फाइल तस्बिर
डा. आमोदवर्धन कौण्डिन्न्यायन
वैदिक सनातन वर्णा श्रम धर्मका विषयमा यथार्थ रूपमा ज्ञान गर्न वेद, वेदांग, वेदोपांग, स्मृति, पुराण इत्यादि शास्त्रको राम्ररी अध्ययन गर्न आवश्यक हुन्छ । किन्तु आजभोलि वेदादिशास्त्र पढेका मानिसको संख्या निकै कम छ। त्यसैले वैदिकधर्मका विषयमा समाजमा भ्रमात्मक कुराहरू धेरै नै फैँलिएका छन् ।
वैदिक सनातन वर्णा श्रम धर्मलाई आजभोलि हिन्दुधर्म पनि भन्छन् । व्यवस्थित कर्मकाण्डपद्धति र गहन दार्शनिक चिन्तनको समन्वय भएको तथा मानवीय जीवनपद्धतिलाई पूर्णरूपले निर्देशित गर्ने महान् धर्म विश्वमा वैदिक सनातन धर्म मात्र छ भन्दा अत्युक्ति हुँदैन।
यसै धर्मभित्र विश्वनीति, राष्ट्रनीति, समाजनीति, कुटुम्बनीति, अर्थनीति, शिक्षानीति इत्यादि सम्पूर्ण नीतिहरू अन्तर्भूत हुन्छन् । सनातन धर्मका मूल स्रोतका रूपमा रहेका ४ वेद, ६ वेदांग, ६ वेदोपांग, ५६ प्रमुख स्मृति, १८ महापुराण, रामायण, महाभारत इत्यादि असंख्य ग्रन्थहरूको विशाल वाङ्मय विश्वमै अद्वितीय र ज्ञानविज्ञानले भरिपूर्ण छ । यो धर्म अरू कुनै मत वा सम्प्रदायजस्तो एकांगी नभएर मानवजीवनका सम्पूर्ण पक्षलाई निर्देशित गर्ने गहन तत्व हो भन्ने बुझ्न आवश्यक छ । यसमा सनातनीहरूले विश्वका अगाडि सधैँ शिर ठाडो पारेर रहन र गौरवानुभूति गर्न सक्ने आधार पाइन्छ ।
यस धर्ममा विभिन्न प्रकारका व्यक्तिका निम्ति उनीहरूको तहअनुसार विविध प्रकारले धार्मिक–आध्यात्मिक उन्नति गर्ने मार्ग देखाइएको हुनाले यहाँ बौद्धिक चेतनाका दृष्टिले तल्लो तहदेखि उच्च तहसम्मका व्यक्तिका निम्ति उपयोगी विधिविधान, जीवनपद्धति र चिन्तनपद्धति निर्देशित गरिएका छन् ।
यस्तो वास्तविक तथ्य बुझ्न नपाएका कतिपय अल्पज्ञ व्यक्तिहरू वैदिकधर्मलाई हल्काफुल्का रूपले आलोचना गर्न पनि पछि पर्दैनन् । आजभोलिका कतिपय चर्चित लेखक–समालोचकहरूको गति पनि यस्तै देखिन्छ । त्यसैले उनीहरू आपूm पनि भ्रममा पर्दै अरूलाई पनि भ्रममा पार्ने गरेर सनातन धर्मका विषयमा जथाभाबी बोल्ने र लेख्ने गर्छन् । त्यस्ता भ्रमात्मक कुराकोे निवारण गरी जनतामा यथार्थ कुराको प्रचार गर्नु शास्त्रज्ञ विद्वान्हरूको कर्तव्य हो । आधुनिक लेखकले वैदिकधर्मका विषयमा उठाएका कतिपय ज्वलन्त प्रश्नको शास्त्रसम्मत र तर्कपूर्ण उत्तर स्वाद्ध्यायशालाले प्रकाशित गरेको ‘वैदिक हिन्दु धर्म–संस्कृति’ भन्ने ग्रन्थमा (२०६५) पनि पाइन्छ ।
