भाद्र ११, २०७३- पोखराबाट चितवनको कार्यक्रममा सहभागी हुन आउने क्रममा २०५० साल जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार मित्सुबिसी गाडी नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कविलास गाविसको दासढुंगाबाट त्रिशूली नदीमा खस्यो । उक्त गाडीका चालक अमर लामा बाँचे । तर भण्डारी र आश्रितको मृत्यु भयो । घटनाको पर्सिपल्ट भण्डारीको शव चितवनकै गाँजीपुरमा फेला पर्यो । आश्रितको भने भोलिपल्ट गाडीभित्र शव फेला पर्यो ।
उक्त दुर्घटनापछि यस खण्डको बारेमा नसुनेकाले पनि जानकारी पाए । मुलुकका विभिन्न भागबाट राजधानी ओहोरदोहोर गर्नेलाई यस खण्डको जोखिमबारे थाहा छ । त्रिशुलीको तिरैतिर सडक खनिएको छ । नारायणगढ–मुग्लिन खण्डको दुरी ३६ किलोमिटर छ । यस खण्डमा प्राय दुर्घटना भइरहन्छन । कहिले बस त, कहिले माल बाहक गाडी त्रिशुलीमा खस्छन । ती मध्ये धेरै पानीमै बिलाउछन् ।
तर ठूला दुर्घटना हुने क्रम रोकिएका छैनन । यही सडक खण्ड भएर सवारी साधन पूर्व पश्चिम जाने र आउने गर्छन । २०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा–नारायणगढ सडकको नाममा निर्माण गरिएको यो खण्डमा पछिल्लो समय ठूला दुर्घटना हुने क्रम रोकिएको छैन । अधिकांश दुर्घटना चालक निदाउने र तीव्र गतीका कारण हुने गरेको छ ।
यो खण्डमा बर्सेनि दुर्घटना बढ्ने गरेका छन् । २०७०/०७१ मा जिल्लामा १ सय २ दुर्घट्ना भए । जसमा गम्भीर घाइते ४ सय ४७ जना र ७८ जनाको मृत्यु भयो । २०७१/०७२ मा दुर्घटनाको संख्या बढ्यो । १ सय २६ दुर्घटनामा ८३ जनाको मृत्यु र २ सय ७३ गम्भीर घाइते भए । २०७२/७३ मा दुर्घटनाको संख्या अझ बढेर १ सय ५१ भए । जसमा ७५ को मृत्यु र २ सय ३५ गम्भिर घाइते भए ।
‘समग्र दुर्घटनाको करिब ४० प्रतिशत नारायणगढ–मुग्लिन खण्डमा भएको छ,’ जिल्ला प्रहरी एसपी बसन्त कुँवरले भने, ‘यद्यपि आजकाल अलिक कम भएको छ ।’ सन् २०१४/१५ को तथ्यांकअनुसार यो सडकमा दैनिक ७ हजार ३ सय ३७ सवारी साधन गुड्छन् । अधिकांश दुर्घटना तीव्र गतिका कारण हुन्छन् । त्यस्तै पूर्व पश्चिम सबैतिरका गाडी यही सडक खण्डबाट आवतजावत गर्ने गरेकाले चालक निदाएर पनि घटना हुने गरेको पाइएको छ ।
‘सडकले भन्दा पनि ओभरटेक गर्न खोज्दा बढी दुर्घटना हुने गरेको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी बसन्त कुँवरले भने, ‘गाडी चलाइरहेको समयमा चालक निदाइदिनाले पनि ठूला दुर्घटना हुने गरेका छन् ।’ यो सडक खण्डमा दुर्घटना हुँदा प्राय गाडी त्रिशूलीमा खस्ने र पुलमा ठोक्किएर क्षति बढी हुने गरेको छ ।
‘जहाँ घुम्ती आउँछ, त्यहीं तीव्र गतिमा गाडी कुदाइन्छ,’ उनले भने, ‘त्यस्ता ठाउँमा गति सीमित छ, दुर्घटना खतरा छ भन्दै लेखिएका सूचना बोर्ड समेत नहेरी कुदाउने गरिएकाले ठूलो मानविय क्षति हुने गरेको छ ।’ यसमा चालककै लापरबाहीले बढी दुर्घटना हुने गरेको छ । नारायणगढदेखि मुग्लिनसम्म ३६ किमि दूरी छ । सन् २०१५ अप्रिलबाट नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिको काम सुरु भएको छ ।
‘दुई चालक अनिवार्य’
यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौला नियम अनुसार लामो दूरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा राख्दै आएको दाबी गर्छन । ‘८०/९० प्रतिशत गाडीमा डबल चालक राखिएको छ,’ उनले भने,‘नराख्नेलाई हामीले अनुगमन गरेर अनिवार्य रुपमा राख्न जानकारी गराएका छौं ।’
उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनाको जोखिम बढी छ । यो ठाउंमा २ चालक अनिवार्य चाहिन्छ । ‘ठाउँ ठाउँमा राखिएको भनिएको रिफ्रेस सेन्टर सञ्चालनमा आएको छैन,’ उनले भने,‘ यसका लागि स्थानीय प्रशासनले ध्यान दिन जरुरी छ ।’ मादक पदार्थ सेवन गरेर राजमार्गमा सवारी चलाउनेमाथि कडाइ गर्न जरुरी रहेको उनी बताउँछन् । अधिकांश दक्ष तथा अनुभवी चालक देशको परिस्थितिले विदेश पलायन भए । अहिले पढेलेखेका चालकले ३ वर्षदेखि सवारी अनुमति नपाउँदा समस्या थपिएको उनी गुनासो गर्छन् ।
राम्रो चालक उत्पादन हुन सकेको छैन । ‘लामो दूरीका गाडीमा डबल चालक राखिएको छ, कतिपय गाडीमा चालक अभाव हुँदा समस्या छ,’ उनले भने, ‘चालक पलायन हुनु पनि यसको कारण हो, अबदेखि चालक नराखिएका गाडीमा अनिवार्य रुपमा राख्न कडाइ गर्ने छौं ।’
उनका अनुसार ग्रामीण क्षेत्रमा जथाभावी खनिएका सडकले बढी दुर्घटना हुने गरेको छ । ‘गाडी चल्न नसक्ने ठाउँमा प्रशासन, स्थानीय अगुवाहरूले गाडी चलाउन मिल्दैन, बाटो राम्रो छैन भने बन्द गराउनुुपर्यो,’ उनले भने, ‘खालि चालकमाथि मात्र दोष थुपारेर हुदैन, दुर्घटना कम गराउन सबैको सहयोग आवश्यक छ ।’
झन्झन् बढ्दो
आव दुर्घटना मृत्यु घाइते
०७०/७१ १०२ ७८ ४४७
०७१/७२ १०६ ८३ २०७
०७२/७३ १५१ ७५ २३५
सडकै जोखिमयुक्त: डोलराज पाठक, चालक
दुर्घटना किन बढ्यो ?
मैले २६ वर्ष गाडी चलाएँ । तर मैले चलाएको गाडी कहिल्यै दुर्घटनामा परेन । बरु अरूको गाडी चढदा दुर्घटनामा परें । अहिले सवारी चाप बढ्यो । तर सडकको स्तरोन्नति हुन सकेन । पहिला जस्ता थिए सडक, अहिले पनि त्यस्तै छन् । त्यही कारण दुर्घटना बढेजस्तो लाग्छ ।
दुर्घटना हुनुमा चालकको दोष बढी हुन्छ, हो ?
यो झूटो हो । चालकका पनि बालबच्चा, घरपरिवार हुन्छन् । जानी–जानी मर्ने रहर हुँदैन । ऊ पनि मान्छे हो । गाडीको संख्या बढाउनेले सडकको स्तरोन्नतिको काम नगर्ने अनि चालकको कारण दुर्घटना बढ्यो भनेर उम्किन खोजेर हुन्छ ?
कसरी हुन्छ दुर्घटना ?
धेरैजस्तो दुर्घटना सडकमा भएका खाल्डो र ढुंगा जोगाउन खोज्दा हुने गरेको पाइन्छ । त्यस्तै पहिरो जाँदा थोरै बाटो बनाएर गाडीलाई खुला गर्दा सडकमा चक्का अडिन मुस्किल पर्छ, जसले गर्दा नदी छेउका सडकमा दुर्घटना बढी हुन्छ । त्यस्तै ठाउँ–ठाउँमा जनचेतनामूलक सूचना बोर्ड नराख्ने र मोड बढी हुँदा दुर्घटना बढी हुन्छ । सवारी साधनको मर्मतसम्भार नगर्दा र पुरानै साधन चलाउँदा पनि दुर्घटनाको जोखिम बढी हुने गरेको छ ।
दुर्घटना कसरी कम गर्न सकिन्छ ?
सडकको स्तरोन्नति गर्नुपर्छ । चालकलाई सवारी चलाउनेबारे शिक्षा दिनुपर्छ । जथाभावी लाइन्सेस बाँड्नु हुन्न । योग्यलाई मात्र लाइसेन्स दिनुपर्छ ।
तपाईं गाडी कसरी चलाउनुहुन्थ्यो ?
हाम्रो पालामा गाडी कम थिए । सडक सानो भए पनि सवारी चाप कम हुँदा ओभरटेक खासै हुँदैनथ्यो । मैले पोखरा–काँकडभिट्टा, विराटनगर–काँकडभिट्टा गाडी चलाएँ । त्यो बेला मुग्लिङबाट नारायणगढ ४० मिनेटमा पुगिन्थ्यो । अहिले २ घण्टा लाग्छ । बाटो साँघुरो छ । खाल्डाखुल्डी धेरै छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ । सबैभन्दा बढी जोखिम नारायणगढ–मुग्लिङ सडक खण्डमा छ ।
ekantipur




















