गोरखा । केही दिन अगाडी खसेकाे सुख्खा पहिरोले अबरुद्ध उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जोड्ने बेनीघाट–आरुघाट–लार्केञ्ज्याङ सडक खण्ड खुलाउन गाउँपालिकाले नेपाली सेनलाई आग्रह गरेको छ ।
उक्त सडकखण्ड अन्तर्गत पर्ने धार्चे गाउँपालिका-४ स्थित कालोभिर क्षेत्रमा चट्टानसहितको सुख्खा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हाे ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नेपाली सेना बेनीघाट–आरुघाट–लार्केञ्ज्याङ सडक निर्माण कार्यदललाई चट्टानसहित खसेको पहिरो हटाएर सडक सुचारु गराइदिन अनुरोध गरेकाे बताए ।
चुमनुब्री गाउँपालिका जोड्ने एकमात्र उक्त सडक अबरुद्ध हुँदा चुमनुब्री गाउँपालिकाभित्र दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ ।
पहिरोका कारण आर्थिक वर्ष २०८२-०८३ भित्र सम्पन्न गर्नुपर्ने विकास आयोजनाका लागि आवश्यक निर्माण सामग्री ढुवानीमा समेत अवरोध आएको गाउँपालिकाले जनाएको छ ।
सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवतजावतमा समेत कठिनाइ भएको उल्लेख गर्दै गाउँपालिकाले उक्त खण्डको पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।