वैदिक सनातन धर्मबाटै विभिन्न समयमा अनेक सम्प्रदाय पनि निस्किएका छन् । तथापि ती सम्प्रदायमा सनातन धर्ममा जस्तो सम्पूर्णता, व्यवस्थितता र वैज्ञानिकता भने देखिँदैन । यस लेखमा सनातन धर्ममा र आर्यसमाजी मतमा देखिएका केही प्रमुख भिन्नताका बारेमा चर्चा गरिँदै छ । यसबाट सनातनी र आर्यसमाजीका मूल्यमान्यताहरूमा ठूलो भेद रहेको कुरा पाठकहरूलाई स्पष्ट हुनेछ ।
सनातन धर्म कुनै सन्त–महात्माले प्रवर्तन गरेको नभई वेदले विधान गरेको अनादि र शाश्वत धर्म हो भने आर्यसमाजी मतचाहिँ विसं १८८१ मा जन्मेका दयानन्दले विसं १९३२ मा चलाएकोे मत हो ।
आर्यसमाजका प्रवर्तक दयानन्दले रचेको र आर्यसमाजीले आफ्नो मूल पुस्तकका रूपमा मान्ने गरेको ‘सत्यार्थप्रकाश’का अन्तमा रहेको ‘स्वमन्तव्यामन्तव्यप्रकाश’ भन्ने प्रकरणमा आर्यसमाजीका प्रमुख सिद्धान्तहरू ५१ सूत्रमा दिइएका छन् । ती सूत्रको अध्ययन गर्दा सनातन धर्मका मूल सिद्धान्तमा नै आर्यसमाजीले तीव्र मतभेद व्यक्त गरेको कुरा स्पष्ट हुन्छ ।
त्यहाँ दिइएको दोस्रो सूत्रमा चार वेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका जम्मा चार शाखाका मन्त्रभाग मात्र) ईश्वररचित हुनाले स्वतः प्रमाण र वेदका अरू शाखा ऋषिरचित हुनाले परतः प्रमाण हुन् भनिएको छ । यसबाट दक्षिणभारतका ब्राह्मणले परम्परागत रूपले पढ्दै आएका कृष्णयजुर्वेदका तैत्तिरीय शाखासमेतका अन्य सम्पूर्ण वेदशाखालाई परतः प्रमाण अर्थात् माथि उल्लिखित चार शाखाका मन्त्रभागका अनुकूल भएमात्र मान्य, नभए अमान्य भनेको स्पष्ट हुन्छ । यो कुरा मूल वैदिक परम्पराकोे र जैमिनिमुनिप्रणीत धर्ममीमांसासूत्रले तथा व्यासमुनिप्रणीत ब्रह्ममीमांसासूत्रले स्थापित गरेको सिद्धान्तको प्रतिकूल छ । त्यसैले तैत्तिरीयशाखादिका वेदलाई मूल वेद नमान्ने आर्यसमाजीको भनाइ अत्यन्तै आपत्तिजनक र अमान्य छ ।
त्यहाँको सोह्रौँ सूत्रमा वर्णा श्रम गुण–कर्मका योग्यताले मान्ने भनिएको छ । किन्तु आर्यसमाजीको त्यो मत जन्मले जाति मानिने कुरा देखाउने वेद, स्मृति, पुराण, रामायण, महाभारत इत्यादि शास्त्रीय ग्रन्थका सयौँ वचनको विरुद्ध छ । वेद, स्मृति, पुराण इत्यादिमा जन्मना जाति बताउने धेरै वचन आएका छन् । तीमध्ये केही वचन यस्ता छन्— ‘ब्राह्मणोस्य मुखमासीत्’ (ऋग्वेद १०।९०।१२ शुक्लयजुर्वेद ३१।