गोरखा । राष्ट्रिय समाचार समिति (रासस) ले स्थापना दिवसको अवसरमा गोरखाका फोटो पत्रकार प्रदीपराज वन्तलाई पुरस्कृत गरेको छ । ६५औँ वार्षिकोत्सवका अवसरमा वन्तलाई पुरस्कृत गरेको हो ।
स्थापना दिवसको अवसरमा वन्त सहित विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
हिजो आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव ले फोटो पत्रकार प्रदीपराज वन्तलाई नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससद्वारा स्थापित ७ हजार ५०० राशिको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रदान गरे ।
सोही पुरस्कार अन्तरराष्ट्रिय समाचार शाखाका उपसम्पादक दिलीप शर्मालाई पनि प्रदान गरिएको थियो ।
डेढ दशकदेखि राससमा फोटोपत्रकारका रूपमा कार्यरत वन्तले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा फोटोपत्रकारितामार्फत विशिष्ट योगदान दिँदै आएका छन् । उनले विगतमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का आधिकारिक फोटो सल्लाहकारका रूपमा कार्य गरिसकेका छन् ।
हाल उनी निर्वाचन आयोगको आधिकारिक फोटोग्राफरका रूपमा कार्यरत छन् । साथै, राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्षका रूपमा देशभरका फोटोपत्रकारहरूको नेतृत्व गर्दै तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रममा सक्रिय रहँदै आएका छन् ।
सोही अवसरमा नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाले प्रदान गर्ने ‘रासस पत्रकारिता पुरस्कार’ अङ्ग्रेजी समाचार सहसम्पादक पवित्रा गुरागाईं र वरिष्ठ समाचार सम्पादन सहायक रेश्मा शाक्यलाई प्रदान गरियो । ‘उमाकान्त गीतादेवी चन्द्रमणि रजौरे स्मृति पुरस्कार’ स्थानीय समाचारदाता टेकराज पोखरेललाई प्रदान गरिएको थियो ।
महासङ्घ रासस शाखाले पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई सम्मान गरेको छ । त्यस्तै, रासस कर्मचारी युनियनले सेवाग्राही शाखाका सहायक प्रशासक मुना भण्डारी र सवारी चालक कुमार दङ्गाललाई पुरस्कृत गरेको छ भने रासस कर्मचारी सङ्घद्वारा प्रदान गरिने ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ सिद्धराज भट्ट र गौरी कारञ्जितलाई प्रदान गरिएको छ ।
वार्षिकोत्सवका अवसरमा राससले संस्थागत विकास, पेशागत उत्कृष्टता तथा जिम्मेवार पत्रकारितामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको जनाएको छ ।



