गाेरखा । सशस्त्र प्रहरी बल, नेपालले आज भाइटिकाको दिन काठमाडौँ र भक्तपुरमा सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक उवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल, नेपालले काठमाडौ र भक्तपुरमा सञ्चालन गर्ने निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा आउने छ ।
कहाँ चल्छ बस ?
काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
यस्तै प्रधान कार्यालय स्वयम्भुदेखी भक्तपुरसम्म चल्ने बसले स्वयम्भू , कलंकी , बानेश्वर , कोटेश्वर , पेप्सिकोला , सानो ठिमी , पुरानो ठिमी , सल्लाघारी , लोकन्थली हुँदै पुनः बानेश्वर , कलंकी , स्वयम्भू सम्म सेवा दिने सह प्रवक्ता थापाले बताए ।
दशैँको समयमा समेत सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।