११), ‘आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायताम्’ (शुक्लयजुर्वेद २२।२२), ‘लोकानां तु विवृद्ध्यर्थं मुखबाहूरुपादतः । ब्राह्मणं क्षत्रियं वैश्यं शूद्रं च निरवर्तयत्’ (मनुस्मृति १।३१), ‘जन्मना ब्राह्मणो गुरुः’ (भागवत १०।८।६), ‘सर्वेषां जन्मना जातिर्नान्यथा कर्मकोटिभिः । पश्वादीनां यथा जातिर्जन्मनैव न चान्यथा’ (स्कन्दपुराण सूतसंहिता १।१२।५१), ‘तपः श्रुतं च योनिश् चेत्येतद् ब्राह्मणकारणम् । तपः श्रुताभ्यां यो हीनो जातिब्राह्मण एव सः’ (पाणिनीय–व्याकरणभाष्य २।२।६, ५।१।१५५) इत्यादि । त्यसैले सनातनीहरू जन्मले नै जाति मान्दछन् । कर्मले जाति मान्ने आर्यसमाजीको सिद्धान्त शास्त्रीय परम्पराको र प्राकृतिक वस्तुस्थितिको पनि विरुद्ध हुनाले तथा अव्यवस्थाकारक समेत देखिएकाले अस्वीकार्य भएको हो ।
त्यहाँको सत्ताइसौँ सूत्रमा शवदाह गरेपछि मृतकका लागि अरू केही पनि गर्नुपर्दैन भन्ने बताइएको छ । यो कुरा शुक्लयजुर्वेद–संहितामा आएका एकोद्दिष्ट श्राद्धसम्बन्धी मन्त्रहरूको (२।२९–३४), सपिण्डीकरणादि पार्वण श्राद्धसम्बन्धी मन्त्रको (१९।५८), सोर संस्कारको निर्देशक वेदतुल्य मूल शास्त्र पारस्करगृह्यसूत्रमा बताइएको प्रेतकार्यसम्बन्धी विषयको (३।१०) र अन्य ब्राह्मणग्रन्थ, स्मृति, पुराण, रामायण, महाभारत इत्यादि सनातनीका सम्पूर्ण धर्मग्रन्थहरूको विधानको पनि विरुद्ध रहेको छ । त्यसैले शव जलाएपछि गरिने अन्त्येष्टिक्रियासम्बन्धी अन्य कार्य र श्राद्ध गर्नुपर्दैन भन्ने आर्यसमाजीको यस मतलाई सनातनीहरू परलोक र पितृसम्बन्धी मूल वैदिक सिद्धान्तको अत्यन्त विरुद्ध हुनाले त्याज्य मान्दछन् ।
त्यहाँ एक्काइसौँ सूत्रमा पाषाण इत्यादिका जडमूर्तिलाई सर्वथा अपूजनीय भनिएको छ । सनातनीका धर्ममा पनि मूर्तिपूजा मुख्य रूपमा छैन तापनि कुनै अधिकारीका लागि मूर्तिपूजा समेत आवश्यक र उचित मानिन्छ । तसर्थ मूर्तिपूजालाई मान्दैनमान्ने आर्यसमाजीको यो सिद्धान्त पनि सनातन धर्मको अनुकूल देखिँदैन । पशुपतिनाथको पूजासमेत नमान्ने यो कुरा नेपालीलाई सर्वथा अस्वीकार्य छ ।
त्यहाँ चौबिसौँ सूत्रमा जल, स्थल इत्यादिलाई तीर्थ नमान्ने कुरा गरिएको छ । सनातन धर्ममा पुष्कर, कुरुक्षेत्र, प्रयाग इत्यादि तीर्थको र सिन्धु, सरस्वती, यमुना, गंगा, गण्डकी, कावेरी, गोदावरी, नर्मदा इत्यादि नदीको तथा सिन्धुसागरसंगम, गंगासागरसंगम, रामेश्वर, द्वारका, पुरी, बद्री–केदार, काशी, गया इत्यादि स्थलको पनि उच्चै स्थान छ । तसर्थ आर्यसमाजीको जल र स्थलविशेषलाई तीर्थ मान्दैनमान्ने कुरा सनातनीको शास्त्रीय परम्पराको अनुकूल देखिँदैन ।
