गोरखा । धार्चे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२-०८३ का लागि कृषि उत्पादकत्व वृद्धिका लागि किसानलाई हौसला प्रदान गर्न उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसान, निजी फर्म, कृषक समूह तथा कृषि सहकारी संस्थाहरुमार्फत विभिन्न कृषि बाली, फलफूल, तरकारी तथा नगदे बाली उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्ने गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
कृषि उत्पादकत्व अभिवृद्धि कार्यक्रमअन्तर्गत धान, मकै, अदुवा, अलैंची, मसला बाली, गहुँ, प्याज, मह, फलफूल, गोलभेँडा, सिमी, फापर, टिमुर, खुर्सानीलगायतका बालीमा उत्पादन र बजारिकरण अभिवृद्धिका लागि निश्चित अनुदान दर तोकिएको उनले बताए ।
जसअन्तरगत मकै, गहुँ र रैथाने आलु न्युनतम ८ मुरी उत्पादन गर्ने किसानले प्रतिमुरी ३०० रुपैयाँका दरले अनुदान प्राप्त गर्नेछन् । त्यस्तै उन्नत जातको आलु न्युनतम ८ मुरी उत्पादन गर्ने किसानले प्रतिमुरी २०० रुपैयाँ र सिमी गोलभेडा, अदुवा, बेसार, प्याच, भटमास, सिलाम, खर्सानी न्युनतम ६० केजी उत्पादन गर्दा किसाले प्रतिकेजी १५ रुपैया अनुदान पाउनेछन् ।
त्यस्तैगरी, मह उत्पादन गर्ने किसानले प्रतिकेजी ७५ रुपैँया, अलैची उत्पादनक किसानले प्रतिकेजी ५० रुपैँया, फलफुल उत्पादन गर्ने किसानले प्रतिकेजी १० रुपैँया, मस्याङ र टिम्मुर उत्पादन गर्ने किसानले प्रतिकेजी २० रुपैयाँ अनुदान प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
पालिका भित्र धान, फापर, कोदो र जौ खेती गर्ने किसानले न्युनतम ५ मुरी उत्पादन गरे प्रतिमुरी १ हजार अनुदान पाउने उनको भनाई छ ।
अनुदानका लागि गाउँपालिकाले तोकेको न्युनतम क्षेत्र, उत्पादन र आवेदनको मापदण्ड पुरा गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिका कृषि शाखाले जनाएको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको नगद अनुदान कार्यक्रमले कृषकहरुलाई कृषि उत्पादनमा आधारित व्यवसायिकता र आत्मनिर्भरता बढाउन मद्दत पुग्ने अध्यक्ष गुरुङले बताए ।
नगद अनुदान कार्यक्रमार्फत गाउँका किसानलाई प्रोत्साहनसंगै आधुनिक खेती प्रणालीतर्फ उन्मुख गराउने उद्देश्य रहेको छ ।



