गोरखा । मनकामना केबुलकार आजदेखी २६औं बर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गते विधिवत उद्घाटन गरेर सञ्चालनमा आएको केबुलकारले हिजोसम्म १ करोड ८० लाख ९३ हजार २५५ जना स्वदेशी तथा विदेशी यात्रुले केबुलकारको यात्रा गरेको अप्रेशन एण्ड मेन्टेनेन्स प्रमुख सुनिल कर्माचार्यले जानकारी दिए ।
केबुलकारको बार्षिक उत्सवका अवशरमा आज वटम स्टेशनमा विविध कार्यक्रमहरु राखिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान देशको विभिन्न भागबाट जम्मा हुने सञ्चारकर्मीहरुलाई मनकामना दर्शन गराउने कार्यक्रम छ ।
त्यस लगत्तै बटम स्टेशनमा नै केबुलकारले बिगत २५ वर्षसम्म भएगरेका कामका बारेमा जानकारी दिने गरी पत्रकार सम्मेलनको पनि आयोजना गरिएको उनले जानकारी दिए ।
चितवनको चेरेशमा रहेको बटम स्टेशनदेखी गोरखाको मनकामनासम्म ३.०२ किलोमिटर लामो केबुलकारमा ३४ गोन्डोला र ३ वटा फ्रेट क्यारी छन् ।
केबुलकार पूर्ण क्षमतामा सञ्चालनमा आउदा १ घण्टामा ६६० जनाले यात्रा गर्न सक्ने पनि अप्रेशन एण्ड मेन्टेनेन्स प्रमुख सुनिल कर्माचार्यले जानकारी दिए ।
एनलग प्रविधिमा सञ्चालित नेपालकै पहिलो केबुलकार ०८१ साल भाद्र महिना भित्रै डिजिटल प्रविधिमा रुपान्तरण हुन लागेको पनि उनले बताए ।
केबुलकारको तात्कालिन युवराज दिपेन्द्र विरबिक्रम शाहले उदघाटन गरेका थिए ।