त्यहाँको तेइसौँ सूत्रमा भागवतसमेतका अग्निपुराण, कूर्मपुराण, गरुडपुराण इत्यादि पुराणलाई पुराण नै नमान्ने कुरा छ । वैदिक परम्परामा त श्रुति, स्मृति र पुराणमध्ये पुराण श्रुति र स्मृतिको अनुकूल र अविरोधी भए मात्र धर्ममा प्रमाण मानिने हँुदा कान्छै प्रमाण मानिए पनि अग्निपुराणादि पुराणसमेत धर्ममा यथोचित रूपमा प्रमाण नै मानिन्छन् । तसर्थ पुराणलाई प्रमाण नै नमान्ने आर्यसमाजीको सिद्धान्त सनातनीका लागि मान्य हुँदैन ।
शतपथब्राह्मण इत्यादि ब्राह्मणग्रन्थलाई, कात्यायन श्रौतसूत्र इत्यादि श्रौतसूत्रग्रन्थलाई र पारस्करगृह्यसूत्र इत्यादि गृह्यसूत्रग्रन्थलाई पनि आर्यसमाजीहरू ठिक प्रकारले मान्यता दिँदैनन् । यो तथ्य दयानन्द सरस्वतीबाटै विसं १९४०मा परिस्कृत गरिएको र उनले बनाएको संस्कारविधिबाट स्पष्ट हुन्छ । गर्भाधानादि संस्कार आआफ्ना शाखाका गृह्यसूत्रअनुसारै गर्ने वैदिकधर्मका अनुयायीहरूको अनादि परम्परा भएको र त्यसका लागि आआफ्ना वेदशाखाका छुट्टाछुट्टै गृह्यसूत्र भएको हुनाले दयानन्द सरस्वतीले अनेक गृह्यसूत्रका विधिहरू छ््यासमिस पारेर मनगडन्ते कुरासमेत थपी बनाएको संस्कारविधि सनातनीका लागि अग्राह्य रूपको भएको छ ।
वेद वेदांग वेदोपांग स्मृति पुराण इत्यादि ग्रन्थका दयानन्दका भनाइसित नमिल्ने कुरा जति सबैलाई आर्यसमाजीले प्रक्षिप्त भनिदिने र त्यसबाट शब्दप्रमाणमा अव्यवस्था हुन जाने हुँदा आर्यसमाजीको त्यो कुरा पनि शब्दप्रमाणलाई नै धर्ममा मूल प्रमाण मान्ने सनातनीका लागि स्वीकार्य हुनै नसक्ने देखिन्छ ।
वैदिक पशुयाग र पौराणिक तथा तान्त्रिक बलिप्रथाको पनि आर्यसमाजी आलोचना गर्छन् । यो कुरा पनि सनातनीका लागि अमान्य छ ।
सनातनीका र आर्यसमाजीका सिद्धान्त र व्यवहारमा नमिल्ने यस्ता कुरा अरू पनि धेरै छन् । माथिको विवरणबाट आर्यसमाजीले मूल वैदिक सनातन धर्मपरम्परामा धेरै नै आलोचना र परिवर्तन गरेर अव्यवस्था ल्याउन खोजेको देखिन्छ । त्यसैले सनातनीहरूले आर्यसमाजी मतको कुनै पनि सिद्धान्तको अवलम्बन र अनुसरण गर्न नहुने मानेका हुन् भन्ने बुझिन्छ । धर्मका क्षेत्रमा काम गर्ने, लेख्ने र बोल्ने मानिस यस्ता विषयमा विवेचनशील हुनुपर्ने देखिन्छ ।
annapurnapost



