तिलक पाैडेल
सहज हिसाबले उठी चिया पिई ७ बजेतिर यात्रारम्भ गरियो । धारापानीको फोटो खिची संभवत: ताल, मनाङमा खाना खाने हिसाबले अघि बढ्यौँ । केही तल आउँदा एकै ठाउँमा दुइटा पानीका धारा देखाउँदै एकुराई र कृष्णले मनाङतिर पनि पहुँचका आधारमा स्रोत दोहोरिएको प्रमाणित व्यहोरा तर्फ ईङ्कित गरे । धारापानीको पुरानो काठको फल्याक भएको पुललाई स्टिलडेकको पुलले विस्थापित भएछ, लाग्यो नयाँ पुस्ताका अगाडि पुरानोको हबिगत हरक्षेत्रमा यस्तै हो । त्यहींनेर बाटा माथिको ठूलो ढुङ्गामाथि होटेल पूर्ववत रहेछ, फुलबारीको सजावट र केही विस्तृतीकरण भएको महसुस भयो – २०५१ सालको तुलनामा ।
करिब आधा घण्टाको हिँडाइपछि पारीतिर पहरोलाई खोपेर मोटरबाटो निर्माण हुँदै गरेको सजीव दृश्यले यस्ता कठोर पहरालाई त आफूखुसी
ढाल्न मिल्दो रहेछ भने हाम्रा उत्तरी गोरखाको बाटो खन्न केको असजिलो हुनु ? जस्तो मनोभाव सिर्जना गरायो । अर्कोतर्फ एउटै डाँडाको वरपर जस्तो मर्स्याङ्दीमा यतिका लगानी गरी उत्तर-दक्षिण मार्ग निर्माण भैरहेको सन्दर्भमा फेरि अर्कोपाटोको काली गण्डकीको किनारैकिनार किन लगानी गर्ने ? सायद गोरखामा यस्तो रणनैतिक सडक नबन्ला जस्तो पनि लाग्यो ।
अरू अघि बढ्दा चितवनका १४ वर्षे युवकहरूले ड्रिलिङ् – विस्फोटक पदार्थ राख्ने प्वाल पार्ने काम गरिरहेको पाइयो । सोधनी गर्दा खाना खाएर दिनको ४००।- दिने गरेको व्यहोरा अवगत भयो । साथीहरूले ‘यस्तो भन्न सिकाइएको हुनसक्छ !’ भन्ने सम्मको अड्कल गर्नुभयो । जेहोस्, युद्धस्तरमा काम भैरहेको, पहराहरू छिचोलिरहेको देख्दा कतै नयाँ नेपालको संसारमा प्रवेश गरेको जस्तो लाग्यो । पुरानो गीत ‘बेल्चा गैंची उचालेर, पहरोलाई छिचोलेर…’ को मूर्तरूप जस्तै लाग्यो । केही बाटो हिँडेपछि पुन: पाइप र खानेपानी सम्बन्धी काम भैरहेको देख्दा साँच्चै यही गतिमा काम भए, हामीकहाँ पनि विकास हिँडेर हैन दौडेर आउला कि जस्तो लाग्यो ।
शीतलडाँडानेर ८:३० बजेतिर बाटोमै प्रकृतिक छहराको पानी-छिटाले हिँडाइबाट गर्मिएको शरीरमा शीतलताको सिँचन भएको महसुस भयो । यस्ता प्राकृतिक सम्पदाले विदेशीको मन किन नलोभ्याओस् जस्तो लाग्यो । वरिपरिका छाँगा-छहरा, बाटो निर्माणको दृश्य, डाँडापहराहरूलाई साथी बनाई अघि बढ्दै गयौँ । ताल गाउँ जोगाउन गरिएको तटबन्ध, लक्ष्यमा कति सफल रहला ? आशङ्कित समीक्षा गर्दै अघि बढ्दा त्यहीं तटबन्धका लागि डोकोमा ढुङ्गा बोक्दै कसैले ढुङ्गा फोर्दै जनसहभागिता जनाइरहेको दृश्यले वास्तवमा कामप्रतिको अपनत्व महसुस भयो । शिरतालपछि ९:१५ बजे ताल मनाङ देखापर्यो ।म पहिला पनि आएको थिएँ, जुनबेला पनि त्यहाँका छहरादिले मन लोभ्याएका थिए । यसपाली पनि रङ्गीविरङ्गी फूलहरूले शोभित ताल माथिबाट आउँदा होटेल पाराडाइजले स्वागत गर्यो ।
