कञ्चन अधिकारी
नेपाली भू-भागबाट देखिएको मानसरोवर ताल । कार्तिक २०, २०७३- पारिका डाँडाहरू घरी देखिन्छन् घरी बिलाउँछन् । हामी (अमृत, सुदीप, भरतबन्धु, राजन र भुवन) ले त्यही डाँडाको बीचमा रहेको भन्ज्याङ न्यालुलाई पार गर्नु छ । नजिकै देखिए पनि त्यहाँ पुग्न हिँडेर ३ घण्टा गाडीमा १ घण्टा लाग्छ ।
हामीले हिँडेर करिब ५ हजार मिटरको उक्त भन्ज्याङ काट्न नसक्ने निक्र्योल गरेरै अघिल्लो साँझ चिनियाँ टिपर रिजर्भ गरेका थियौं । टिपरले १ याप्प ब्रेक लगायो । ‘लौ यहीसम्म भनेको छ साहुले । झर्नाेस्,’ धादिङका ड्राइभर शंकर तामाङले भने । ‘हैन अलि तलसम्म पुर्याउन मिल्दैन ?’हामीले सोध्यौं । ‘साहुले यहीँ भनेको छ । एकचोटि साहुसँग कुरा गर्नु न,’ म पनि धादिङकै भएकोले होला शंकर साहुले ‘हुन्छ’ भनेमा तलसम्म पुर्याउन सहमत भए । उनले विस्तारै टिपर गुडाए ।
यस्तो हिउँ परिरहेको छ कहाँ झर्ने, झरेर कहाँ जाने ? म मनमनै कुरा खेलाइरहेको छु । ढ्याक ढ्याक पछाडिबाट कसैले गाडी रोक्न आग्रह गरेजस्तो अवाज आयो ।
ड्राइभरले यस्सो मुन्टो तल पारेर ‘साइड मिरर’मा हेरे । साहुजी पो रहेछन्, विस्तारै गुडेको गाडीबाट तल झर्नै लागेका । फेरि झ्याप्प ब्रेक लगाए । ‘के गर्नु सर मैले भनेर हुँदैन । साहुले मान्दैन ।
नत्र म त अलि तलसम्म लगिदिन्थें नि । यस्तो हिउँ परेको छ,’ शंकरले भने । एकपटक हामीले गाडी साहुलाई अलि तलसम्म पुर्याउन आग्रह गर्यौं तर उनले सुने नसुनैझैं गरे । साहुले टसमस नगरेपछि हामी टिपरबाट नझरी सुखै भएन ।
सबैले आ–आफ्नो झोला बोक्यौं र गाडीबाट झर्यौं । चारैतिर हिउँ बर्सिरहेको छ । हामीसँग भएको न्याना कपडा लगाउन न ठाउ थियो न आँट र समय ।
कतै बसेर लुगा लगाऔं भने हिउँ उत्पात परिरहेको छ, कसरी लगाउने ? फेरि अरु साथी अगाडि बढिसके आफू मात्रै पछि परिएला । समय आधा दिन घर्की सक्यो । ढिलासुस्ती बास बस्ने ठाउँमा नपुगिएला भन्ने चिन्ता ।
हिउँ परेको बाटो उसै त चिप्लो हुन्छ । त्यसमाथि ओरालो । झर्न निकै गाह्रो छ । तैपनि हामी हिउँलाई कुल्चिँदै तल आर्लिँदै छौं । मेरो मन अत्तालिसकेको थियो । कहाँ पुगेपछि हिउँ पर्न रोकिने हो ठेगान छैन । सबैभन्दा अघि लागेका राजन दाइ एकैछिनमा अलप भए । उनलाई त हामीले यात्राभरि कहिल्यै भेट्टाउन सकनौं त्यसैले उनको नाम ‘नाउर’ राखिदियौं हामीले, कुदेको कुद्यै गर्ने भएर ।
