गाेरखा । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा आज २ खेल हुँदै छन् ।
आज मध्याह्न १२ः३० मा सुरु हुने खेलमा पोखरा एभेन्जर्सर विराटनगर किङ्स तथा अपराह्न ५ बजेदेखि सुरु हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन् ।
यी दुईवटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने तालिका छ । पहिलो खेल ‘प्लेअफ’ सम्भावना जीवित राख्न पोखरा र विराटनगर दुवै टोलीका लागि महत्वपूर्ण छ ।
छैटौँ स्थानमा रहेको विराटनगरले ५ खेल खेल्दा २ मा जित र ३ खेलमा हारको सामना गरेको छ । तालिकाको आठौँ स्थानमा रहेको पोखराले भने ५ खेलमा ४ मा हार र १ खेलमा मात्र जित दर्ता गरेको छ ।
दोस्रो खेलमा प्लेअफ सम्भावना कायमै राख्न कर्णाली याक्स जित्नैपर्ने दबाबमा रहेको छ । तालिकाको सातौँ स्थानमा रहेको उसले ५ खेलमा ३ मा पराजय र २ खेलमा मात्र जित हात पारेको छ ।
लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ । अहिले तालिकाको तेस्रो स्थानमा रहेको उसले ५ खेल खेल्दा ३ मा जित, १ खेलमा हार तथा १ खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।
एनपिएलको जारी संस्करणमा पनि ८ वटा टोलीको सहभागिता रहेको छ ।


