साँकेतिक तस्बिर
गाेरखा । प्रहरीले गएराती गुण्डागर्दीमा संलग्न भएकाे आराेपमा अपरेसन चलाएको छ । प्रहरीले काठमाडौँको विभिन्न ठाउँबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई पक्राउ गरेको छ । थप ४ जना जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
आरोपीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे छ । पक्राउ पर्नेमा धेरै ‘काभ्रेली समूह’मा आबद्ध गुन्डाहरू छन् ।
पक्राउ पर्नेमा काभ्रेली समूहका सञ्जि लामा, सिन्धुपाल्चोक घर भएका अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ लगायत छन् । सुरेश गुरुङ गुन्डा नाइके श्याम लामा समूहका सदस्य हुन् । सिन्धुपाल्चोक घर भएका श्याम लामा फरार छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले दिएका जानकारी अनुसार पक्राउ पर्नेमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ छन् । प्रवीण तामाङ श्याम लामा समूहमा आबद्ध रहेर बौद्ध क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
बिर्जु महर्जन कालंकी र बाफल क्षेत्रमा सक्रिय गुण्डा हुन् । सुजन कार्की कलंकी क्षेत्र र हुमागाईँ स्युचाटार क्षेत्रमा सक्रिय रहेको जिल्ला प्रहरी परिसरले जनाएकाे छ ।



