गाेरखा । केही महिनामा नै अब गर्मी बढ्दै छ र यससँगै चिसो पेय पदार्थहरूको खपत पनि तीव्र हुँदैछ । गर्मीको प्रभावले उकुसमुकुस बनाउँदा, एक गिलास टक्क चिसो पेयले छुट्टै सन्तुष्टि दिन सक्छ, जसलाई प्रायः ‘चरम आनन्द आउँछ’ भनेर व्यक्त गर्ने गरिन्छ ।
हाम्रो समुदायमा चिसो पेय पदार्थको लोकप्रियता गर्मीसँग मात्र सीमित छैन । चाडपर्व, उत्सव, साथीको जन्मदिनमा मात्र नभई सराद्धेमा समेत पेयको खपत हुन्छ । कहिलेकाहिँ यस्तो लाग्छ कि यी पेय पदार्थहरू हाम्रो सामाजिक जीवनको हिस्सा बन्न पुगेका छन् । अवस्था यस्तो आइसक्यो, यी पेयलाई हाम्रो राष्ट्रिय पेय पदार्थको रूपमा घोसित गर्न मात्र बाँकी छ ।
यो प्रवृत्ति केवल गर्मीसँग सम्बन्धित छैन, यसले हाम्रो समाजको संस्कृति र सामाजिक गतिविधिहरूसँग पनि गहिरो नाता बनाइसकेको छ ।
तर, यो केही क्षणको सन्तुष्टिले जीवनभरको खुशी त छिन्दैन ?
चिसो भनेको सामान्य तरिकाले बुझ्ने हो भने चिनी, पानी अनि सोडा हो । जसमा थप स्वाद र रंग मिसाइन्छ । सोडाका कारण स्वास्थ्यमा थुप्रै असर पर्दछ जस्तै वजन बढ्नु, इन्सुलिन प्रतिरोध हुनु र रगतमा बोसोको अस्वस्थ स्तर बढ्नु । साथै सोडामा रहेको चिनी सजिलै शरीरमा अवशोषित हुने गर्दछ । किनभने यो मात्र चिनी र पानी हो ।
हालैका अनुसन्धानहरुले के देखाएका छन् कि सोडा सेवनले आन्द्राको सूक्ष्मजीव समुदाय (गट माइक्रोबायोम) मा परिवर्तन ल्याउन सक्छ, जसले मधुमेहको जोखिम बढाउन सक्छ ।
सेल मेटाबोलिजममा प्रकाशित भएको चिनीयुक्त पेय पदार्थको सेवन र मधुमेहको जोखिम सम्बन्धी अध्ययनका अनुसार जनावरहरूमा गरिएको अनुसन्धानले देखाएको छ कि सोडामा पाइने प्रमुख चिनीहरू- फ्रुक्टोज र ग्लुकोज-को सेवन निम्नसँग सम्बन्धित छ :
• आन्द्राको ब्याक्टेरियाको विविधता घट्नु, जुन अस्वस्थ सूक्ष्मजीव समुदायको संकेत हो ।
• छोटो शृंखलाका फ्याटी एसिडको स्तर घट्नु, जसलाई ‘राम्रा’ आन्द्राका ब्याक्टेरियाले उत्पादन गर्छन् र समग्र स्वास्थ्यलाई समर्थन गर्छन् ।
• सुन्नाई सँग सम्बन्धित ब्याक्टेरियाको मात्रा बढ्नु ।
त्यसैगरी, जुलिया बइस्नर र समुहले १२ महिलामा गरेकाे सानो अध्ययनले देखाएको छ कि उच्च फ्रुक्टोजको सेवनले ब्युटिरेट नामक छोटो शृंखलाको फ्याटी एसिड उत्पादन गर्ने ‘राम्रा’ ब्याक्टेरियाको संख्या घटाउन सक्छ ।
स्टिना राम्ने र उनका समुहले गरेको अध्ययनले पनि चिनीयुक्त पेय पदार्थहरूको र सोडाको सेवनले आन्द्राको सूक्ष्मजीव समुदायमा हानिकारक परिवर्तन ल्याउन सक्ने दर्शाएका छन् ।
यसैगरी, ताओ यान र समूहले गरेका चिनियाँ अध्ययनको निष्कर्ष छ- जो व्यक्तिहरूले सोडा पिए, तिनीहरूको रगतमा केही ब्याक्टेरियल मेटाबोलाइटहरू पाइएका छन्, जसले स्वास्थ्यमा हानी पुर्याउँछ ।
तर, हालै भएको अध्ययन पहिलो हो । जसले सोडा सेवन, आन्द्राको सूक्ष्मजीव समुदाय, रगतमा ब्याक्टेरियल मेटाबोलाइटहरू र टाइप २ मधुमेहको जोखिम बीचको सम्बन्धको अनुसन्धान गरेको छ । सेल मेटाबोलिजममा प्रकाशित भएको एक नयाँ अध्ययनको निष्कर्षअनुसार चिनीयुक्त पेय पदार्थको सेवन आन्द्राको सूक्ष्मजीव समुदायमा ९ विशेष ब्याक्टेरियाको स्तरको वृद्धिसँग सम्बन्धित छ ।
जब यी सूक्ष्मजीवहरूले खाना पचाउँछन्, तिनीहरूले केही कम्पाउण्डहरू वा मेटाबोलाइटहरू उत्पादन गर्दछन् । वैज्ञानिकहरूका अनुसार यी रासायनिक तत्वहरूले टाइप २ मधुमेहको जोखिम बढाउँछन् । रगतमा चिनीको उच्चस्तर सँगै उच्च बि.एम.आइ र राम्रो कोलेस्टेरोलको मात्रा पनि कम गराउँछन् ।
सोडाले टाइप २ मधुमेहको जोखिम बढाउँछ । त्यसैले यसलाई सकेसम्म नियन्त्रण गर्नुपर्छ र जोड दिन हुँदैन । यदि तपाईंलाई चिसो पेय पदार्थको तलतल भइरहेको छ भने, पानी सधैं उत्तम विकल्प हुन्छ । तर, यदि तपाईंलाई फिज्जी पेयको चाहना छ भने, कम चिनी भएको स्पार्कलिङ पानी प्रायः राम्रो विकल्प हो ।
चिसो पेयको मोह छुट्टै छ, गर्मी होस् या चाडपर्व, बिना कुनै सोच-विचार झन्-झन् गिलास भरिँदै छ ! अब रोजाइ तपाईंको हो – क्षणिक चिसोपनको मज्जा कि दीर्घकालीन स्वास्थ्य ? कि अझै पनि ‘एउटा बोटलले के नै बिगार्ला र ?’ भन्ने मानसिकता राख्ने ? सोच्नुहोस्, शरीरले हरेक घुट्कोमा मूल्य चुकाइरहेको छ । आजैदेखि नै सचेत हुनुहोस् ।




















