गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण गर्दै लैजानका लागि वडा–वडामा अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिका भित्रका प्रत्येक वडामा एउटा कृषि सहकारी छनौट गरेर वडाका सवै किसानले प्रयोगमा ल्याउन सक्नेगरी कृषि औजार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो ।
किसानलाई प्रोत्साहित गर्दै प्रविधीमैत्री बनाउदै लैजाने र सामुहिक रुपमा व्यवसायिक कृषि पेशामा जोडदिने उद्देस्यसहित कृषि सहकारी छनौट गरी सतप्रतिसत अनुदानमा कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो । पालिकाले रु २७ लाख १५ हजारमा कृषि औजार वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख विनोद भन्तनाले जानकारी दिनुभयो ।
‘‘सवै कृषि सहकारीलाई समान रुपमा विउ रोप्ने उपकरण ७ थान, थ्रेसर, चाफ कटर, पानी तान्ने पम्प १-१ थान वितरण गरिएको छ, उहाँले भन्नुभयो, ‘‘त्यसवाहेक स्प्रे पम्प ३ थान, ट्याक्टर ४ थान, घाँस काट्ने मेसिन २ थान र मकै छोडाउने मेसिन प्रतिवडा ५ थान वितरण गरिएको छ ।’’ वितरण गरिएका कृषि औजार सहकारीमार्फत न्युन शुल्क तिरेर किसानहरुले प्रयोग गर्नेछन् ।
‘‘कृषि उपकरणको अभावमा कृषिमा लागत बढी र उत्पादन कम हुने अवस्था छ, उहाँले भन्नुभयो, ‘‘यसले गर्दा कृषि पेशा प्रतिको किसानहरुको आर्कषण समेत घट्दो छ, अव कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउनका लागि प्रविधीको प्रयोगमा विशेष जोड दिने गाउँपालिकाले योजना रहेको छ ।’’
गाउँमा धेरै खेतीयोग्य जमिन बाँझो हुँदै गएकाले कृषिलाई प्रविधीमैत्री बनाउन सके कम लगानीमा बढी उत्पादन गर्न सकिने उहाँको भनाई छ । ‘‘परम्परागत खेती प्रणालीले कृषि उत्पादन बृद्धि गर्न सकिदैन, प्रमुख भन्तनाले भन्नुभयो, ‘‘अव लागत कम गरेर उत्पादन बढाउनका लागि पनि कृषिमा यान्त्रिकीकरण गर्नु अनिवार्य भएको छ ।’’
पालिकाले वडा नम्बर १ साना किसान कृषि सहकारी संस्था, २ मा मेहनती कृषि सहकारी संस्था, ३ मा रहेको सृजनशिल कृषि सहकारी संस्था, र वडा नम्बर ४ मा रहेको प्रगतीशिल कृषि सहकारीलार्ई कृषि औजार वितरण गरेको उहाँले बताउनुभयो ।
त्यस्तै वडा नम्बर ५ मा रहेको वगुवा कृषि सहकारी संस्था, ६ मा रहेको अश्राङ्ग कृषि सहकारी संस्था, ७ मा उद्यमशिल साना किसान कृषि सहकारी संस्था र ८ मा सृजनशिल सहकारीलाई कृषि औजार वितरण गरेको हो । वितरण गरिएका सवै कृषि औजार वडा भित्रका सवै किसानहरुले आवश्यकताका आधारमा थोरै शुल्क तिरेर प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो ।



