लार्के पास लगत्तै भिथाङ जान तल झर्दै
तिलक पाैडेल
सहयात्री गोपीजीलाई ११ बजे बेलुका देखि नै निद्रा नलागेको व्यहोराले ‘अब लार्के जाने र नजाने मत कति-कति हुने भो ?’ भन्नुभएको रहेछ । तर, सबैजना जाने भन्ने भएकाले लसुनको सूप खाई ५:३० बजे बिहानै यात्रा आरम्भ गरियो । सल्लाह हिजो अस्ति जस्तो टोली बिभाजन भई
अघि-पछि नगर्ने भनेर गरियो । तर, रामशरणजी र म अलि बिस्तारै हिँड्ने हुँदा अरू साथीयरू अघि नै हुनुभयो । एकनासको हिँडाइमा पाइला गिन्ती गर्ने रहर लागेकोले मैले रहर पूरा गर्दै हिँडे । यसबाट एकातिर कति दुरी रहेछ भन्ने अड्कल भयो भने अर्कोतिर मन गणनामा एकाग्र हुँदा थकाइतिर मन बरालिन नपाउने साथै पाइला-पाइलामा प्राणवायु लिने र छाड्ने क्रमलाई कार्यान्वयन गर्न पाउँदा एकप्रकारले ‘चाल-प्राणायाम/अनुलोम-विलोम गरेको अनुभूतिले शरीरमा स्फुर्ति कायम रहेको महसुस भैरहेको थियो । अचेल पनि प्रात:कालीन हिँडाइमा मैले यो क्रम जारी राख्दा आनन्द महसुस हुन्छ ।
करिब ६ बजेतिर बल्ल पूर्व क्षितिजमा लालिमा चढेको दृश्य अवलोकन भयो । पश्चिमतिर चन्द्रमा समेतको फोटो खिच्दै अघि बढियो । बाटोमा तुसारो थियो, परिणाम बग्दै गरेको पानी जमेको देखिन्थ्यो । ७:१५ बजेतिर हामी लार्केतालनेर पुग्यौँ । त्यो तालको नीलो पानीको दहसहितको फोटो जिल्ला विकास समितिको बैठक कक्षमा थियो/छ, तर अहिले पूरै ऐना जमेर माथि-माथि हिँड्न सकिने खालको पाउँदा लेखनाथको ‘जाडो खुब थियो, समस्त जलमा ऐना जमेको थियो …’ भन्ने कवितांश स्मरण भयो । घामको रापले तताउने गरेको प्रयास वरिपरिको चिसो वातावरणले धृष्टतामा परिणत गराएको थियो ।
८:०० बजेको हाराहारीमा सबै थकित जस्तो लाग्दथ्यो । अघिका टोलीहरू अघि-अघि नै थिए/भए, एकबहादुर राई, देवानसिं थापा, रामशरण बस्नेत र म पछि-पछि थियौँ । थाके पनि हिमाली दृश्यको भूमिकामा तस्वीर खिचाउन पाउँदा मलिन भएपनि हाँसो छल्किएको थियो । ८:१५ बजेतिर मैले ‘अनुगमन टोली, जिविस. गोरखा, … पाइला’ भनी हिउँमा लेखी फोटो खिचेँ । त्यसपूर्व पनि तिलक, रोसुरशाति, शारदा+तिलक, स्यासस. पोखरा जस्ता व्यहोरा हिउँमा लेखेर फोटो खिच्दै हिँडेको थिएँ । त्यतिबेला ती फोटाहरू अप्राप्य/दुर्लभ हुनेछन् भन्ने शोच मनमा थियो र त्यस्तै हुनेछन् पनि – भविष्यमा ।
जेहोस्, ८:३० बजे ३४२० पाइलाको यात्रा तय गरेपछि एउटा धर्मशाला/ठाँटीमा पुगेर कोइलाले मेरो ठेगानासहितको व्यहोरा उल्लेख गेरर मनानन्दानुभूति गर्दो भएँ । करिब ९ बजेतिर हिउँमा सुतेर फोटो खिचाएँ । प्यास मेटाउन पानी नपाइएकोले थर्मसमा हिउँ राखी पगालेर प्यास मेट्ने धृष्टता असफल भयो – प्रकृति उपरको असफल प्रयास ! त्यसैबेला क्यामेराको ‘मेमोरी कार्ड’ भरिएको जानकारी भएकाले ‘ल्यापटप’मा तस्वीर ‘डाउनलोड’ गर्ने शोचले बसेर कम्प्युटर खोलेँ । तर, त्यसले कामै गरेन, सायद चिसोले ब्याट्री जाम भएर होला ! हामीलाई लेक लागेजस्तै । हामी पुन: अघि बढ्यौँ । हिँड्यो-हिँड्यो नसकिने अत्यासलाग्दो बाटो, उस्तै-उस्तै लाग्ने र कहिल्यै नसकिने जस्तो भूगोल ! जेहोस् १०:४० बजे खच्चडहरू भेटिए । सोधनी गर्दा तिनीहरू मनाङको भिन्थाङबाट बिहान छुटेका रहेछन् । हाम्रो लक्ष्य त्यहिँ पुगेर खाना खाने थियो । खच्चडवालाको ‘उ… त्यै त हो नि लार्के भञ्ज्याङ !’ भन्ने व्यहोराको जानकारीले उत्साह थपियो । अनिश्चिततामा रुमलिई रहेका बेला निकट निश्चितताको आभाषले/आश्वासनले यथार्थमै ऊर्जा थपिँदो रहेछ ।
हामीहरूले अब नयाँ गति र भञ्ज्याङ नजिकिएको भावले नवसञ्चारसाथ अग्रगमन गर्यौँ । नभन्दै धर्मशालाबाट हिँडेको साढे पाँच घण्टामा ५९१० पाइलाको यात्रा पूरा गरी ११:०० बजे लार्के भञ्ज्याङमा पुग्यौँ – जीवनको पहिलो र सम्भवत: अन्तिम सफलता – लार्केपासको । ‘भिक्ट्री’का ‘भि’ आकारमा हातका औँला ठड्याएर तस्वीर खिचाउँदै हुर्रेको उद्घोषले पुलकित तुल्यायो । यसरी हामीले जीवनमा पहिलो पटक लार्केपास (५१६० मीटर) सफलतापूर्वक आरोहण गरियो । तर, देवानजीको भने अनुहारै पहेँलो देखिएको थियो । एकबहादुरजीलाई ‘अघि गएर एकजना साथीलाई झोला लिन पठाइदिन’ भनी खबर गर्दो भएँ । देवानजीलाई टिमुरको छोप चाट्न दिन मन लाग्यो, तर त्यो त अघिल्लै टोलीसँग पो गएछ । अघि गएका साथीहरूले भिन्थाङबाट आउँदै गरेका खच्चडवालासँग भेट हुँदा सायद भञ्ज्याङ पास गरिसकेका थिए होला ! टिमुरादिको छोइ तिनैसँग पठाइदिएको भए ! जस्तो लाग्यो ।
जेहोस्, अब भञ्ज्याङ पार गरियो भन्ने उत्साहमा बरु छिट्टै तल झर्न जाति ठहर्याई त्यहाँबाट अघि बढियो । ओह्रालो सुरु हुने ठाउँसम्म करिब १५ मिनेट (२३५ पाइला) तेर्पाएँ हिँड्नु पर्दोरहेछ । एकबहादुरजी अघि गएका भएपनि करिब ४२१ पाइला जति ओह्रालो हिँडेपछि तलैतिरबाट कालो/अँध्यारो कुइरोको मुस्लो आएको देखेपछि उनी अत्तालिएछन् । त्यस्तो कुइरो हिउँपहिरोको कारणले आउँछ र त्यसको हप्काले भेटाएमा अवश्य मरिन्छ भन्ने व्याख्या सुनिएको थियो, नअत्तालिने कुरा पनि भएन । म भेट भएपछि नआत्तिई अघि बढ्न अनुरोध गरेँ । मलाई अब भिन्थाङ त्यति टाढा नहोला जस्तो लागेको थियो । हुन त पहिलो पटक हिँडिएको बाटोमा गन्तव्यको अड्कल भनेको त ‘अँध्यारोमा गुच्चा गुडाए जस्तै न हो, टोलेको आवाज आए, अड्कल ठीकै गरिएछ जस्तै हुने’ न हो । रपनि, उनी एकपाइलो अघि पुगेर अर्को साथीलाई पठाइदिएमा देवानजीलाई राहत हुने थियो । किनभने, मेरो पनि अलि-अलि टाउको दुखेको थियो र मैले उनको झोला बोकेर सहयोग गर्न सक्ने अवस्थामा थिइन । रामशरणजी आफैँ निन्याउरिनु भएको थियो । हिजोको कुरा अनुसार ४ घण्टामा भिन्थाङ पुगेर खाना खान भ्याइन्छ भन्ने मान्यतामा हामी ढिलै हिँडे पनि ६ घण्टामा त अवश्य पुगिएला भन्ने लागेको थियो । उनी पनि अघि लागे । मैले रामशरणजी र देवानजीलाई पर्खिएँ । भेटभएपछि रामशरणजीले देवानको झोला बोकेर सहयोग गरिदिने प्रस्ताव गर्दा ‘जोगीको घरमा सन्यासी पाहुना’ भन्ने सोचाइको हास्यभावसँगै म लज्जित भएँ । तर, देवानजीले ओह्रालो सुरु भएपछि त ठीकै छ भनेकाले ठूलो राहत महसुस भयो । हामी बिस्तारै ओह्रालियौँ ।
