गाेरखा । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो साँझ ५ः३२ बजेदेखि लाइन अवरुद्ध भएको हो ।
उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ ।
समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली हिजै साँझदेखी मर्मतमा जुटेका छन् । मर्मत पछी राति १२ः४५ बजे लाइन पुनः सञ्चालनमा आए पनि फेरि अर्थिङ प्रणालीमै समस्या देखिएपछि बिहीबार बिहान ६ः४७ बजे ट्रान्सफर्मर पुनः बन्द गरिदा तिनै जिल्लाका बासिन्दा प्रभावित भएकाे छ ।
वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको पनि सवस्टेशनले जानकारी दिएकाे छ ।
उता ट्रान्सफर्मर मर्मत गर्न सकिने अवस्था भए मर्मत गर्ने, अन्यथा ट्रान्सफर्मर नै परिवर्तन गर्ने तयारी गरिएको छ । हाल पोखरा ग्रिडको प्राविधिक टोली मार्किचोक सबस्टेसनमै रहेर मर्मत तथा व्यवस्थापनको कार्य गरिरहेको छ ।



