तिलक पाैडेल
सवा सात बजेतिर उठेर यात्राका प्रात:कालीन कार्यहरू सम्पादन गरी चियापानपश्चात् यात्रारम्भ गरियो । रातभरमा वरिपरिका जङ्गलका सदस्यहरूले सेतो मलमलको च्यादर ओढेको जस्तो परिदृश्यहरूले नयन स्पर्श गरिरहेका थिए । होटेलकै बाहिर रात बिताएका फर्निचरहरू पनि तुषारोको खोलमा कठाङ्ग्रिए जास्तो लाग्दथ्यो । अर्थात् वातावरण केही चिसै थियो परिणाम धर्मशाला, लार्केको अस्याहट मेटिइरहेको झैँ लागेको थियो ।
होटेल मालिक्नी जीवनसमेत भई फोटो खिची सादा कफीपान गरी ओह्रालो यात्रा आरम्भ भयो । रेडक्रसले बनाएका पानीका धारा, भीन्थाङ्गको भूमिकामा पातलो हिउँको घुम्टो ओडेका रुखहरूको तस्वीरमा नीला जस्ताका छाना, सल्लाका क्रिमी काठको आवरण लगाएका घरहरूमा हाम्रो यात्रारम्भताका हात मुख धुन र आङ् तान्न निस्किएका पर्यटकहरू ! वास्तवमा रमणीय लाग्दथ्यो वातावरण तापनि मनमनले हात हल्लाई म पनि पछिल्लो समूहसँग पयर बढाएँ ।
करिब आधा घण्टाको यात्रा तय गर्दैगर्दा रङ्गीचङ्गी झारहरू विशेष, भूईँ र रुख गुराँससँग परिचय गर्दै खोला विशेषमा अबीरजात्रा गरेजस्ता लाग्ने ढुङ्गाहरू नियाल्ने अवसर प्राप्त भयो । सोचेँ – फेसबुकमा जिज्ञासा राखौँला, किन यस्तो हुन्छ ? हुँदो हो ?
पाइलो ओह्रालो हुँदा हिँडाइ सहजै लागेको थियो । कथा, कुथुङ्ग्री र अनुभवहरू आदानप्रदान गर्दै बाटो कटिरहेको थियो । एक घण्टापछि चियापान गर्ने भन्ने शोच भएपनि साढे दस बज्यो तर चिया खाने त परै जावोस् भवनसम्म पनि देख्न सकिएन । धन्य भीन्थाङ्गमै कफी खाइएछ ! बाटोभरि ढलेका रुखहरू कुहिएका देखिँदा, काठे इन्धनमा नै भएपनि प्रयोग गर्न पाए जस्तो मन पल्हायो । कतिपय ठाउँमा त ठूला-ठूला रुखहरू बाटो वारपार हुने गरी ढल्दा गेट जस्तो लाग्दथ्यो ।
झण्डै ११ बजे बल्ल एउटा रुखमा सुर्की भन्ने ठाउँमा होटेल भएको विज्ञापन पाटी देखियो । मनमा हर्षानुभव भयो । ‘अगाडि गएका साथीहरूले
त्यहाँ पुगेर खाना बनाउन लगाएका होलान्, पुग्दा बित्तिकै खाना खान पाइएला’ भन्ने सोचाइले ऊर्जा प्रदान गर्यो । नभन्दै बाटैवरिपरि टन्न सल्लालाई चिराएर राखेको देखियो, लाग्यो अब वस्ती टाढा छैन । पत्रकार किरणजीले यो सबै कटानको पूर्जी गरिएको होला ? जिज्ञासा राख्नुहुँदा आएको बाटैभर प्राकृतिक हिनामिनामा मन खिन्न भएपनि यो मानवीय कृतउपर उल्लिखित भाव कानुनी ठहर्यो । जेहोस्, सवा ११ बजे सुर्कीको साँइली-माँइलीको होटेलमा पुगियो । खाना तयार रहेछ । खाना खाई सकेर म जङ्गलतिर जान बाध्य भएँ र गपको एकुन्द्रो मेटेँ, कारण त्यहाँ पनि शौचालय बनिसकेको रहेनछ ।