ओह्रालो बाटो पनि ढुङ्यान पैरो र ठाडो भएकोले असजिलै लाग्यो । त्यसमा पनि सबा बाह्रबजेतिर बाटोमै पानी जमेर चिप्लिने खतरा रहेछ । करिब ओह्रालोका १९०० पाइला हिँडेपछि त म अलि अघि अर्थात् रामशरणजी र देवानजी देखिन छाडेका र एकुराई पनि नदेखिने ठाउँमा पुगेँ । बाटो निकै ठाडो र ठाँडो जमेकोले म ४/५ पटक लतारिकै थिएँ, त्यहाँ त झन् पछाडि हातै टक्ने गरी पछारिएँ पनि । सायद मानिसकै होला दिमाग चाँडै चल्दो रहेछ – ‘म चिप्लिएर गुल्टिँदै कतै ढुङ्गाको अक्करमा पर्ने; ठण्डी, थकाइ, भोकका कारण हारगुहार गर्न पनि नसक्ने; रामशरण र देवानजीले कति चाँडै ओर्लेछन् ? ठान्ने; अघि गएकाले त पछि आउँदै छन् सोच्ने जस्ता सुस्पष्ट सोचाइलाई जब सबै सहयात्रीहरू जम्मा हुँदाका अवस्थामा मेरो अनुपस्थितिले पुन: खोज्न निस्कन पर्ने बाध्यता सिर्जाउँला । साथीहरूलाई विचार शक्तिले स्फुर्ति सञ्चार गराउँदा खाना नखाई भोको पेटसित यहाँ कतिबेला आइपुग्लान् र मेरो उद्धार होला ?’ जस्तो कल्पनाहरू मस्तिष्कमा कल्पिए । धत् ! आफैँले आफ्नै गालामा थप्पड दिँदै, छोराछोरीले घरमा भन्ने गरेझैँ नराम्रा कुरा फिर्ता अर्थात् यो कल्पना फिर्ता ! भन्दै जतनैसँग ओर्लेँ । त्यहाँ शुकदेवजीको पनि सुत्ने झोला ‘स्लिपिङ् ब्याग’ दुईतीन चोटि गुल्टएथ्यो रे !
जेहोस्, ५/७ पटक सामान्य र २/३ पटक हातको सहारा चाहिने गरी लतारिँदै करिब २८०० पाइलाको यात्रा तय गरी १:३० बजेसम्ममा ठाडो ओह्रालो पार गरियो । केही तेर्सो हिँड्दा ‘डष्टबीन’का रूपमा डोको राखेको देखियो । मैले बाटोमा चक्लेट खाँदा त्यसका खोलहरू गोजीमा जम्मा गरेको थिएँ, त्यसैमा फालिदिएँ । बाटोमा फिट अङ्कित पोलहरू गाडिएका थिए । हामी कहाँ पुगेर विश्राम गर्न पाइन्छ ? पानी खान पाइन्छ जस्ता भोको पेटका र थकित शरीरका अनुत्तरित प्रश्नहरूले ती पोलमा उल्लिखित व्यहोराहरू पनि अङ्कन गर्न आग्रह गर्दथे । करिब २ बजेतिर अर्थात् चक्लेट चापे बाहेक पानी समेत नखाई साढे आठ घण्टाको यात्रा तय गरेपछि बल्ल पानी पाइयो र रामशरणजी र देवानजीले बिस्कुट पनि खानु भयो । मैले भने भोक मरिसकेको झैँ भएको र मैदाबाट बनेका बिस्कुटप्रतिको आफ्नो धारणाले पानी मात्र पिएर अघि बढेँ ।
