नारायण अधिकारी/उज्यालो ।
काठमाडौं, साउन २१ – ‘मैले हासिल गरेको ज्ञानलाई प्रयोग गरेर महिला बालबालिका तथा मानव बेचविखनको क्षेत्रमा अनुसन्धान गर्ने रहर अझै छ । ठूलो अन्तर्राष्ट्रिय गिरोहहरुलाई पक्रनु छ । मैले देखेको छु, सुनेको छु, यस क्षेत्रमा अझै ठूलो गिरोह छ । त्यसको पर्दा च्यात्न एसपी किरण तयार छ ।’ किरण, जसले धर्तीमा उज्यालो छर्छ । त्यही किरण अर्थात मानव बेचविखन विरुद्धका नायक एसपी किरण बज्राचार्य । जसले धर्तीमा उज्यालो मात्र छरेनन् । मानव तस्करको जालोको पर्दा च्यातेर कयौं नेपाली चेलीको पुनर्जीवन पनि गराए । जसको ख्याती यतिमा मात्र सीमित रहेन । विश्वभरका १ सय ८० मलुकका प्रतिस्पर्धीलाई पछि पार्दै मानव बेचविखन विरुद्धको वर्ष हिरो भइन् किरण ।
नेपाल प्रहरीका एसपी तथा भक्तपुर प्रहरी प्रमुख किरण बज्राचार्यले हरेक वर्ष अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने मानव बेचविखन विरुद्धको वर्ष हिरो २०१६ बाट सम्मानित हुनुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा रहँदा उहाँले गरेको कामले विश्वभर चर्चा पायो र उहाँलाई यो अन्तर्राष्ट्रिय अवार्डको ढोकासम्म पु¥याएको थियो ।
एसपी किरण बज्राचार्यले सन् २०१३ देखि २०१५ सम्म केन्द्रीय अनुसन्धान व्युरोमा रहँदा गरेको कामबाट उहाँले यो सम्मानित अवार्ड पाउनुभएको हो । व्यूरोमा रहँदा पिलर नम्बर ३ को प्रमुख रहनुभएका बज्राचार्यले मानव तस्करको जालोको पर्दा च्यात्नु भएको थियो ।
यसरी पाइयो अवार्ड
केन्द्रीय अनुसन्धान व्यूरोमा रहँदा किरणले नयाँ ढंगले अप्रेशन थाल्नुभएको थियो । अहिलेसम्म मुम्बई र दिल्लीका कोठीमा मात्र नेपाली चेली बेचबिखन भएका तथ्य थिए । किरणको अनुसन्धानले त्यसलाई गलत सावित गर्यो ।
‘मानव बेचविखनको संख्या यति मात्र छैन भन्ने लाग्यो र नयाँ ढंगले अनुसन्धान सुरु गरेँ’ एसपी बज्राचार्यले भन्नुभयो ‘जसले गर्दा चीन, कोरिया दुवै, तान्जेनिया जस्ता देशमा हुने गरेको मानव तस्करको जालो च्यात्न सफल भएँ ।’
उहाँको अप्रेशनले कोरिया र चीनमा नेपाली महिला बेच्ने गरेको नयाँ तथ्य फेला पा¥यो । चिनियाँ र कोरियन नागरिकसँग नेपाली महिलाको बिबाह दर्ता बनाउने र तस्कर हुने गरेको सुइँको किरणले पाउनुभयो । म्यारिज व्यूरोले बिवाह दर्ता बनाउने र चीन तथा कोरिया पठाउने गरेको सुइँको पाउनुभएकी किरणले काठमाडौंको चुनदेवीमा रहेको छेरु म्यारिज ब्युरोबाट यो काम हुन गरेको सूचना पाउनुभयो ।
म्यारिज व्यूरोमा किरणको टोलीले छापा मार्दा चीन लैजान ठीक्क पारिएका ६ जना युवतीसहित म्यारिज ब्युरोकी सञ्चालिका छेरु तामाङ पक्राउ परिन् । नेपाली युवती तस्करी गर्ने गिरोहका एक सदस्य कोरियन नागरिक पनि म्यारिज व्यूरोबाटै पक्राउ परे । त्यसपछि चीनमा नेपाली युवती बिक्री हुने गरेको सरकारका कुनै पनि निकायले सुइँको नपाएको गम्भीर रहस्य खुलेको थियो ।
त्यही समूहले लगेर बिक्री गरेको एक युवतीलाई प्रहरी टोलीले उद्धार गर्यो । त्यहाँ अरु पाँचजना युवतीहरुको भने उद्धार हुन सकेन । कोरियन नागरिक र नेपाली महिलालाई अदालतले १५ वर्ष जेल सजाय तोकेको छ ।
