×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

‘भाषा बिगार्दा आमालाई लात्ताले हिर्काएजस्तो भएको छ’

  •  
  • बुधबार, भदौ २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाउजूसँग डराउँदै ‘भाषा बिगार्ने’ माथि प्रहार

    जोतारे धाइबा

     

    २२ भदौ, काठमाडौं । चावहिल सरस्वतीनगरस्थित निवासमा पुग्दा डा. तारानाथ शर्मा नेपाली भाषामा पछिल्लो समय आक्रमणमा परेका शब्द र अक्षरहरुको टिपोट गरिरहेका भेटिए ।

    पछिल्लो समय भाषामा तोडमोड गरिँदा एक भाषा मर्मज्ञको मनमा के खेलिरहेको होला भनेर सोध्दा उनले खिन्नता र झोंक मिसिएको भावमा भने, ‘म चुपचाप बसेको छुइनँ, सबै हेरिरहेको छु । अहिले भाषा बिगार्नेहरुले भयंकर बिगारे । यिनीहरुलाई बिगार्ने नै भन्छु म !’

    भाषा बिगार्न निर्णय गर्नेलाई उनी भाषाविद् मान्न तयार भएनन् । थपे, ‘भाषा नजान्ने मान्छेलाई पनि भाषाविद् भन्छन् कहीँ ? भाषा जान्ने मान्छेले त आफ्नो इतिहास पनि हेर्नुपर्छ । विदेशी दलाल भएर तिनीहरुको वर्णमालामा हाम्रो भाषालाई ढालेर भाषा बन्छ ?’

    एक समय नेपाली भाषा शुद्ध हुनुपर्छ भनेर लागेका झर्रोवादी आन्दोलनका एक अगुवा हुन् डा. शर्मा । त्यतिमात्र होइन, निबन्ध, कथा, समालोचनामा उत्तिकै दक्षतासाथ कलम चलाउने उनले कुनै समय नेपाली पाठ्यपुस्तकसमेत लेखेका थिए ।

    शर्मालाई सोधियो-भाषालाई यसरी बिगारेको देख्दा चित्त कत्तिको कुँढिएको छ ?

    ‘मेरी आमालाई कसैले लात्ताले हिर्कायो भने कस्तो लाग्छ ? त्यस्तै भएको छ,’ भाषालाई अचाक्ली माया गर्ने मन खोले उनले, जुन यो समय निकै आहत भएको रहेछ ।

    लामो हिज्जे परम्परामा रहेका विद्या, बुद्ध, भक्त जस्ता संयुक्त वर्ण अहिले खुट्टा काटेर लेखेको देख्दा उनको मन निकै पिरोलिएको छ । अनि कतिपय वर्णहरु (ञ, ण, श, ष, व) अनावश्यक भन्दै हटाइँदा र एउटै डिकोमा लेखिँदै आएका समास शब्द (विराटनगर, लक्ष्मीप्रसाद) लाई छुट्याएको पढ्दा सकसक लाग्दोरहेछ ।

    Tara-Nath-Sharma-5-768x460

    दार्जीलिङदेखि बनारससम्म

    भाषालाई आमासमान मान्ने शर्माको रुचि र चाख अहिलेको होइन, विद्यार्थीकालदेखि नै उस्तै छ ।

    इलाम बरबोटेबाट भारतको दार्जीलिङ पुगेका शर्माले नौ कक्षादेखि आईएसम्म त्यहीँ पढे । दार्जिलिङ बसाइका क्रममा उनको सरसंगत पारसमणि प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, शिवकुमार राई, रुपनारायण सिंह जस्ता भाषा-साहित्यसेवीहरुसँग भयो । त्यो संगतबाट उनले शुद्ध नेपाली सिके । नेपाली भाषा शुद्ध बनाउनुपर्छ भनेर लागे । ‘गाउँघरका मान्छेहरुले कस्तो बोल्छन्, म त्यही लेख्थेँ । अंग्रेजी र हिन्दीका अप्ठेरा शब्द लेख्दिनथेँ । आफैं खोजेर नेपालीपनमा जोड दिन्थेँ,’ उनले सुनाए ।

