गोरखा । छिमेकी जिल्ला तनहुँको आँबुखैरेनीमा रहेको छिम्केश्वरी मन्दिर दर्शन गरेर फर्कने क्रममा बोलेरे जिप दुर्घटनामा परेको छ ।
हिजो साँझ भएको उक्त दुर्घटनामा परी ४ जना गंभिर घाईते भएका छन् भने अन्य ७ जना सामान्य उपचारपछी घर फर्किएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनी चनहुँका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए ।
उनका अनुसार बिहीबार साँझ ६ बजे मन्दिर दर्शन गरेर फर्कने क्रममा आँबुखैरेनी गाउँपालिका–४ को भाँगेमा जिप अनियन्त्रित भएर सडकमा नै पल्टिएको थियो ।
दुर्घटनामा परी जिप चालक गोरखा जिल्ला, गोरखा नगरपालिका–१२ का जगन्नाथ तिवारी, सोही जिपमा सवार आँबुखैरेनी गाउँपालिका–३ का चन्द्र दर्लामी, सोही स्थानका कुमार राना र सुमित्रा थापा गंभिर घाईते भएको प्रनि सुवेदीले बताए ।
जिप चालक तिवारी, कुमार थापा र सुमित्राको चिवतनमा उपचार जारी रहेको छ भने चन्द्र दर्लामीको राजधानीको बि एण्ड बी अस्पतालमा उपचार जारी रहेको छ ।
११ जना सवार रहेको ग. ३ च ६८७१ नम्बरको जिपमा सवार अन्य गोरखा जिल्ला, गोरखा नगरपालिका–११ की र्तिसना राना, सरस्वती राना, लिला राना, झुपी राना, पवित्रा राना, समित्रा राना र बारपाक सुलिकोट गाउँपालिका–६ का सुक बहादुर राना आँबुखैरेनी अस्पतालमा उपचार पछी घर फर्किएको प्रनि सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।



