गाेरखा । गत भदौ २४ को ‘जेन्जी आन्दोलन’ को बहानामा काठमाडौंको मण्डिखाटारस्थित सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा गाेरखाका १ जना सहित ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
सिरोहियाले दिएको जाहेरी अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौंका सुजन डंगोल, विवेक थापा, धादिङका गोपाल थापा, गोरखाका रोजिस घिमिरे र धनकुटा प्रज्ज्वल रोगु विरुद्ध ‘अपराधिक उपद्रव तथा चोरी’ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हाे ।
प्रहरी प्रतिवेदन अनुसार लुटपाट र आगजनीबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गत भदौ २४ को दिउँसो करिब १ बजेदेखि राति १० बजेसम्मको समयमा आन्दोलनकारीको समूहले काठमाडौं-४ मण्डिखाटारस्थित सम्भव सिरोहियाको निवासलाई निशाना बनाएका थिए ।
भिडले घरको कम्पाउण्डभित्र प्रवेश गरी त्यहाँ पार्क गरिएका विलासी सवारी साधनहरूमा आगो लगाएकाे थियो । आगजनीबाट बा.प्र.०१-०३० च ०५१४ नम्बरको डिपल, बा १७ च ५६७८ नम्बरको ज्यागुअर, प्र.३-०१-०२३ च २२३ नम्बरको ह्युन्डाई र बा.प्र.०३-००१ च ०४४४ नम्बरको ल्याण्ड रोभर डिस्कभरी कार पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
प्रहरीकाे अभियोगपत्र अनुसार सिरोहियाको घरबाट ३५ तोला सुन, २० थान चाँदीका गहना, र ३१ केजी चाँदीका सिक्काहरू लुटिएका थिए । त्यस्तै घरायसी सामानमा ८ थान सोफा सेट, डाइनिङ टेबल, ल्यापटप, क्यामरा र बहुमूल्य फर्निचरहरू लुटपाट भएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले अभियुक्तहरूको कोठाबाट ठूलो परिमाणमा चाँदीका सिक्काहरू बरामद गरेको थियो । जसमा ऐतिहासिक ‘एडवर्ड VII’ अंकित सिक्का, विभिन्न देशका मुद्रा, सुन जस्तो देखिने मुन्द्रा, झुम्का र क्यामराहरू रहेका छन् । बरामद भएका करिब १८ किलो चाँदीका सिक्काहरू र अन्य गहनाहरू अभियुक्तहरूले सिरोहियाको घरबाटै लुटेको स्वीकार गरेका छन् ।
लुटपाटमा संलग्न समूहले चाँदीका सिक्काहरू आपसमा बाँडेका थिए । उनीहरूले लुटिएका मध्ये करिब १८ किलो चाँदीका सिक्काहरू लुकाउन नसकेपछि चक्रपथ युवा क्लबका अध्यक्ष विकास गुरुङमार्फत प्रहरीलाई बुझाएका थिए । तर, बाँकी सिक्का र बहुमूल्य वस्तुहरू उनीहरूले आ-आफ्नो डेरामा लुकाएर राखेका थिए ।
प्रहरीको अनुसन्धान टोलीले पक्राउ परेका प्रतिवादीहरूको कोठा खानतलासी गर्दा लुटिएका सामानहरू बरामद गरेको थियाे । प्रहरीले सुजन डंगोलको कोठाबाट ‘कान्तिपुर’ लेखिएको चाँदीको सिक्का १३ थान, राधाकृष्णको चित्र भएको सिक्का, र अन्य ऐतिहासिक सिक्काहरू समेत बरामद गरेको थियाे ।
यस्तै, गोपाल थापाको कोठाबाट ‘कान्तिपुर’ लेखिएको चाँदीका ३३ थान सिक्का, जर्ज भाइकिङ इम्पेरर, भिक्टोरिया एम्प्रेस लेखिएका पुरातात्विक महत्वका चाँदीका सिक्काहरू र चाँदीको लकेट बरामद गरेको थियाे ।
यसका अलावा प्रहरीले विवेक थापाको कोठाबाट ‘कान्तिपुर’ लेखिएका ४०४ थान चाँदीका सिक्काहरू, सोनीको ह्यान्डी क्याम, र विभिन्न प्रकारका धातुका गरगहनाहरू तथा प्रज्वल रोगुको कोठाबाट निकोनको क्यामेरा बरामद गरेको थियो ।
प्रतिवादी बनाइएका रोजिस घिमिरेले लुटिएको चाँदी भएको जानीजानी सामान खरिद गरेर १० तोला बराबरको चाँदीको सिक्का पगालेर ३ वटा सिक्री बनाएको स्वीकार गरेका छन् । लुटपाटमा संलग्न विवेक थापाको बयानका आधारमा प्रहरीले घिमिरेको सुन चाँदी पसल खनतलासी गर्दा ९ वटा सिक्का बरामद गरेको थियो ।



