गोरखा । गोरखाको उत्तरी क्षेत्रमा रहेको बारपाक सुलिकोट गाउँपालिका अन्तरर्गतको वडा नम्बर ७ को पाँचखुवा देउरालीमा पछिल्लो समय सामाजिक सुधारमा असर गर्ने गरी कार्य हुन थालेको भन्दै त्यस्तो कार्य कोही कसैबाट नगर्न अनुरोध गरिएको छ ।
वडाध्यक्ष कृण्ण गुरुङले एक अपिल जारी गर्दै सामाजिक सुधारमा असर गर्ने गरी अमर्यादित संस्कार तथा शान्ति सुरक्षामा खलल् पुग्ने एवं सुसंस्कृत समाज भन्दा बाहिर गएर खर्चालु संस्कार अपनाउन थालिएकोले त्यस्तो कार्य नगर्न नगराउन अपिल गरेका हुन् ।
उनले हालै जारी गरेको अपिलमा विवाह, ब्रतबन्ध, ब्रत तथा पूजा एवं भोजभतेर एव्र विभिन्न सामाजिक परम्परागत कार्यक्रमहरुमा अधिक खर्च गरी मदिराजन्य पदार्थ बढी प्रयोग गरेको पाइएको भनिएको छ ।
वडाध्यक्ष गुरुङले अपिल मार्फत नै त्यस्ता कार्यले वडाभित्र अनावश्यक फजुल खर्च तथा आर्थिक बोझ हुनुका साथै समाजमा झै–झगडा तथा सामाजिक असुरक्षा समेत हुने भएका कारण त्यस्ता कार्य नगर्न र नगराउन भनेको छ ।
उनले जारी गरेको अपिलमा त्यस्ता कार्यले बालबालिका तथा युवाहरुमा नकारात्मक असर, साँस्कृतिक मर्यादा, अनुशासन र सामाजिक सद्भावमा समेत गिरावट आउने भएका कारण सम्वन्धित सबैलाई त्यस्तो कार्य नगर्न र नगराउन अनुरोध समेत गरेको छ ।
वडाध्यक्ष गुरुङले यो अभियानलाई सबै क्षेत्र र वडाबासीहरुले सक्रियता पूर्वक सहयोग गर्न समेत अपिल गरेका छन् ।