त्यसपछि म छाता ओढेर फटाफाट तल झर्दै थिए । त्यसपछि सुदीप दाइ । उनको छाता थिएन । रेनकोट भए पनि अत्तालिएर लगाउनै बिर्सिएछन् । ज्याकेटकै भरमा झर्दै थिए । चार दिनको हिँडाइले थकित बनाए पनि हिउँ परेपछि खुट्टा मजैले चलेका थिए । यतिबेला लागेको थियो कि सबैभन्दा ठूलो त आफ्नै ज्यान रहेछ । हिउँसँगै चलेको बतासले छाता कहिले पछाडि धकेलिदिन्थ्यो कहिले अगाडि ।
छाता उडाइदिँदा नाकमा हिउँ पथ्र्यो । फाल्यो फेरि खुट्टामा पर्थ्यो, पन्जामा पर्थ्यो । कपडामा परेको हिउँ पग्लेर शरीरमा चिसो पस्न थाल्यो । दिन घर्किंदो छ । हिउँ पर्ने क्रम बढ्दो छ । ‘बस्ने ठाउँ पुग्न कम्तीमा ५ घण्टा लाग्छ,’ हाम्रा सहयोगी भुवन दाइ भन्दै छन् । अनि मेरो हंसले ठाउँ त नछाड्ने त कुरै भएन । मैले सैयौं चोटि घरपरिवार सम्झेँ, भगवान् सम्झेँ, पटक–पटक तीन वर्षअघि पढेको दोलखाको एउटा समाचार सम्झेँ– दोलखा बाबरे–८ का विष्णुप्रसाद खतिवडा आफ्नी श्रीमती, छोरा र छोरीलाई लिएर २०७० साल फागुन ४ गते कालिञ्चोक भगवती दर्शन गर्न जाँदा अत्याधिक हिमपात भयो । फर्कने क्रममा बाटो भुलेर दुई दिन जंगलमै अलपत्र परे । दुई दिनसम्म हिमपातबीच जंगलमा भौंतारिँदा चिसोले कठ्यांग्रिएर १३ वर्षीया छोरी नवीनाको बाटोमै मृत्यु भयो ।
मन आत्तियो, हामी पनि कतै हिमपातमा परेर हराउने त हैन ? अनुहार सोहोरिएर मलिनो थियो । यस्ता ट्रेकिङमा गइराख्ने अमृत दाइ हामीलाई सान्त्वना दिन्थे, ‘केही हुन्न आत्तिन पर्दैन ।’ करिब एक घण्टा जति ओरालो लागेपछि हिउँ पर्न कम भयो । अनि हामीले राहतको सुस्केरा हाल्यौं । मनमा लाग्यो, ‘अब त ज्यान गए पनि मरिन्न हिउँले खाएर !’ हुन त मैले यस अघिसम्म हिमपातमा खेल्न/रमाउन पाएको थिइनँ । तर मलाई हिमपात हुँदाको अनुभव भने लिन असाध्यै मन थियो । त्यसैले त जाडोको बेला पानी परेपछि कहिले दामन त कहिले दोलखाको खरिढुंगा वा ललितपुरको फुल्चोकी जाने धेरै योजना बनाइयो । तर कतै जाने साइत जुरेन । तर यसपटक हिमरेखामै पुगेर हिमपातको स्वाद लिन भने सकिएन । कारण एउटै थियो– विकट ठाउँ । कतै, केही गरी भवितव्य परिहाले हामीलाई उद्धार गर्ने मानिस र समय केही हुँदैन थियो । ६२ हजारमा टिपर रिजर्भ हामी हुम्लाको उत्तरी गाउँ लिमी घुमेर फर्कँदै छौं । लिमीको अन्तिम गाउँ जाङबाट भोलि सिमकोट पुग्दै छौं । ‘आज हामीले मध्याह्न १२ बजे अघि न्याला पास गर्यौं भने बीचबाटोमा बसेर भोलि सिमकोट पुगिन्छ नत्र गाह्रो छ,’ हाम्रा कमान्डर हुम्लाका रैथाने राजन भने । तर हामी त्यसै दिन कैलाश र मानसरोवर पनि हेर्न जाँदैथ्यौं ।
