फाईल तस्बिर
गोरखा । गोरखामा विभिन्न व्यक्तिले इजाजत लिएर राखेका ४४ थान हतियार जिल्ला प्रहरी कार्यलयलाई बुझाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गोरखा प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिए लगत्तै मंगलबार साँझसम्म ४४ थान हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) भरतबहादुर बिकले बताए ।
प्रशासनले सूचना जारी गरेपछि ४४ थान हतियार प्राप्त भएको एसपी बिकले जानकारी दिए । हतियार राखेका व्यक्तिले आफूलाई पायक पर्ने नजिकको प्रहरी चौकीमा माघ २० गते भित्र बुझाउन सूचनामा भनिएको थियो ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले माघ २० गतेभित्र हतियार बुझाउन सूचना जारी गरेको थियो ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम प्रत्येक निर्वाचनका बेला जिल्लाका विभिन्न व्यक्तीसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर्दै आएको छ ।
केही समयका लागि हतियार प्रशासनलाई बुझाउन भने पनि निश्चित समयपछि फिर्ता गरिने जिल्ला प्रशासन कार्यलय गोरखाले जानकारी दिएको छ ।



