गोरखा । जेन–जी आन्दोलनमा ज्यान गुमाएका गोरखामा २ जनाको परिवारलाई नेपाल बिद्युत प्राधिकरणले रोजगारी दिने भएको छ ।
प्राधिकरणको जनसाधन विभागले चैत १५ गते सूचना जारी गर्दै शहिद परिवारलाई सम्पर्कमा आउन भनेको हो ।
रोजगारी पाउनेहरुमा बारपाक सुलिकोट गाउँपालिका–७ का शहीद बिमल वावु भट्टका दाजु अनिल भट्ट र गोरखा फुजेलका शहीद अर्जुन भट्टका दाजु अभिलाख भट्ट रहेका छन् ।
दुवै परिवारलाई प्राधिकरणले सूचना जारी गर्दै सम्पर्कमा आउन भनेको छ ।
नेपाल राजपत्र (खण्ड७५, अतिरिक्ताङ्क ३२, कार्तिक १७ गते, २०८२) मा प्रकाशित जेन–जी सुशासन योद्वा, २०८२ मा उल्लेखित शहीदहरुको सम्वन्धमा संवत् २०८२ साल भाद्र २३ र २४ गतेको जेन–जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका ब्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्वन्धी कार्यबिधी, २०८२ को बुँदा नं.११ मा शहीद परिवारका सदस्यलाई रोजगारी सम्बन्धी ब्यवस्था मिलाउने ब्यहोरा उल्लेख गरिएको छ ।
प्राधिकरणले सूचनमा सोही ब्यवस्था अनुसार नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मिति २०८२÷०९÷२० गते गरेको पत्राचार अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र नेपाल बिद्युत प्राधिकरण, केन्द्रीय कर्मचारी प्रशासन शाखा, काठमाडौंमा सम्पर्क राख्न भनेको छ ।
प्राधिकरणले देशैभरका २७ जनालाई शहीद परिरवारका सदस्यलाई राेजगारी दिने गरी सूचना जारी गरेकाे छ ।




