गाेरखा । नेपाल प्रिमियर लिग (एनपीएल)को मंसिर १ गते हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेकाले नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत् टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकलाई रङ्गशालामा आएर हुलहुज्जत नगर्न पनि आग्रह गरे । उनले टिकट नहुने दर्शकले घरमै बसेर खेल हेर्दै एनपीनएल क्रिकेटलाई समर्थन गर्न पनि अनुराेध गरेको छ ।
एनपीएल एउटा ब्राण्ड बनिसकेकाले विश्वको ध्यान नेपाली क्रिकेटमा पर्ने हुँदा दर्शक तथा समर्थकलाई अनुशासित भएर खेल हर्न क्यानले अनुरोध गरेको छ । साथै आउँदा दिनमा विश्वस्तरका धेरै खेलाडीलाई बोलाएर नेपालमा खेल्ने वातावरण बनाउने सन्देश दिनुपर्नेमा क्यानका सचिव खड्काको जोड छ ।
अहिले सिट सङ्ख्या निश्चित भएकाले क्यानले पहिलो खेलका लागि झन्डै ८ हजार टिकट बेच्न दिएको छ भने झन्डै २ हजार टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएको छ । यस्तै थप ३ हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि छुट्याएको छ ।
भोलिदेखि त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुने दोस्रो संस्करणको एनपीएल क्रिकेटको सबै तयारी पूरा भएको छ । प्रतियोगितामा ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाण्डु गोर्खाजले खेल्नेछन् । खेल दिउँसो ४ बजे शुरु हुनेछ ।



