गाेरखा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल आज दिउँसो ४ बजे सुरु हुने छ ।
खेल अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाडाैं गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा हुनेछ । यसपटक एनपीएल फ्ल्डलाइटमा हुनेछ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडाैं गोर्खाज र लुम्बिनी लायन्स गरी ८ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताकाे अधिकांश खेल रातकाे समयमा हुने छ । कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुने आयाेजकले जनाएकाे छ ।
लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ । अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायरमा मङ्सिर २३ गते मंगलवार खेल्नेछन् । यो खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । तेस्रो र चौथो स्थानका टोलीबीचको इलिमिनेटर खेल मङ्सिर २४ गते बुधवार हुनेछ । यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोलीको यात्रा समाप्त हुनेछ ।
यो खेलको विजेताले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुनेले २५ लाख रुपैयाँ तथा चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउनेछ । जुन अघिल्लो सिजनकै पुरस्कार रकम बराबर हो ।
आजकाे खेलकाे सबै टिकट बिक्री भइसकेकाेले टिकट नहुने सबैले घरमा नै बसेर टिभी मार्फत हेर्न समेत आयाेजकले अनुराेध गरेकाे छ ।