    दार्जिलिङबाट उनी ०१३ सालतिर भारतकै बनारस पुगे, बीए पढ्न । त्यहाँ धेरै नेपालीहरु पनि हुन्छन् र पढाइ राम्रो हुन्छ भनेपछि बनारस युनिभर्सिटीमा भर्ना भए । त्यहाँ उनको भेट बालकृष्ण पोखरेलसँग भयो । बिराटनगरका पोखरेल पनि त्यहीँ पढ्न आएका रहेछन् । नेपाली भाषाको शुद्धताबारे दुबैको रुची मिल्यो ।

    शर्मा सम्झिन्छन् – ‘बालकृष्ण पनि मजस्तै शुद्ध नेपालीका पक्षमा रहेछन् । तर, यसलाई शुद्ध नेपाली नभनी झर्रो नेपाली भनौं भन्ने कुरा गरे उनले । थापा, बस्नेत, कटुवाल इत्यादि झर्रा अर्थात् चोखा क्षेत्री भएजस्तै नेपालीलाई पनि झर्रो भनौं भन्ने उनको कुरा थियो । त्यो मलाई साह्रै मन पर्‍यो ।’

    त्यहीबेला कोषराज रेग्मी र उनका भाइ चूडामणि रेग्मी पैसा उठाएर पत्रिका निकाल्ने तयारीमा रहेछन् । तिनीहरु पनि बनारस युनिभर्सिटीमा अंग्रेजी पढ्थे । वल्लभमणि दाहाल र शर्माका दाजु पर्ने गणेशप्रसाद भण्डारी पनि त्यहीँ थिए । उनीहरु सबै मिलेर पत्रिका निकाल्न कम्मर कसे । पत्रिकाको नाम ‘नयाँ कदम’ राख्दा हिन्दीको गन्ध आउँछ भनेर ‘नौलो पाइलो’ राखे ।

    बीएपछि बालकृष्ण भाषा विज्ञानमा र तारानाथ अंग्रेजीमा एमए गर्न कोलकाता, पटना पुगे । उनीहरु गएपछि पनि कोषराज रेग्मीहरुले केही समय पत्रिका चलाए । शर्मा भन्छन् – ‘कोषराज बिराटनगर फर्केपछि जनवार्ता र चूडामणिले भद्रपुरमा जूही भन्ने पत्रिका निकालेर झर्रा शब्दहरु चलाइ नै रहे । बालकृष्ण र मैले काठमाडौं पुगेपछि झर्रो आन्दोलनलाई झन् अगाडि बढायौं ।’

    Tara-Nath-Sharma-7-768x460

    झर्रोवादले नेपाली भाषाको माउ भाषा संस्कृत भएकाले त्यसका वैयाकरणकार पाणिनिले सिकाएअनुसार चल्नुपर्छ भन्नेमा जोड दिएको थियो । जसको उद्देश्य थियो, भरिसक्य नेपालका सबै जातजातिले बुझ्ने र उच्चारण गर्न सजिलो हुने साझा भाषा बनाउने । पाणिनीको ‘सिद्धान्त कौमुदी’ असाध्यै वैज्ञानिक र पवित्र भएको उनले पटकपटक जोड दिइरहे ।

    अंग्रेजीमा भाषा विज्ञानमा विद्यावारिधि गरेका ८२ वर्षे शर्मा दोहोर्‍याइरहन्छन्, ‘संस्कृत हाम्रो हजुरआमा भाषा हो । नेपाली भाषा संस्कृतबाट आएको भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन । पाणिनिको व्याकरणले सिकाएको भन्दा अरुतिर जान खोज्यौं भने हामी लर्बरिन्छौं, बिग्रिन्छौं ।’

