गाेरखा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज २ वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान ११:४५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।
३ वटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । ३ मध्ये २ मा हार बेहोरेको लुम्बिनी तालिकाको छैटौं स्थानमा छ । एनपीएलको पहिलो सिजनमा यी २ टोलीबीच एउटा खेल भएकोमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो ।
यस्तै दिउँसो ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् । २ खेल खेलेकोमा दुबै हार बेहोरेको जनकपुर तालिकाको सातौं स्थानमा छ । यस्तै २ मध्ये दुबै खेल हारेको पोखरा तालिकाको पुछारमा छ ।
एनपीएलमा ८ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।
यसैबीच आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सका खेलाडी सामाजिक सन्देश सहितको जर्सी लगाएर मैदानमा जाने भएका छन् । जनकपुरको टोलीले ‘आमाको सम्मान’ स्वरुप गुलाबी रंगको जर्सी लगाउनेछ भने पोखराको टोलीले जलवायु परिवर्तनको चेतना जगाउने सन्देश बोकेको हरियो जर्सी लगाउनेछ ।
जनकपुरका सबै खेलाडीको जर्सीपछाडि उनीहरूको आमाको नाम हुनेछ । पोखराले गएको वर्ष पनि विश्वव्यापी तापमान वृद्धिको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो ।



