गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गोरखामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको छ ।
निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मत घटाउने उद्देश्यले जिल्लाका ११ वटै स्थानीय तहमा अगामी फागुन ३ गतेदेखी १७ गतेसम्म कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सुचना अधिकारी रबिलाल सुबेदिले जानकारी दिए ।
उनका अनुसार मतदाता शिक्षा कार्यक्रमका लागि बालविकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये अनुभवीलाई स्वयंसेवक नियुक्त गरिने छ ।
अघिल्लो निर्वाचनमा खटिएर राम्रो काम गरेका स्वयंसेवकलाई पहिलो प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा प्रत्येक नगर तथा गाउँपालिकाले तोकेका १–१ जना निर्वाचन सम्पर्क व्यक्तिलाई ‘मतदाता शिक्षा अनुगमनकर्ता अभिमुखीकरण’ प्रदान गरिएको छ । अनुगमनकर्ताहरूले मतदाता शिक्षा कार्यक्रमका लागि नियुक्त भएका स्वयंसेवकलाई आ–आफ्नो पालिकामा अभिमुखीकरण गरी कार्यक्रम सञ्चालनको व्यवस्था मिलाउने छ ।
स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित हुने गरी परिचालन गर्न लागिएको र मत बदर नहुने गरी उनीहरूले घरदैलोमा पुगेर मतदातालाई शिक्षा दिने निर्वाचन सुचना अधिकारी सुबेदिले जानकारी दिए ।
निर्वाचन शिक्षाका लागि आवश्यक पर्ने नमुना मतपत्रलगायतका सामग्री जिल्लामा आइपुगेको र तिनको व्यवस्थापनमा कर्मचारीहरू जुटिरहेको कार्यालयले जनाएको छ ।
यसैबिच, निर्वाचन आयोगले श्रव्यदृश्य र विभिन्न सन्देशमूलक सामग्री तयार गरी आयोग तथा जिल्ला निर्वाचन कार्यालयको फेसबुक, युट्युब, एक्स (ट्विटर) र भाइबरमार्फत नियमित रूपमा प्रकाशन तथा प्रसारणको व्यवस्था समेत मिलाएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।