वास्तवमा अनुपम प्रकृतिक छटाहरूको भूमिकामा फोटाहरू खिचिए । बाटोको छेवैमा साना जलविद्युतका लागि ‘पेनस्टक पाइप’हरू मान्छेले बोकेर बिसाएको दृश्यले, त्यसरी मान्छेको पिठ्युँबाट पाइप बोकेर कहिले होला अपेक्षित विकास दूरदराजमा पुर्याउने जस्तो लाग्यो । सायद, त्यो ठाउँमा परापूर्वकालमा ताल थियो होला, पछि खोलिएर आवादि बनेको होला जस्तो लाग्ने भूगोललाई मध्यनजर गर्दा ठउँको नामै ताल रहेको हुसक्ने अड्कल गर्दै फर्की-फर्की मनोरम दृश्यहरूको अवलोकन एवम् तस्वीर खिच्दै साथीहरू अघि बढी सकेकाले हामी पनि प्राकृतिक दृश्यको स्वाद लिँदै अगाडि लम्क्यौँ ।
नराम्रो त कल्पनै गर्न नसकिने दृश्यहरूको पुञ्ज – तालको सफाइमा एकजना वृद्ध आफ्नै पारामा खटेको देख्दा त्यो भावना सर्वत्र फैलाउनुपर्ने महसुस भयो । हामीले अलि-अलि भोकको अनुभव गरेकाले पारी ‘जेभिसी’, डोजर, श्रमिकहरूले काम गरेको नियाल्दै ढुङ्गेपहरोमुनिको चिया दोकानमा अण्डा र कोक खायौँ । साथमा रामशरणजी र म थियौँ । असजिलो बाटोमा पनि हामफाल्दै दौडने, घाँटीमा झुण्ड्याएको घण्टीबाट सबैलाई बाटो छोड्न सन्देश दिने, उकालोमा पनि र भारीसँग पनि धैर्यतापूर्वक लक्ष्यभेदन गर्ने गधा र घोडीका सन्तान खच्चडले आफ्नो उल्लिखित कार्यसम्पादन नगर्ने भएको भए यतातिर हामीले के खाएर आफ्नो अस्तित्त्व कायम गर्दा हौँ जस्तो लाग्यो ।
त्यस्तै, वरिपरिको जङ्गलमा देखिने निगालो, जुन स्थानीय युवाहरूले टुप्पाका फुर्काहरू बाँधेर घिसार्दै हिँडेको देख्दा त्यातातिर बाँस, निगालोको खेती प्रवर्द्धन गर्ने र त्यसैमा आधारित उद्योग/व्यवसायी तालिम सञ्चालन गराउनु उपयुक्त हुने व्यहोरा जँच्यो ।अनि बाटोमा एक्यापले तयार पारेर टाँगेको सूचनापाटी जसमा यो-यो ठाउँदेखि क्रमश: यो-यो ठाउँमा जान कति समय लाग्छ ? त्यो ठाउँको उचाइ कति छ ? जस्ता व्यहोरा उल्लेख थिए, अन्यत्र पनि याने एम्क्यापको क्षेत्रमा पनि राख्नु उपयुक्त देखियो, जसबाट अगाडिको बस्ने, खाने योजना बनाउन सक्षम होइन्थ्यो जस्तो लाग्यो ।
अब एकुराई र कृष्णजी पनि भेट हुनुभयो । रामशरणजीलाई दक्षिण भारतीय र मलाई अन्य विदेशीका रूपमा पर्यटकहरूले ठहर गरेको पाउँदा आश्चर्यानुभव गर्दै ओह्रालो झर्दै थियौँ । Namaste, Welcome in Nepal ! भन्दा Oh ! Where are you from ? भन्थे । ‘नेपाल’ भन्ने उत्तरमा उनीहरू पनि आश्चर्य मानेको जस्तो लाग्यो । खरका झुपडीहरूमा पनि अल्मुनियमको देप्चीमा कोका, फ्यान्टा, पानी सहितको टेबुलको