    तर, अहिले मूल मर्ममै प्रहार गर्ने गरी नेपाली भाषाको वर्णविन्यास भत्काइँदा उनी टुलुटुलु हेर्न बाध्य छन् । झोँक्किन्छन् – ‘अहिले भाषालाई जोगाउन केही गरौं भने हाम्रो अधीनमा केही छैन । हाम्रो अधीनमा भए पो हामी सोच्थ्यौं त ! हाम्रो अधीनमा भए त नेपालीकरण गर भन्छौं नि ! हाम्रो साझा भाषा नेपाली हो, नेपालीलाई सबैले बुझ्ने भाषा बनाऊ ।’

    अहिले भाषालाई चलाउनेहरु विद्वान् नभएको उनी ठोकुवा गर्छन् । ‘तिनीहरु त्यसै विद्वान् भएका छन् । अलि दिन नेपाली पढाए, अनि त ए हामी विद्वान् भयौं, भाषाविद् भयौं भन्नतिर लागे । त्यसरी हुँदैन नि ! भाषामा मनलाग्दी गर्नेहरू पनि कहीँ विद्वान् हुन्छन् ?,’ उनले झपार्ने लवजमा भने ।

    केही नजान्ने मूर्खहरुले शासन चलाउँदा देश बिग्रिएजस्तै भाषामा पनि बढ्ता जान्ने हुनेहरुले विकृति ल्याएको उनले औंल्याए । यति भनिरहँदा उनले के सम्झिए कुन्नि, जिभ्रो टोके । र, पल्लो कोठातिर चियाउँदै मसिनो स्वरमा भने – श्रीमतीले कसैलाई गाली नगर्नू भनेकी छन्, सबैलाई बराबरी गर्नू रे !

    भाउजूसँग डराउँदै ‘भाषाविद’ माथि प्रहार

    नेपाली भाषाजस्तै हिन्दी पनि संस्कृतले जन्माएको भाषा हो । तर, शर्मा नेपाली भाषालाई संस्कृतकी पवित्र छोरी मान्छन् । किनकि हिन्दी भाषामा उर्दू, अरबीलगायत अन्य मिसिएर त्यसको संस्कृतपना हटेको छ । नेपालीमा भने त्यस्तो धेरै अचाक्ली छैन । संस्कृतले सिकाएकै बाटोमा हिँडिरहेको छ ।

    तर, हिन्दी भाषाको प्रचार र प्रभाव बढेर नेपालमा पनि हिन्दीकै चलनचल्ती बढी देख्न थालेका छन् शर्माले । पत्रिका, रेडियो, टीभी जता पनि हिन्दी शब्द नचलाएको ठावैं देख्दैनन् । चिन्ता गर्छन्, ‘हिन्दीले गर्दा हाम्रो भाषा खाएको छ ।’ ठूलो देश भएकाले हिन्दीको प्रचार हुनु स्वाभाविक भए पनि हामीले आफ्नो भाषाको मौलिकता जोगाउन ध्यान दिनुपर्ने उनी सुझाउँछन् ।

    पछिल्लो समय भने वर्णहरु मिसिएर बनेको संयुक्ताक्षरलाई अंग्रेजी पाराले लेख्न थालेको देख्दा उनी बढ्तै झोंक्किएका छन् । क्र, कृ, क्व, क्ष, द्य, द्ध जस्ता संयुक्त अक्षरलाई हलन्त गरेर लेख्दा हामीले चलाउँदै आएको संस्कृतको नियम मिचिने उनको चिन्ता छ ।

    Tara-Nath-Sharma-2-768x460

    अंग्रेजीबाट प्रभावित भएर अहिले संयुक्त अक्षरलाई हलन्त दिएर जथाभावी टुक्र्याउन थालिएको उनलाई लाग्छ । भन्छन्, ‘अंग्रेजीमा जस्तो अक्षरहरु एक-एक गरेर जोड्दा पो सजिलो हुन्छ भन्न थालेका छन् । हामीले उनीहरुले जस्तो गरेर हुँदैन, संयुक्ताक्षर गर्नैपर्छ । ऐ, औ छोडेर अब हामीले अइ र अउ लेख्ने ? संयुक्ताक्षर सिक्न अप्ठेरो भो, त्यसैले हलन्त गर्नुपर्छ भन्ने हो ? अलिकता सिक्नुपर्छ त ! नसिकी त्यसै आउँछ ?’

