फाईल तस्बिर
गाेरखा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाेरखा सदरमुकामकाे २ स्थानमा अस्थायी मतदान केन्द्र थपिने भएका छन् ।
निर्वाचन कार्यालय गाेरखाका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय गाेरखा र जिल्ला समन्वय समिति गाेरखामा २ अस्थायी मतदान केन्द्र राख्नका लागि निर्वाचन आयाेगमा सिफारीस गरिएकाे हो ।
कारागार कार्यालयमा रहेका कैदीबन्दीका साथै त्यहाँ कार्यरत कर्मचारी तथा कारागारमा खटिएका सुरक्षाकर्मीका लागि कारागारमा र मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी तथा गाेरखा नगरपालिका–६, ७, ८ र ९ मा रहेका सरकारी कार्यालयमा कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राख्न लागिएको आयाेगमा सिफारीस गरिएकाे सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
कारागारमा ३० जना मतदाता रहेका छन् । जिल्ला समन्वय समितिमा ९५१ कर्मचारीलाई मताधिकारकाे लागि ब्यवस्था गर्न लागिएकाे उनले बताए ।
गाेरखा क्षेत्र नम्बर १ मा १८१ र क्षेत्र नम्बर २ मा १५० स्थायी मतदान केन्द्र गरी कुल ३३१ वटा कायम गरिएकामा अस्थायी मतदान केन्द्र स्थापना भएसँगै मतदान केन्द्र ३३३ पुगेकाे छ ।



