गोरखा । गोरखा जिल्ला भित्रका करिब १९ सय मतदाताहरुले साविककाे मतदान स्थल परिवर्तन गर्न चाहेका छन् । मतदाताहरुले मतदान केन्द्र परिवर्तन गर्न चाहे लगत्तै जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदानस्थल परिवर्तनकाे प्रस्ताव गरेकाे हाे ।
उक्त मतदान स्थलमा कुल १ हजार ८१० जना मतदाताको साविकको मतदानस्थल सार्न प्रस्ताव गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।
चुमनुब्री गाउँपालिकाका २ वटा, पालुङटार नगरपालिकामा १ र सहिद लखन गाउँपालिमा २ वटा मतदानस्थलका केही मतदाताको मतदानस्थल परिवर्तन गर्न प्रस्ताव गरिएको छ ।
उनका अनुसार चुमनुब्री गाउँपालिका–६, स्थित हाल सिम्चेत आधारभूत विद्यालय सिम्चेत मतदानस्थल रहेका ४३ जना मतदातालाई लोक्पा सामुदायिक स्वास्थ्य इकाई लोक्पा मतदान केन्द्रमा सार्न प्रस्ताव गरिएको छ ।
त्यस्तै सोही वडाको चुमलिङ आधारभूत विद्यालय चुम्चेत मतदान केन्द्रका ११९ जना मतदातलाई खार सामुदायिक खोप केन्द्र खार मतदान स्थलमा सार्न प्रस्ताव गरिएको छ ।
भौगोलिक दुरी र विकटताका कारण उनीहरुको मतदानस्थल परिवर्तनको प्रस्ताव गर्ने निर्णय समितिले गरेको निर्वाचन कार्यालयले जनाएकाे छ ।
त्यसैगरी पालुङटार नगरपालिका–६, स्थित विरभद्र आधारभूत विद्यालय पौवाटारका ७१७ जना मतदाताको मतदानस्थल जनज्वोती आधारभूत विद्यालय कालामाट पौवाटारमा सार्न प्रस्तवा गरिएको छ । साविक गाइखुर-२ मतदातालाई उक्त मतदान केन्द्र अपायक र टाढा पर्ने भएकाले मतदानस्थल उक्त मतदानस्थल सार्न प्रस्ताव गरिएको छ ।
त्यस्तै सहिद लखन गाउँपालिका–३, स्थित गंगाधर्म माध्यामिक विद्यालयको मतदान स्थलका २६८ जना मतदातालाई करनटार प्रावि कटरटार र सोही वडाको गंगाधर्म माध्यामिक विद्यालय मतदान केन्द्रकै ६६३ जना मतदाताको मतदानस्थल जनज्वोती प्रावि नाम्जुङटारमा सार्न प्रस्ताव गरिएको छ ।
सो केन्द्रमा ७ किलोमिटरसम्म पदैल यात्रा गरेर मतदानका लागि आउजाउ गर्नुपर्ने कठिनाइका कारण उनीहरुको मतदानस्थल परिवर्तन गर्ने प्रस्ताव वैठकले गरेको हो । उक्त प्रस्ताव केन्द्रीय मतदान केन्द्र, मतदानस्थल निर्धारणसमितिले स्विकृत गरेर पठाएमा लागू हुने छ ।