    परिमार्जित नियम भन्दै भाषालाई जथाभावी चलाउँदा यसले विद्यार्थीलाई झन् बराल्ने र हाम्रो भाषालाई पनि थप बिगार्ने खतरा उनले देखेका छन् । यस्तो अवस्थामा भाषाको मौलिक परम्परा कायम राख्न झर्रोवाद झनै सान्दर्भिक भएको उनको ठहर छ । झर्रोवादलाई झन् अगाडि बढाएर नेपाली शुद्ध पार्नतिर जुट्नुपर्ने आवश्यक ठानेका छन् ।

    तपाईंहरुले मौलिक स्वरूप जोगाउनुपर्छ भनिरहँदा छँदाखाँदाको ञ, ण वर्ण नचाहिने भनेर मास्ने काम भइसक्यो नि !

    यो प्रश्नमा उनले उल्टै प्रतिप्रश्न गरे, ‘हामीले ‘पुराण’, ‘कृपण’ भन्नु पर्दैन ? संस्कृत शब्द लेख्नुपर्दैैन ? विवरणलाई विवरन लेख्ने ? गनित लेख्ने ? हावा कुरा नगरौं न । हाम्रो उच्चारण अनुसार हिज्जे छ जम्मै । सबै उच्चारणका अक्षरहरु राख्नुपर्छ । तिनीहरुलाई हटाएर सरल पार्नु भनेको भाषा बिगार्नु हो ।’

    संस्कृतको नभई आगन्तुक शब्द भएकाले पहिलेको शहीद अहिले सहिद लेख्दा हुने उनले सुझाए । तर, फूल र फुल नछुट्याई ह्रस्व लेख्ने नियम ल्याएको उनलाई कत्ति पनि चित्त बुझेको छैन । भने, ‘उसले फुल ल्यायो भन्दा के ल्यायो ? अण्डा कि पुष्प, कसरी बुझ्नु ? भेदचाहिँ नछुट्याउने अनि शुद्ध गर्ने भन्दै जे पायो त्यही लेख्ने ?’

    हिज्जेको परिमार्जित नियम पाठ्यक्रम विकास केन्द्रले विद्यालयको पाठ्यक्रममा लागू गरिसक्यो नि भनेर सुनाउँदा यसमा उनले खासै अचम्म मानेनन् ।

    ‘पाठ्यक्रम विकास केन्द्रमा राम्रो मान्छे कहाँ छन् र ! देशमा प्रधानमन्त्री त राम्रो छैन भने पाठ्यक्रममा कहाँ राम्रो हुन्छ ? त्यसको कुरै नगरौं । केही जानेका छैनन् तिनीहरुले । ती फटाहा हुन् ।’

    फेरि सम्झिए, श्रीमतीले कसैलाई नराम्रो नभन्नू भन्या थियो, मैले भनिहालेँ ।

    नयाँ नियममा पदवियोगमा पनि गल्ती देख्छन् उनी । पाणिनिले ‘पृथकार्था नाम एकार्थी भाव समास’ भने झैं पृथक्-पृथक् अर्थ दुई वा सोभन्दा बढी शब्द एक ठाउँ राखेपछि एउटा अर्थ जनाउँछन् भने समास हुन्छ र त्यो सँगै लेख्नुपर्छ भनेका छन् । त्यही नियम पछ्याउनुपर्ने उनी बताउँछन् ।

    यसमा उनले उदाहरण नै दिए, ‘एकजना मावली दाजु हुनुहुन्थ्यो देवीप्रसाद भन्ने । देवी प्रसाद खानुहुन्छ भन्दा के अर्थ आउँछ ? देवीचाहिँ प्रसाद खानुहुन्छ । अब देवीप्रसाद खानुहुन्छ भन्दा के भो ? अर्को अर्थ आएन ? त्यसैले एकै ठाउँ राख्नुपर्छ कि पर्दैन भन्ने त्यहीँबाट बुझिहालिन्छ नि !’