कुर्ची/बेञ्चको व्यवस्था मिलाई पर्यटकहरूलाई स्वागतको बन्दोबस्त मिलाएको देख्दा ‘अतिथि देवो भव:’लाई मूर्तरूप दिएको झैँ लाग्यो । पारितिर पहरोको माथि-माथि मोटरबाटोको रेखाङ्कन भैसकेको देख्दा Driving in Bolivia लाई माथ गर्ने जस्तो आँकलन गर्दै च्याम्चे पुग्ने बेलामा पहाडको थाप्लोबाट विशाल पानीको झरना बनेर मर्स्याङ्दीमा मिसिएको दृश्यले कतिपय समथर भूभागमा इनार खन्दा समेत पानी निस्कँदैन भने त्यत्रो पहाडको टाकुरामा कसरी त्यतिका पानीको अविरल स्रोत सिर्जना भएको होला ? प्रकृतिको अनुपम सिर्जना !!! सबा बाह्रबजे च्याम्चे पुगेर टिवेट ल्हासा होटेलमा खाना खायौँ र संयोग जीप भेटिएकाले रु.५००।- मा बेँसीसहर पुगाइदिने शर्तमा १० दिनपछि बल्ल गाडीबाट यात्रा गरियो ।
जगत बजार नियाल्दै पुरानो स्याङलाई मर्स्याङ्दी तिरतिरै छाडी नयाँ स्याँगेमा पुगेर जीप रोकियो । हामी आएको जीपमा निजी नम्बर प्लेट (रातो) थियो, जसले यात्रु ओसार्न वर्जित रहेछ । करिब एक घण्टाको पर्खाइपछि अर्को भाडाको जीपसँगसँगै हाम्रो जीप पनि अघि बढ्यो । एकजना कोरियन गणित शिक्षकले मसँग तस्वीर खिचाउने इच्छा व्यक्त गरे बमोजिम फोटो खिचियो । बाटोमा भाडावाला जीप फँस्यो । निस्कन नसक्दा हामी आएको जीपले तान्न सहयोग गर्यो । पारितिर ङादी र भूलभूलेलाई बाइबाइ गर्दै हामी ५:३० बजेतिर बेँसीसहरमा पुग्यौँ । दिनभरको यात्रामा सँगसँगै गुडेका दुईवटा जीपको सहयोगी पाराले सायद ती कोरियन पर्यटकहरूको मनमा सकारात्मकता सञ्चार गरायो होला । हामीले यात्रा गरेको जीपले ती पर्यटक बसेको जीपलाई ‘लिफ्ट’ दिएको, पर्खेर पनि सँगसँगै हिँडेको हिसाबले तस्वीर खिचाउने कोरियन टोलीलाई ‘सपोर्ट’ गर्न सकेकोमा हामीलाई पनि रमाइलै अनुभव भएथ्यो ।
हामीहरू होटेल टुकुचे टपमा बस्ने निर्णय गरी म र रामशरणजी कोठा नं. १०५ मा बस्यौँ । यस यात्राको पीहटोको अन्तिम घुड्कीहरू लिएर खाना खाई साहुजीसँग खुला सेयरिङ गरियो । होटेल व्यवस्थापनको प्रसङ्गमा कमनरूममा बस्ने पाहुना भनेका व्यक्तिगत रूममा बस्न नसक्नेहरू न हुन्, जो सम्पन्न हुँदैनन् । अनि तिनीहरू बस्ने कमनरूममा, कमन ट्वाइलेटमा पो ट्वाइलेट सोप राखिनु पर्ने हैन त ? किनभने फोहोरका कारण सङ्क्रमण भएमा समग्र टोलै प्रभावित हुन्छ भने होटेल सबै अछुतो रहने त कुरै भएन जस्ता चर्चा भए । साहुजीले तुरुन्तै तौलिया र सावुनहरू ती कमन ट्वाइलेटमा पठाइदिनु भयो । यो कार्यरूपप्रति म पनि दङ्ग पर्दै सायमकालीन नित्यकर्म सम्पादन गरी आराम गरेँ – मनमन अन्तत: लार्केपास गर्ने धोको पूरा गर्न सकेकोमा हर्षानुभव गर्दै ।
तस्वीरमा व्यहोराहरू …











