गोरखा । गण्डकी गाउँपालिका–२, स्थित याङ्दी गाउँका किसानहरु केही बर्ष अघिसम्म कोदो, मकै र धानखेतीमै निर्भर थिए । परम्परागत खेतीबालीले गाउँका किसानलाई परिवार धान्न मुस्किल पर्थ्यो । तर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा अहिले त्यहाँका अधिकांस किसान सुन्तला खेतीमा लागेपछि भने याङ्दीको परिचय नै फेरिएको छ ।
याङ्दी गाउँमा अहिले करिब १२० घरपरिवारले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तलाले उत्पादन दिन थालेपछि त्यहाँका किसानमा कृषि कर्ममा आत्माविश्वास बढेको छ ।
उत्तर पूर्व फर्किएको भिरालो पहाड, हरियाली सुन्तलाको बगैचामा लटरम्म सुन्तला फलेका छन् । कुनै बेला पाँचपाथी पनि कोदो उत्पादन नहुने ठाउँमा अहिले १ लाख रुपैयाँसम्म आम्दानी हुन थालेपछि किसान दंग छन् ।

करिब १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका किसान एकबहादुर थापाले पुराना बोट हटाएर कलमी गरिएका नयाँ बोट राेपेका छन् । यसवर्ष मात्रै आफ्नो बगैचाबाट ३ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको उनको भनाई छ । थापाका अनुसार अहिले उनको बगैचामा ४ वर्षसम्मका सुन्तलाका बोट छन् ।
पुराना १५–२० वटा बोट मात्रै राखेर बाँकी सबै हटाएकाले यसवर्ष उत्पादनमा केही कम देखिएको हो । तर नयाँ बोटले पूर्ण रूपमा फल दिन थालेपछि १ सिजनमै १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको विश्वास छ ।
सुन्तला बगैचाकाे अध्ययन् गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गाेरखाका प्रमुख पूर्ण ढुङाना
सुन्तला उत्पादक कृषि सहकारीका अध्यक्ष तथा जोन समन्वय समितिका संयोजक समेत रहेका किसान थापाले भने ‘‘यहाँका किसानलाई बर्षमा दुईचार लाख कमाउन अब गाउँ छोड्नु पर्ने अवस्था छैन् ।’’
‘‘गाउँमा सुन्तला खेतीको राम्रो सम्भावना देखेपछि शहरको जागिर छोडेर कृषिमा भविष्य खोजेको छु, उनले भने, “अहिले यहाँका किसान परम्परागत खेतीले जीवन धान्न गाह्रो भएपछि सुन्तला खेतीमा आर्कषित भएका छन् आम्दानी पनि राम्रो हुन थालेको छ ।’’
याङ्दीमा सुन्तला खेतीको सुरुआत २०६३ साल देखिनै हुँदै आएको हो । २०६५ सालदेखि सहकारीमार्फत व्यावसायिक ढंगले खेती अघि बढ्यो । सुरुका दिनमा परम्परागत रुपमा रोपिएका सुन्तलाका बोटहरु क्रमशः कमजोर हुँदै गए । उत्पादन घट्दै गएपछि किसानले पुराना बोट हटाएर प्रविधिमा उत्पादित बेर्ना लगाए ।

अहिले कलमी प्रविधिबाट लगाएको बोटले उत्पादन ठूलो दाना, राम्रो गुणस्तर र फरक–फरक ‘ग्रेड’ दिन थालेको छ । एकै बोटबाट ३ ग्रेडसम्मका सुन्तला उत्पादन हुँदा किसानले बजार मूल्य पनि राम्रो पाउन थालेका छन् । किसानहरुले आफ्ना जग्गालाई समुहगत रुपमा बगैचा बनाएर सुन्तला खेती गर्दै आएका छन् ।
सुरुमा सहकारीले किसानबाट सुन्तला खरिद गरेर बजारमा पुर्याउने गरेको भएपनि अहिले भने अवस्था फेरिएको छ । थापाले भने, ‘‘व्यापारीहरु आफैं बगैचामा आएर उत्पादन हेर्छन्, मूल्य तोक्छन् र एकैचोटी सुन्तला लैजान्छन् यसले किसानलाई बजार खोज्ने झन्झटपनि छैन् ।’’ अहिले एकै सिजनमा याङ्दीमा करिब ५० लाख रुपैयाँ हाराहारीमा सुन्तला बिक्री भइसकेको छ । नयाँ बगैचाले पूर्ण उत्पादन दिन थालेपछि आम्दानी दोब्बर बढ्ने किसानहरु बताउछन् ।
याङ्दीका अर्का किसान तुलबहादुर थापाले २०७४ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । उनले अहिलेसम्म उत्पादित सुन्तला बिक्रीका लागि बजार खोज्नु नपरेको बताए । गतवर्ष २ लाख ८० हजार रुपैयाँको सुन्तला बिक्री गर्नुभएका थापाले यसवर्ष ३ लाख ८० हजार रुपैयाँको सुन्तला ठेक्कामार्फत बिक्री गरिसकेका छन् ।
गण्डकी गाउँपालिका–२ याङ्दीकी सिता गुरुङले पनि ३ वटा प्लटमा सुन्तला खेती गर्दै आएकी छिन् । पहिले करिब १ मुरी कोदो उत्पादन हुने जमिनबाट उनले यसबर्ष ३ लाख ८० हजार रुपैयाँको सुन्तला बिक्री गरिन । “अन्नबाली लगाउँदा दुःख धेरै र आम्दानी कम हुन्थ्यो,” गुरुङले भनिन्, “सुन्तला खेती गरेपछि काम गर्न पनि सजिलो र आम्दानी पनि राम्रो भएको छ ।”
सुन्तलाको व्यवसायिक खेतीले याङ्दीलाई आर्थिक रुपमा मात्र होइन् रोजगारी सृजनामा समेत आत्मानिर्भर बनाउदै लगेको छ । याङ्दी गोरखामा व्यावसायिक सुन्तला खेतीको उदाहरणीय गाउँका रूपमा चिनिन थालेको छ ।