    नेपाली भाषा सरल पार्ने नाममा उच्चारण अनुसार हिज्जे लेख्ने नियम ल्याइएको छ । यसमा शर्मा पनि हिज्जे र उच्चारणबीच साह्रै राम्रो मेल हुनुपर्ने मान्छन् । तर, उच्चारण अनुसार हिज्जे कुनै भाषामा पनि नहुने उनी बताउँछन् । उनले भने, ‘भाषाका उच्चारण (कथ्य) र लेखन (लेख्य) दुई कुरामध्ये उच्चारणमा व्याकरण र लेखनमा हिज्जेको कुरा आउँछ । हिज्जे अनुसार उच्चारण हुनुपर्छ । उच्चारण अनुसार हिज्जे गरेर पनि साध्य हुन्छ ? अंग्रेजीलाई त्यस्तो गरे भने के हुन्छ ? कसैले सोच्छ त्यस्तो ?’

    शर्मालाई लाग्छ, अहिले विद्वान् भएर देखिनेहरू एक नम्बरका पैसावाज हुँदा भाषाको दुर्गति भएको हो । आफ्ना विद्वान् साथीहरु पहिला त क्या बुझ्ने भए पनि अहिले ठ्याम्मै नबुझ्ने भएकोमा उदेक लाग्छ उनलाई । शंका गर्छन्, कता कता लागे, कसैले पैसा दियो कि ? क्रिश्चियनहरु आएर हाम्रो भाषा र धर्म बिगार्नेमा सक्रिय भएको देख्दा चिन्ता अझ चुलिएको छ ।

    भाषाको कुरा गर्नेहरूबाट थरीथरी कुरा आउँदा मानक नेपाली भाषा कसरी बन्ला त ?

    अंग्रेजीको दासत्वबाट छुटाएर हिन्दीलाई पछ्याउन छाडेपछि अहिलेको नेपाली भाषा नै मानक हुने उनलाई लाग्छ । त्यसका लागि अहिले विद्वान् भएर देखा पर्नेहरूलाई पनि नेपालीलाई माया गर, राष्ट्रवादी होऊ भनेर बुझाउन जरुरी देख्छन् ।

    Tara-Nath-Sharma-6-768x460

    अब त थाकें, ५ लाख ७५ हजार लेखिएछ !

    झर्रो आन्दोलनमा लागेका सहयात्रीहरुले एक-एक गरी चोला छोड्दै जाँदा तारानाथ पछिल्लो समय आफूलाई एक्लो महसुस गरिरहेका छन् । कोषराज, वल्लभमणि, गणेशप्रसाद बितिसके । चूडामणिले जूही पत्रिका चलाइरहे पनि खासै प्रभावकारी हुन सकेको छैन । उता बिराटनगरमा बस्दै आएका बालकृष्ण उमेरको शिखरमा पुगेर लेख्न र बोल्न नसक्ने गरी गलेका छन् ।

    उनी पनि भन्छन्, अब त थाकेँ ! कसले के-के भाँडभैलो गर्छन्, उनीहरुकै पछि लागेर के हिँड्नु ! शर्मा हिसाब नै निकाल्छन्, अहिलेसम्म पाँच लाख ७५ हजार ६ सय ६२ वटा लेखोट लेखेछु । जम्मै नोटहरु भरिभरि छ ।

    तर, जति लेखे पनि मान्छेहरुले वास्ता नगरेको र नपढेको देख्दा खिन्न बन्छन् । ब्लडप्रेसर र सुगरले च्यापेको वयोवृद्ध उमेरमा पनि उनले भाषाको माया भने छाडेका छैनन् । हक्की स्वरमा भन्छन्, ‘हाम्रो साझा भाषा नेपाली हो । आफ्नो भाषा शुद्ध पारेर सबैले बुझ्ने बनाऔं ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.