचो हिमाल, गंगापुर्ण ताल, गंगापुर्ण हिमाल, पिसाङ चुलि र ठाउँ ठाउँमा भएका हिमतालहरुले पर्यटकहरुको मन लोभ्याएको छ भने यस क्षेत्रको मुख्य विशेषताको रुपमा यहाँका वासीन्दाहरुको भेषभुषा र यहाँका मौलिक परमपरा, चाडपर्वहरु रहेका छन् ।
अझ महत्वपुर्ण पाटो त यहाँका वनजङगलमा पाइने वन्यजन्तु हिम चितुवा, घोरल नायन, डाँफे, कस्तुरी मृग, हिमाली रातो भालु, लिङ्कस हाव्रे, चिर मुनाल, कालिज, विभिन्न जडिवुटीहरु यर्सागुम्वा, पाँचऔले, वनलसुन, निरमसी, जटामसी, कुट्की, अमला, अल्लो जस्ता महत्वपुर्ण औषधि मुलक जडिवुटीहरु पाइन्छन् । पर्यटकलाई वसोवासका लागी सुविधा सम्पन्न होटलहरु होम्ली वातावरण स्थनिय उत्पादनवाट वनेका स्थानीय परीकारहरुले पनि पर्यटकहरुलाई लोभ्याउने गरेको पाइन्छ । त्यस्तै यहाँका गुम्वा छोर्तेनहरु पनि पर्यटकका मुख्य आकर्षणका विन्दुहरु हुन् भने यहाँका चाडपर्वहरु यर्तुङ, धज्याङ, तिर हान्ने, घोडा दौड, पतेन निकै महत्वपुर्ण मानिन्छन् ।
अर्को नेपालकै महत्वपुर्ण अन्नपुर्ण पदमार्ग पनि यसै जिल्ला भएर जाने भएकाले पनि यस क्षेत्र पर्यटकको लागि अत्यन्तै महत्वपुर्ण रहेको छ । लमजुङको वेसिसहर, खुदि, वाहुनडाँडा हुदै मनाङको ताल धारापानी, तिमाङ लगायत मनाङको सदरमुकाम चामे दुइ दिनको पैदल यात्रा पछी सजिलै पुग्न सकिन्छ । यसरी चामे हुदै मनाङ जिल्लाको सवैभन्दा महत्वपुर्ण स्थान मनाङ गाउँ एक दिनमा पुग्न सकिनेछ । यस गाउँवाट विश्वकै अग्लो स्थानमा रहेको तिलीचो ताल एक दिनमा पुग्न सकिन्छ भने विश्वकै अग्लो पास मध्येको एउटा महत्वपुर्ण पास थ्रोङ पास पनि यसै जिल्लामा पर्ने हुनाले पनि पर्यटनका लागी महत्वपुर्ण रहेको छ ।
यस् जिल्लामा निर्माण भएको एउटा मात्र विमान स्थल अहीले उपयोगमा आएको छैन भने लमजुङ वेसीसहरवाट मनाङसम्म करीव ९० किलोमिटर कच्ची सडक रहेको छ । हाल साना सवारी साधनहरु चल्दै आएको छ । अझै यहाँको सडक कालोपत्रे भएमा अनि विमान स्थल सुचारु भएमा पर्यटकको आकर्षण बढ्न सक्ने र यस क्षेत्रको व्यवसायमा बृद्धि हुन सक्छ ।
सरकारले यस क्षेत्रमा पुग्ने सहज यातायातको व्यवस्था, उपयुक्त बाटोको व्यवस्था गर्न सके उक्त क्षेत्रको आम्दानीले नेपालको आर्थिक स्तरमा बृद्धि गर्न सहयोग पुग्ने कुरा व्यावसायी तथा स्थानीयवासीहरुले आकलन गरेका छन् । नेपालमै रहेका यस्ता पर्यटकीय स्थलको विस्तार र प्रचारप्रसारका साथै बासोवास, उक्त क्षेत्र पुग्ने सवारी साधन लगायत विभिन्न आवश्यकताका वस्तुहरुको पनि सरकारले व्यवस्था गर्नुपर्ने देखिन्छ । पर्यटकहरुको आगमनसँगै देशको आयस्तरमा बृद्धि हुने र गरिवीको रेखामूनिबाट माथि उठ्न सक्ने भएकाले सरकारले यस्ता क्षेत्रहरुको विकासमा ध्यान दिनुपर्ने हुन्छ ।




















