गत बैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक थियो । त्यहाँ केन्द्रबिन्दु भई गएको भूकम्पले दशौं हजार मानिसको ज्यान लियो । भूकम्पपछिको पुर्नस्थापना अझै हुनसकेको छैन । तर त्यही बारपाकसँग जोडिएको एउटा ऐतिहासिक घटना हामी सबैलाई थाहा नहुन सक्छ । इतिहासकार दिनेशराज पन्तद्धारा लिखित ‘गोरखाको इतिहास’को पहिलो भागमा पृष्ठ नं. ६७ देखि १४३ सम्म बारपाक राज्य र गोर्खा राज्यबीच भएको लडाइँ स–विस्तार उल्लेख गरिएको पाइन्छ । यस्तो छ इतिहास ।
बारपाकका राजासँगको लडाइँ र सन्धि
पूर्ण शाहले बारपाकका राजासँग लडाइँ गरेको बयान वंशावलीहरुमा छ । त्यस बयानमा पूर्णशाहले बारपाकसँग लडाइँ खोल्दा बारपाक जितिएन, उल्टो बारपाकीले आफू कहाँबाट जाने नून पाखी बन्द गरिदिएकाले नूनको ठूलो अनिकाल प¥यो भनी लेखिएको छ ।
नून बन्द हुँदा हाहाकार परेको गोरखाले यस दुःखबाट छुटकारा पाएको कुरामा पनि वंशावलीले रमाइलो बयानदिएको छ –लम्जुङले तनहुँलाई पनि बारबार दुःख दिँदै रहेको हुनाले गोरखासँग सम्बन्ध बाँधे त हाम्रो यो दुःख हट्ला भन्ने विचार गरी गोरखासँग दोस्ती बाँध्न तनहुँका राजाले सौगातको रुपमा हात्ती पठाए । पूर्ण शाहले बारपाक अहिले जित्न नसकिएन भन्ने विचार गरी तिमी र हामी फूट्यौं भने अरुले पनि हामीलाई हेप्नेछन्, तिमी र हामी मिल्यौं भनी पठाउदाँ बारपाकीको चित्त बुझ्यो र सन्धि पनि भयो । सन्धि भएपछि पूर्ण शाहले हामीलाई तनहुँबाट हात्ती सौगात आयो, यो पहाडमा नहुने चीज हो भनी चिठी पठाउँदा बारपाकका राजा र उनका भाइ आएर गोरखाका ८÷१० दिन बस्दा हात्तीको बानी बेहोरा र यसले खाने कुराको खोजी नीति गरियो । हात्तीले नून खान्छ भन्ने थाहा पाए पछि बर्सेनी २१ मुरी नून पठाउने कबूल बारपाकका राजाले गरे र नूनपाखी फेरि आउन थाल्यो ।
तनहुँ पनि गोरखा जस्तै पहाडी राज्य भएता पनि यसको इलाकामा भित्री मधेसमा चितौन र तराईमा रामनगर पर्ने हुनाले तनहुँ राज्यमा हात्ती हुन्थ्यो भन्ने स्पष्ट छ ।
तनहुँका राजाले पूर्ण शाहलाई हात्ती सौगात पठाएको यस प्रसंगमा वि.सं. १८२२ मा तनहुँमा त्रिविक्रम सेन र गोरखामा पृथ्वीनारायण शाह राजा हुँदा तनहुँबाट गोरखामा हात्ती सौगात पठाउने विषयलाई लिएर भएको चिठी पत्र स्मरणीय छ ।
पूर्ण शाहले बारपाक जितेको बयान परराष्ट्रमन्त्रालयको १९० संख्याको खाममा रहेको वंशावलीको टुक्रोमा छ । सो टुक्रोको आधारमा तलको बयान दिइएको छ–
बारपाकीसँग बालुवाव्याँसीमा दुबै पक्ष हतियार नलिई जम्मा हुने र सन्धि गर्ने प्रस्ताव गरियो । यो कुरा बारपाकीहरुबाट पनि मञ्जूर भयो । बालुवाव्याँसीमा गोरखालीहरुले अघिबाटै हातहतियार लुकाएका थिए । तोकिएको दिनमा दुबै पक्षबालुवाव्याँसीमा जम्मा भए । गोरखालीतर्फबाट पूर्ण शाह र बारपाकीतर्फबाट उनीहरुका राजापनि त्यहाँ थिए । गोरखालीहरुले बारपाकचाहीँ तिमीहरु नै राख, अरु मुलुक हामीलाई छोडि देओ, त्यसो भएमात्र हाम्रो मित्रता स्थिर रहन सक्छ भनी प्रस्ताव राखे । यसको जवाफमा हाम्रो मुलुक हामी छोड्न सक्दैनौं भनी बारपाकीहरु दृढ रहे । यसरी कुरा नमिलेकाले बालुवामा लुकाएको हतियार झिकी गोरखालीहरु जाइलागे । हतियार नल्याएका बारपाकीको केही लागेन र आखिर बारपाकका राजा समातिए र मारिए ।
परराष्ट्रमन्त्रालयको २ संख्याको पोकोमा रहेको १४० संख्याको वंशावलीको टुक्रोमापनि पूर्ण शाहले बारपाक कब्जा गरे भनी लेखिएको छ ।
रामशाहलाई मार्ने बारपाकीहरुको जाल र बारपाकको पुनर्विजय
लडाइँमा हार भएपछि लम्जुङेहरुले बारपाकीलाई गोरखालीको विरोधमा उचाले । लम्जुङेहरुको सल्लाहमा परेर बारपाकीहरुले राम शाहलाई मार्ने विचार गरे । त्यसको लागि गोरखालीको छिद्र बुझ्न केही बारपाकीहरु आफ्ना राजाद्धारा निकालिएको जस्तो गरी राम शाहकहाँ आएर बसे । राम शाह र उनका भारदारहरुले उनीहरुलाई शंकाको दृष्टिले हेरेरको जस्तो लागेकोले उनीहरु त्यहाँबाट भागे।