जेहोस्, केही तेर्पाएँ उकालो र अधिकतर ओह्रालो बाटोमा केही समय कृष्ण खड्काजीसँग फूर्तिसँग हिँडे । पौने दुई बज्दा गोआ पुगेर अर्को टोलीलाई पर्ख्यौँ ।फेरि पूर्ववत् यात्रा अघि बढाई साढे तीन बजे तिल्चे भन्ने ठाउँमा पुगेर साथीहरूको भद्रो हेर्यौँ । बाटोमा विभिन्न थरिका फलहरू लटरम्म झुलेका देखिए, जुन खान नहुने भनियो । हुनपनि खान मिल्ने प्रकृतिका भएको भए कसले बाँकी राख्दथ्यो होला र ?! जस्तो लाग्यो ।
दिन चिसै परेको हुँदा सुप बनाउन लगाएर खान थाल्यौँ । सोही समयमा होटेल मालिक आएर खड्काजीलाई ‘एकजना मात्र ल्याएको कुइरे ?’ भनी मलाई पर्यटकको रूपमा सोचेको र मैले ‘आज धारापानी पुगिएला नि हैन साहुजी ?’ भन्दा उनको ग्लानिभूतिको अनुहार र सबैको हाँसो स्मरणीय थियो । अरू साथीहरू समेत आइपुगेपछि मोवाइल चार्ज गरेर गोरखा, काठमाडौँतिर सम्पर्क गरी चाउचाउ आदि खाइवरि चार बजे पुन: ओह्रलियो । ८९ वर्षीय आमैसँग फोटो खिची होटेलवाला साहुजीसँग ‘म पनि मनाङ बसेको थिएँ’ भन्ने व्यहोरा जनाउँदा पुनेलजीले हामी सबैलाई सौहार्द्रतासाथ बिदाइ गर्नुभयो ।
पौनोपाँचतिर मनाङ जोड्ने प्रस्तावित मोटर बाटो हुँदै हिँड्दा पानी पनि पर्यो । रामशरणजी र म एउटा छातामा ओतियौँ । पाँचबजेतिर बाटो माथि ठूलो ढुङ्गाको छेऔमा सल्लाको रुख कसरी अडिएको होला ? जस्तो लाग्ने दृश्यलाई तस्वीरमा कैद गर्दै अघि बढियो । अन्तत: साढेपाँच बजेतिर धारापानीमा पुगी ‘सोनाली होटेल’मा गरेको साथीहरूको प्रबन्ध बमोजिम रामशरणजी र मसँगै बस्ने चाँजो मिलाइयो । शरीर थकित थियो । सायमकालीन नित्यकर्महरू सम्पादन गरी थहटो – मनाङकफीको रूपमा अगेनाको छेउमा बसी सेवन गरियो ।
पकाउने भान्साबाट डाइनिङ हल टाढा थियो । बिचको हिँड्ने बाटो पनि अति साँघुरो थियो । होटेलवाला लोग्नेमान्छे विदेश रहेछन्; सानो ४/५ वर्षको छोरा लिएर मिश्रीदेवीले होटेल सञ्चालन गरिरहेकी रहिछन् । बत्ती थिएन रपनि अँध्यारोमा बानी परेको उनको ग्राहकसेवा (दाल, भात, तरकारी थप्ने) लाई डाइनिङहलसम्म पुर्याएको देख्दा मलाई अचम्म लागिरहेको थियो । ‘हामीले पनि सहयोग गरौँ ?’ भनी कृष्णजीले प्रस्ताव राख्दा ‘पर्दैन, छिमेकी बैनी आउँछिन्’ भन्दा छिमेकको सहयोगी भावनाको प्रशंसा गर्न मन लाग्यो ।
अन्त्यमा, ९ बजेतिर खाना खाई दुखेको शरीरलाई ‘मुव’ नामको मल्हमले संक्षिप्त मालिस गरी विस्तारामा पल्टाई निद्रादेवीको शरण पारियो । शीघ्र काखमा सुताइछन् क्यारे ! एकैचोटी बिहान बिउँझियो ।
तस्वीरमा व्यहोराहरू …








