गोरखा । आफुल चलाउने तथा गाउँमा रहेको मेसिन मर्मत गर्नको लागि गोरखा र धादिङका किसानहरुलाई तालिम प्रदान गरिएको छ ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर इकाई गोरखाले धादिङ र गोरखाका किसानहरुलाई खेतबारीमा चलाउने मेसिनको मर्मत सम्वन्धि तालिम प्रदान गरेको बरिष्ठ कृिष अधिकृत होमनाथ लम्सालले जानकारी दिए ।
चैत १ गतेदेखी सञ्चालनमा आएको तालिमा हिजाे सकिएको हो । ३ दिनसम्म चलेको उक्त तालिममा ३५ जना किसानहरुको सहभागिता रहेको थियो ।
गोरखा बजारमा सञ्चालनमा आएको उक्त तालिममा गोरखाको आरुघााट र शहिद लखन तथा धादिङको सिद्वलेक र गल्छी गाउँपालिकाका किसानहरुको सहभागिता रहेको इकाईका सूचना अधिकारी संयम पण्डितले बताए ।
उनका अनुसार पालिका भित्रको १ वडा १ किसानलाई मेसिन मर्मत सम्बन्धि तालिम प्रदान गरिएको छ । तालिम पश्चात अब आफ्नो वा छिमेकमा रहेका हाते ट्याक्टर (मिनि टेर्लर), थ्रेर्सर, मिल (मकै, चामल, गहुँ, कोदो पिस्ने), मकै छोडाउने मेसिन, भूषा बनाउने क्याप कटर जस्ता मेशिन बिग्रिएको खण्डमा बनाउन सक्ने पनि उनले जानकारी दिए ।
गोरखा र धादिङको ४ पालिकामा रहेको ३४ वडामा रहेको ५५० समूहलाई इकाईले अनुदानमा मेसिनहरु उपलब्ध गराउदै आएको छ । त्यस्ता मेसिन बिग्रदा मर्मत गर्न सहरबजारसम्म आउनु नपर्ने गरी तालिम प्रदान गरिएको पनि सूचना अधिकारी पण्डितले बताए ।
किसानहरुलाई तालिम दिन सिटीईभिटी पोखराबाट आनन्द मरासिनी र मेसिन मित्री रफि मियाँ मित्रीले सहभागिहरुलाई प्रयोगात्मक तरिकाले तालिम प्रदान गरेका थिए ।
इकाईले स्थानिय तहसंग समन्वय गरेर अनुदानमा मेसिन बितरणका साथै उन्नत जातका बिउ बिजन बितरण तथा संकलनका साथै किसानबाट उत्पादित दुध तथा तरकारी संकलनको लागि केन्द्र समेत निर्माण गर्दै आएको छ ।
३ बर्षे उक्त आयोजनाले गत बर्ष १८ करोडको हाराहारीमा रकम खर्च गरेको र यो आर्थिक बर्ष पनि सोही अनुपातमा खर्च हुने अनुमान गरेको छ ।



