चैत्र १, २०७३- मेलम्ची खानेपानीको अब ४ किमि मात्र सुरुङ खन्ने काम बाँकी छ । आयोजनाका अनुसार मुख्य सुरुङको २६ मध्ये २२ किमि सुरुङ खन्ने काम पूरा भइसकेको छ ।
सिन्धु–ग्यालथुङ खण्डको ८ किमि सुरुङमा कमजोर भौगर्भिक अवस्थाका कारण समस्या भएकाले खन्ने काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । ‘खन्ने काम दैनिक ३/४ मिटर मात्र भइरहेको छ,’ आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने, ‘अन्य विकल्प अपनाएर सुरुङ चाँडो खन्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेका छौं ।’
सरकारले असोजमा उपत्यकामा मेलम्चीको पानी ल्याउने प्रतिबद्धता जनाइसकेको हुँदा साउनभित्र सुरुङ खन्ने काम पूरा गरिसक्नुपर्ने उनले बताए । ‘ठेकेदारलाई दैनिक २५/३० मिटर सुरुङ खन्न निर्देशन दिएका छौं,’ उनले भने, ‘अब धेरै बाँकी छैन ।’ सुरुङ खन्ने काम यही गतिमा अघि बढे अर्को असोजमा पानी आइपुग्ने उनले दाबी गरे । उनका अनुसार, करिब ८९ प्रतिशत काम पूरा भएको छ ।
२०७४ असोजसम्म राजधानीका धारामा पनि वितरण हुने सम्भावना रहेको उनले बताए । नाकाबन्दी र भूकम्पले निर्माणमा ढिलाइ भएको भन्दै उनले सुन्दरीजल र सिन्धुपाल्चोकको सिन्धुबीचको सुरुङ ‘ब्रेक थ्रु’ भइसकेको उनले बताए । ‘सुन्दरीजल सिन्धु खण्ड सबभन्दा लामो सुरुङ हो, यो सम्पन्न भइसकेको छ,’ उनले भने, ‘ग्यालथुम–अम्बाथान खण्डमा दैनिक २०/२५ मिटर सुरुङ खन्ने काम भइरहेको छ, हामी जसरी पनि असोजभित्र उपत्यकामा पानी पुर्याउँछौं भन्ने लक्ष्यसहित अघि बढेका छौं ।’
मेलम्ची खानेपानीअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले पाइप बिछयाउने काम तीव्र गतिमा भइरहेको बताए । ‘रातदिन गरेर काम गरिराखेका छौं,’ उनले भने, ‘असोजभित्र सम्पूर्ण पाइप तथा पानीपोखरी निर्माण गरिसक्छौं ।’ रिङरोडभित्रको अधिकांश स्थानमा शाखा पाइप लाइन जडानको काम सकिएको उनले बताए ।
ekantipur



