एजेन्सी । भारतको राजधानी नयाँदिल्ली पाकिस्तानको लाहोरलाई उछिन्दै शुक्रबार विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।
वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि २ करोड जनसङ्ख्या रहेको दिल्ली बाक्लो धुवाँ र तुवाँलोले ढाकिएको छ ।
प्रदूषणका कारण सहरका विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि न्यून स्तरमा पुगेको छ ।
स्विट्जरल्यान्डस्थित वायु गुणस्तर अनुगमन गर्ने संस्था आइक्यूएयर का अनुसार शुक्रबार दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३३४ पुगेको थियो ।
यसलाई स्वास्थ्यका लागि खतरनाक तह मानिन्छ । यो सूचकाङ्कका आधारमा दिल्ली विश्वका प्रमुख सहरमध्ये सबैभन्दा बढी प्रदूषित बनेको हो ।
तर, भारतको सरकारी केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले दिल्लीको वायु गुणस्तर सूचकाङ्क अझ उच्च अर्थात् ४०३ मापन गरेको छ । बोर्डले यसलाई ‘अति गम्भीर’ श्रेणीमा राखेको छ ।
स्विस संस्था र भारतीय सरकारी निकायले मापन गरेको प्रदूषणको स्तरमा भिन्नता देखिनुको कारण उनीहरूले प्रयोग गर्ने वायु गुणस्तर सूचकाङ्कको मापन पद्धति र वर्गीकरण प्रणाली फरक हुनु हो ।
सामान्यतया एक्यूआई ५० सम्मलाई राम्रो वायु गुणस्तर मानिन्छ । यस्तो अवस्थामा स्वास्थ्यमा जोखिम न्यून वा नगण्य हुन्छ । तर, दिल्लीको सूचकाङ्क यसभन्दा धेरै माथि पुगेपछि त्यहाँको वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिन्ता बढेको छ ।