यसपछि राम शाहलाई शिकारमा गएको बेलामा सिद्ध्याउने बारपाकीहरुको सल्लाह भयो । यसको लागि केही बारपाकीहरु भेष बदलेर गोरखादरबारको नजिक आएर बसे र केहीचाँही शिकारको निउँले गोरखानजिकैको जंगलमा पसे । राम शाह शिकार खेल्न बालुवा व्याँसीमा भएको मौका पारी बारपाकीहरुले राम शाहमाथि हमला गरे । तर बाहिरबाट आएको रजतूपसँग शस्त्रविद्या सिकेर हतियार चलाउन सिपालु भएका राम शाह र उनका साथमा भएका गोरखालीहरुको अगाडि बारपाकीहरुहरुको केही लागेन र उनीहरुमध्ये केही मारिए । समातिएका बारपाकीहरुलाई केरकार गर्दा लम्जुङेको जालले यसो भएको भन्ने बुझेपछि राम शाहले दप्काई पुरानो मित्रता कायम राख्ने शर्तमा छाडिदिए ।
बारपाकीहरुलाई समातेर शत्रुवत् व्यवहार नगरी छोडिदिएकोले बारपाकीहरु राम शाहसँग ज्यादै प्रभावित भए । यसपछि बारपाकबाट सन्धि गर्ने प्रस्तावसहित चिठी गोरखामा आयो । यसको जवाफमा दुबैतर्फका मानिस हातहतियार नलिई बालुवाव्याँसीमा जम्मा हुने र त्यहीँ बसी सन्धि गर्ने वेहोराको चिठी गोरखाबाट पठाइयो । यो कुरा बारपाकीहले मन्जुर गरे । दुबैपट्टीका प्रमुख शासक नै आएर मितेरी लाउने ठहर भएकोले गोरखामा राम शाहको जस्तो अनुहार भएको मानिस तयार पारियो । गोरखालीहरुले सन्धि गर्ने समयमा नै बारपाकीहरुलाई खतम पार्ने विचार गरेकाले अघिबाटै बालुवामुनि हतियार लकाए ।
तोकिएको दिनमा बारपाकी र गोरखाली दुबै बालुवाव्याँसीमा जम्मा भए । कुनै पनि शंका नगरि हातहतियार नलिई आएका बारपाकीहरुमाथि गोरखालीहरु अकस्मात् जाइलागेकाले बारपाकका राजाको त्यहीँ खतम भयो र उनका भाइहरु भागे । त्यसपछि बाँकी रहेका बारपाकका प्रमुखसँग कुरा मिलाई बारपाक र स्यार्तान अम्बल गरियो ।
बंशावलीहरुमा यस विषयको बयान लामो गरी दिइएको छ । पूर्ण शाहको पालामा बारपाक जितिएको कुरा माथि परिसकेको छ । फेरि यहाँ राम शाहले बारपाक जितेको कुरा आएको छ । त्यस ताका स्थानीय शासकहरु केन्द्र अलि कमजोर भएको मौका पाइ स्वतन्त्र भइहाल्ने र केन्द्र दरिलो भएपछि तहमा आउने कुरा माथि परिसकेको छ । पराष्ट्र मन्त्रालयको २ संख्याको पोकोमा रहेको १४० संख्याको वंशावलीको टुक्रोमा श्री ५ महाराज परंदर शाहबाट र्बापाकीसँग लगाञी गर्नुभयो बार्पाक् लिनुभयो. श्री ५ महाराज राम शाहबाट बार्पाक उकासनुभयो भनी लेखिएबाट यो कुरा अझ बढी प्रष्ट हुन्छ ।
बारपाकको पुनर्विजय
१७४३ पौष १६ गते भन्दा अघि रुद्र शाह परलोक भएका पछि उनका छोरा पृथ्वीपति शाह राज भए । बारपाकीहरु ठडिए भन्ने सुनेर पृथ्वीपति शाह गोरखाबाट नजिकै उत्तरपश्चिममा दरौंदीको किनारमा रहेको निमेलको बालुवा व्याँसीमा थर्पु हाली बसे र आफ्नो फौजलाई बारपाक हान्न पठाए ।
अम्बर पाँडे र शिवा रानाको मातहतमा आएको गोरखाली फौजलाई देख्ने वित्तिकै डराएर बारपाकीहरुले सिर्तो बुझाए । त्यसपछि सिर्तो लिएका बारपाकीसहित अम्बर पाँडे र शिवा राना गोरखा फर्किए । यसरी बारपाक फेरि कायम गरियो ।
यस विषयलाई लिएर गोरखा राजवंशावलीमा लामो बयान गरिएको छ ।
छत्र शाहले बारपाकको इलाका सिम्जुङ कब्जा गरेपछि बारपाकका अरु इलाका सजिलैसँग लिउँला भनी बिचार गरिरहेकामा चाँडै नै उनी परलोक भएकाले बारपाकीहरु गोरखालाई मान्न आएनन् र राम शाहले ५ पटकसम्म बारपाकमा हमला गर्दा पनि बारपाक जित्न नसकिएकोले गंगाराम रानाको बन्दोवस्तमा बारपाकीहरुलाई सन्धि गर्ने कुरा गरी बोलाई छल गरी कब्जामा ल्याइयो भन्ने बयान परराष्ट्रमन्त्रालयको १७ संख्याको पोकोमा रहेको वंशावलीको टुक्रोमा गरिएको छ ।
khullamanch