प्रहरीको सेवाको २१ वर्षे लामो समय मानव बेचविखन विरुद्ध खर्चिनुभएका किरणले एकपछि अर्को सफलता हात पार्नुभयो । जसले उहाँलाई पुरस्कार मात्र दिएन अन्तर्राष्ट्रिय स्तरमा चिनायो । ‘मैले त मेरो ड्युटी गरेँ भनेर सामान्य रुपमा लिएको थिएँ । तर अमेरिकी विदेश मन्त्री जोन केरीको हातबाट पुरस्कार पाएँ, यसले मलाई थप हौसला मिलेको छ’ एसपी किरणले भन्नुभयो ।
एसपी किरणको अर्को चर्चित अप्रेशन हो तान्जेनिया र दुबई । नेपाली केटीलाई भारतको बाटो हुँदैं पु¥याइन्थ्यो खाडीमुलुक । स्वीपर र व्युटिसियनको भिषामा लाने र यौन शोषण गर्ने सुँइको पाउनुभएकी एसपी किरणले यो अपराधको पनि पर्दा च्यात्नुभयो । अहिले यो अपराधका ११ जना अपराधीहरु पुर्पक्षका लागि थुनामा छन् । मानव तस्कर विरुद्धको आफ्नो अठोट अझैपनि रहेको उहाँको भनाई छ ।
नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण
सानैदेखि फुटवल खेल्ने किरणले फुटबल स्किललाई पनि निर्खादै लानुभएको थियो । पहिलो पटक २०४१ सालमा वीरगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी किरण जर्सी नम्बर ११ मा मैदानमा उत्रनुभयो ।
त्यसपछि बुटवलमा भएको राष्ट्रिय प्रतयोगितामा लुम्बिनी अञ्चलबाट उहाँ मैदानमा उत्रनुभयो । त्यसबेला लुम्बिनीले बागमती अञ्चललाई हराउँदै स्वर्ण पदक जितेको थियो । त्यसबेला उहाँले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउनुभएको थियो ।
२०४३ सालमा महिला राष्ट्रिय फुटवल टिमका छनोट हुनुभएकी किरणले अन्तर्राष्ट्रिय खेल खेल खेल्न फिलिपिन्स, भारतलगायतका देशमा जानुभएको थियो । प्रहरी भएपछि पनि उहाँ एकपटक फुटबल खेल्न फिलिपिन्स जानुभएको थियो । फुटवल भन्दा पनि प्रहरी करिअरप्रति लगाव भएपछि उहाँले बिस्तारै फुटबल खेल्न छाड्नुभयो ।
फुटबल खेलाडी कसरी प्रहरी ?
पाल्पा तानसेनका किरणको घर जिल्ला प्रहरी कार्यालय नजिकै थियो । उहाँ बिहान बेलुका फुटबल खेल्न जाँदा प्रहरीहरु परेड खेलेको देख्नुहुन्थ्यो । ‘प्रहरीको ग्ल्यामर युनिफर्म र पिटी परेडले मलाई तान्यो’ उहाँले भन्नुभयो, ‘केही वर्ष अघिदेखि नै तयारी गरेको थिएँ । अठोट पूरा भयो ।’
२०५० सालमा प्रहरी निरीक्षकमा भर्ना खुलेपछि प्रमाणपत्र बोकेर काठमाडौं आउनु भएकी किरण २०५१ सालमा प्रहरी निरीक्षक हुनुभयो । त्यसबेला उहाँसहित ४ महिला प्रहरी निरीक्षक भएका थिए । उहाँ प्रहरी हँुदा न कोही उत्साहित थिए न कोही दुखी, उहाँलाई केवल मौन समर्थन रहेको थियो ।
५०/६० जना पुरुष प्रहरीमा महिलाले कसरी काम गरेँ ?
जागिर खाएपछिका सुरुका वर्षमा किरण महिला बालबालिका तथा सेवा निर्देशनालयमा रहनुभयो । निर्देशनालयमा रहँदाको एउटा क्षण सम्झँदै उहाँले भन्नुभयो, ‘एकजना पुरुष प्रहरी हबल्दार पनि थपिन आएका थिए । पुरुष हबल्दार एक दिन गुनासो गर्न आएका थिए । महिला नै महिला भएको ठाउँमा काम गर्न गाह्रो हुँदो रहेछ । अन्त सरुवा हुन प¥र्यो नभए जागिर छोड्छु म भनेर म भए ठाउँमा आए’ एसपी बज्राचार्यले भन्नुभयो, ‘मैले ५०/६० जना पुरुष प्रहरी भएका ठाउँमा दुई तीन जना महिलाले कसरी काम गरेका छन ? भनेपछि उहाँ फकर्नुभयो ।’
हक्की स्वाभाव र छोटो कपाल हुनुभएकी एसपी बज्राचार्यलाई सुरु सुरुमा देख्ने जोकोही पनि पुरुष भनेर झुक्क्निछन् । हुन पनि उहाँका केटी भन्दा पनि केटा साथी नै बढी छन् । सानैदेखि निडर र हक्की स्वाभावकी किरण प्रहरीको जागिरले आफ्नो स्वभावलाई झन हक्की बनाएको ठान्नुहुन्छ ।
ujyaaloonline




















