गाेरखा । आज बिहान भीमफेदी गाउँपालिकाको देउराली सडक खण्डअन्तर्गत चिसापानी गढी नजिक भिरबाट एउटा यात्रुबहाक माइक्राे दुर्घटना भएको छ । जसमा परी ११ जनाको घटनास्थलमै मृत्यु भएको छ अन्य ६ जना घाइते छन् ।
मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको भ्यान बिहीबार बिहान पौने ६ बजे सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
काठमाडौंबाट सर्लाहीका लागि हिँडेको उक्त सवारी बिहानै हिडेकाे थियो ।
दुर्घटनामा सर्लाहीको कबिलासी गाउँपालिका-८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डलको समेत मृत्यु भएको छ । अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोलकाे भएकाे पुष्टी भएकाे छ ।
मृत्यु हुनेहरुमा २६ वर्षीय विकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेको मकवानपुर प्रहरीले जानकारी दिए ।
घाइतेहरू मध्यका १ जनाका अनुसार दुर्घटनास्थलमा केहीबेर रोकिएको उक्त गाडी पुनः स्टार्ट गरेर अगाडि बढाउन खोज्दा अनियन्त्रित भई भीरबाट खसेको हाे ।
यात्रुहरू एउटै गाउँटोलका थिए र उनीहरु छठ पर्व मनाउन घर फर्किरहेका थिए ।


