गाेरखा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा जिल्लामा मतदाता र मतदान संरचनाको अन्तिम विवरण सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार गोर्खा जिल्लामा कुल २ लाख २९ हजार ५८ जना मतदाता रहेका छन् ।
जिल्लामा २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र कायम छन् भने ती क्षेत्रहरुमा मतदानका लागि २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र निर्धारण भएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष मतदाता ६० हजार ४२३, महिला ६० हजार १०१ र अन्य १ जना गरी कुल १ लाख २० हजार ५२५ मतदाता रहेका छन् । यस क्षेत्रमा १३१ मतदान स्थल र १८१ मतदान केन्द्र निर्धारण भएको उनले बताए ।
जनसंख्या र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै मतदान स्थल र केन्द्रको संख्या निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा पुरुष मतदाता ५४ हजार ४१४ र महिला मतदाता ५४ हजार ११९ रहेका छन् । कुल मतदाता संख्या १ लाख ८ हजार ५३३ रहेको क्षेत्र नम्बर २ मा ९४ मतदान स्थल र १५० मतदान केन्द्र तोकिएका छन् ।
जिल्ला समग्रमा हेर्दा पुरुष मतदाता १ लाख १४ हजार ८३७, महिला मतदाता १ लाख १४ हजार २२० र अन्य लिङ्गका १ जना रहेका छन् ।
निर्वाचन कार्यालय गोरखाका अनुसार दुर्गम र पहाडी भेगका मतदातालाई मतदानमा सहज पहुँच दिन मतदान स्थलको दूरी, सुरक्षा अवस्था र भौगोलिक जटिलतालाई विशेष ध्यान दिइएको छ ।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरूको गतिविधि बढ्ने अपेक्षा गरिएको छ । गोरखा जिल्लामा तोकिएको मतदाता र मतदान संरचनाले आगामी निर्वाचनमा उल्लेख्य सहभागिता र व्यवस्थित मतदान हुने विश्वास लिइएको छ ।




