भारतीय टोलीद्वारा अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंकहरूसँग छलफल
, काठमाडौं
फाल्गुन १९, २०७३- भारु सटहीको तयारीबारे बुझ्न आएको भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को टोलीले राष्ट्र बैंक र वाणिज्य बैंकहरूसँग छलफल गरे पनि प्रक्रिया अझै टुंगिएको छैन ।
बुधबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केही वाणिज्य बैंकका प्रतिनिधि सहभागी बैंठकमा भारु सटहीको प्राविधिक पक्षबारे संयुक्त छलफल भएको हो । उक्त टोलीले मंगलबार पनि अर्थ मन्त्रालयका वित्त विभाग हेर्ने सहसचिव आनन्द ढकाल र राष्ट्र बैंकका उच्च पदाधिकारीहरूसँग छलफल गरेको थियो । तर, भारु सटहीका लागि अझै समय लाग्ने देखिएको छ । उक्त टोलीले बुझाएको प्रतिवेदनका आधारमा सटहीबारे निर्णय हुने, भुटान र नेपाललाई सँगै सटही सुविधा दिने भारतको तयारी रहेकाले प्रक्रिया टुंगिन समय लाग्ने जानकारहरूले जनाएका छन् ।
भारु सटहीको प्राविधिक पक्षबारे बुझ्न उक्त टोली नेपाल आएको सोही विषयमा बैंकहरूसँग पनि छलफल भएको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए । ‘यो प्राविधिक टोली हो । टोलीले बैंकहरूमा ग्राहकको पहिचान (केवाईसी), जोखिम न्यूनीकरण व्यवस्था, सम्पत्ति शुद्धीकरणमा भएको प्रगतिलगायत विषयमा जिज्ञासा राखेका थिए,’ उनले भने । छलफलमा भारु सटहीको विषयमा भएको नीतिगत व्यवस्था सम्बन्धमा राष्ट्र बैंकले उनीहरूलाई जानकारी गराएको र उनीहरूले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । ‘नोट सटहीको सम्बन्धमा भारत सकारात्मक छ,’ उनले भने । भारतले भुटान र नेपाललाई सँगै मुद्रा सटही सुविधा दिने तयारी गरेको उनले बताए ।
बुधबारको छलफलमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत बैंकका प्रतिनिधिहरू उपस्थित रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘टोलीले सटहीका लागि आएको भारुको स्रोत प्रमाणीकरण र विवरण गलत भएको अवस्थामा हुने कारबाही प्रक्रियाबारेमा चासो देखाएका थिए,’ स्रोतले भन्यो, ‘उनीहरूको मुख्य चासो यहाँ रहेको वैध र गैरकानुनी भारतीय मुद्रा कसरी छुट्टयाउँछन् भन्ने हो ।’
नोट सटहीका लागि भएको तयारी सम्बन्धमा भारत सकारात्मक रहेको अर्थ मन्त्रालयका सहसचिव ढकालले पनि बताए । ‘कहिले र कतिसम्म सटही सुविधा दिन्छ भन्ने यकिन भई सकेको छैन,’ उनले भने, ‘उनीहरूको प्रतिक्रिया सकारात्मक छ ।’ भारतले यसअघि गरेको प्रतिबद्धताअनुसार प्राविधिक टोली पठाएको र टोलीको प्रतिवेदनका आधारमा नोट सटहीबारे निर्णय हुने उनले जनाए ।
भारु सटही सम्बन्धमा कुरा गर्न यसअघि डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा एक टोली भारत गएको थियो । टोलीले त्यहाँको अर्थ मन्त्रालय र आरबीआईका उच्च तहका पदाधिकारीहरूसँग भेट गरेको थियो । भेटमा भारतीय पक्षले आफ्ना प्राविधिकहरूले नोट सटही प्रक्रियाबारे अध्ययन गर्ने र त्यसका आधारमा अन्तिम निर्णय गरिने आश्वासन दिएको थियो । सोहीअनुरूप भारतीय टोली नेपाल आएको हो । सोमबार नेपाल आएको टोली बिहीबार फर्किंदै छ । दुई सदस्यीय उक्त टोलीमा आरबीआईका मुद्रा व्यवस्थापन विभाग र बैंकिङ सुपरिवेक्षण विभागका महानिर्देशक रहेका थिए । भारत फर्केपछि टोलीले आफ्नो प्रतिवेदन बुझाउनेछ । त्यसका आधारमा नोट सटहीबारे निर्णय हुने बताइएको छ ।
राष्ट बैंकले बैंकिङ प्रक्रियामार्फत प्रतिव्यक्ति २५ हजारसम्म सटही सुविधा दिन माग गरेको छ । यसबारेमा भारतले भने मुख खोलेको छैन । भारत सरकारले ९ नोभेम्बर २०१६ (कात्तिक २४ गते) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यसबेलादेखि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन् । बैंक तथा वित्तीय संस्था र मनी चेन्जर कम्पनीहरूमा करिब ३ करोड ३२ लाख रुपैयाँ भारु पाँच सय र हजार दरका नोट रहेको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणसँग रहेको नोटको विवरण भने आउन सकेको छैन ।
ekantipur