त्यसैले हामी बढो फूर्तिका साथ बिहान तीनै बजे उठेर कैलाश र मानसरोवर हेर्न जाने र त्यही दिन सिमकोटभन्दा अलि वर बस्ने योजना बुनेर हिँड्यौं । हामीलाई मानसरोवर लैजाने साधन थियो चीनबाट ल्याइएको– टिपर । जाङबाट हिँडेरै कैलाश हेर्न जान करिब २ दिन लाग्ने र बाटोमा खाने, बस्ने ठाउँ नभएकोले हामीले टिपर नै रोजेका थियौं ।
हामीले ६२ हजार ५ सयमा उक्त टिपर रिजर्भ गर्यौं । टिपरको भाडा सुनेरै एकछिन त अचम्ममा पर्यौं । ६२ हजार ५ सय ! सुरुमा तर गाडी साहुले त यतिमा पनि रिजर्भ मानेका थिएनन् । उनले ७० हजार मागेका रहेछन् । पछि अनेकौं बिन्तीभाउ गर्दा बल्ल त्यतिमा लैजान तयार भएका थिए । ‘यति धेरै रकम किन नि ?’ ‘तेल चीनबाट ल्याउनुपर्छ, यहाँ आइपुग्दा साढे तीन सय रुपैयाँ पर्छ, बाटो निकै अप्ठ्यारो छ ।
केही गरी बिग्रेमा बनाउने मिस्त्री नेपालगन्ज वा काठमाडौंबाट यहाँ आइपुग्दा महिना दिन लाग्छ । अनि बाटो पनि लामो छ,’ टिपर साहुले भने, ‘तपाईंहरू जाने भए जानुस् नत्र म सस्तोमा लान सक्दिनँ ।’ लिमी गाविसको जाङबाट हाम्रो अन्तिम दिनको यात्रा सुरु भयो । हामी हिल्सा नाका हुँदै मानसरोवर जाने तयारीका साथ काठमाडौंबाट गएका थियौं । तर हुम्लाका सीडीओले अस्थायी कागजात नबनाइदिएको कारण हामी रोकिएका थियौं । टिपर गुड्यो । अगाडि २ जना मात्रै बस्न मिल्ने भए पनि हामी पातला तीन जना बस्यौं ।
पछाडि अरु साथीहरू । राति नै उभो लागेको टिपर साँघुरो, उवड र खावड घुम्ती नै घुम्तीको बाटो हुँदै करिब साढे ६ बजे मात्रै नेपाल र चीनको सीमा लाप्च्या पुग्यो । हामी पुग्दा खासै मौसम नखुलेकोले कैलाश र मानसरोवर नदेखिने भो भनेर सबै खुऽया गरेका थिए । तर घाम छिप्पिँदै गएपछि ताल विस्तारै नीलो रंगमा परिणत हुँदै गयो (माथि तस्विरमा) र हामीले मानसरोवर छर्लङ्ग देख्यौं ।
नेपालबाट यति नजिक रहेछ कि सायद एरियल दूरी नाप्ने हो भने मात्रै २ किमि होला । त्यहाँका स्थानीयले भनेअनुसार पहिला पहिला नेपालीहरू भेडा चराउँदै त्यतै पुग्थे । तर आजकाल चीन सरकारले भेडा चराउन नदिएपछि नेपालीहरू जान पाउँदैनन् । र कोही जाँदैनन् पनि । अब हाम्रा अर्को आश थियो कैलाश पर्वत हेर्ने । गुगल र पोस्टरमा त हेरेकै थियौं । अझै आँखै अगाडि कैलाश हेर्न पाउने हुँदा मन बेचैन हुने नै थियो । तर बादल लागेकोले हामीले कैलाशलाई हेर्न भने पाएनौं । 