म अघि बढ्दै गर्दा विपरीत दिशाबाट एकजना आउँदै गरेको देखेँ । मनले कल्पना गर्यो कि – त्यो हामीलाई सहयोग गर्न आएको हाम्रै साथी हो । तर, प्रत्यक्ष भएपछि थाहा लाग्यो कि उनी त छेकम्पार जान यताबाट सजिलो र छोटो हुने भएकोले आज सामागाउँ पुग्ने हिसाबले आएका चुम्चेतको नौजवान रहेछन् । भिन्थाङका बारेमा र हाम्रा साथीहरूका बारेमा सोधनी गर्दा ‘साथीहरू भिन्थाङ पुगी सक्नुभएको र हामीहरू पनि अरू थप एकडेड घण्टामा पुग्न सकिने’ व्यहोरा अवगत गराउँदा डाँडाको तेर्सोबाट देखिएको ठाउँ भिन्थाङ रहेनछ कि ? वा यो ठिटो छाङ् खाएर हिँडेकाले सही व्यहोरा अभिव्यक्त नगरेको पो हो ? जस्तो लाग्यो ।
रपनि १५ मिनेटको यात्रापछि रङ्गीन काँढाघारी, काला पत्थर/चट्टानहरू, सल्ले बुट्यानको बिचमा हाम्रो यात्रा अघि बढ्यो । ठानेँ – ल्होको गुम्बानेरको रङ्गीन जङ्गल, सेतो पोतेकका गुलाफका काण्ड, दुधे सेता, पहेँला, राता रङका वानस्पतिक सम्मिश्रण ! सायद प्रकृतिले हामी जस्तै थकान र क्षुधायुक्त यायावरहरूका लागि पुनर्ताजगीका हेतु रचना गरिदिएको होला ! पौने तीन बजेसम्म हिँड्दा पनि हामीले खाना खाने वस्ती देखिएन, छेकमका भाइले भनेको समय पनि टल्यो, मनको धैर्यताले पनि उछार दिएन अनि मैले पनि गोजीको बिस्कुट – गपगाउँमा बास बस्दाका दिन खाएका मकै, भट्टभन्दा पनि मीठो मानी खोलाको पानीमा चोप्दै खाँदै गरेँ ।
रामशरणजी र देवानजी आएपछि फोटो खिची ‘हैन कतै बाटो त बिराइएन ? अहँ ! किनभने, बाटोमा गाडिएका पोलहरू भएकै गोरेटोमा हिँडिरहेकाछौँ …’ जस्ता समीक्षा गर्दै अघि बढियो । तेर्सो बाटो सकिएपछि पनि पुन: ओह्रालो हिँडिरहेका थियौँ । मेरो चिप्लिने क्रम जारी नै थियो । एकपटक त त्यहाँ टेकेपछि पक्कै चिप्लिन्छ सोच्दै उचालिएको खुट्टालाई त्यहीं टेक्दा चिप्लिएँ पनि । मन पूर्ववत् झसङ्ग भयो, ठानेँ अन्तरमनमा रहेका शरीरका कर्मठ रक्षकहरू अति इमान्दार हुँदारहेछन् । ३:२० बजेसम्ममा ३६७० पाइलाको ठाडो ओह्रालो ओर्लेपछि एउटा ‘डाइरेक्सन बोर्ड’ देखियो । ए… उल्टै बाटो हिँडिएछ क्यारे ! गाउँ त माथितिरै पो रहेछ जस्तो लाग्यो । तर, बोर्ड नजिकै पुग्दा त्यो त पोंकर ताल (Ponkar Lake) तिर जाने बाटो निर्देश पो गर्ने बोर्ड रहेछ । जेहोस्, थप १० मिनेट हिँडेपछि (३७३७ पाइला पार गरेपछि) भिन्थाङबाट कृष्ण खड्काजी र पोष्ट भण्डारीजी हामीलाई कफी र बिस्कुट लिएर साथ दिन आउनु भएको भेटिनु भयो अनि भिन्थाङ पनि देखियो । यसरी ३:३० बजे अर्थात् बिहान हिँडेको १० घण्टापछि कफी र बिस्कुटको नास्ता (?) गर्यौँ, बाटोमा हराएका रहेनछौँ भन्ने खुसियालीसित !
अब झोलाहरू पनि साथीहरूले समाइदिनु भयो; मन पनि चङ्गा भयो; अलि-अलि पेट पनि भरियो । सबै अघि बढ्दा मलाई पनि लेकगीत सुन्दै हिँड्न मन पल्हायो र मोवाइलमा कोसिस गरेँ तर गीतहरू बज्न/बजाउन सकेन – मोवाइल मेसिनले । अनि बुकीफूल र काला पत्थरहरूको फोटो खिच्दै तल झरेँ । अन्तत: ४७१५ पाइलाको यात्रा पूरा गर्दा ४ बजेर ५ मिनेट बितेको थियो । हामीहरू प्रस्तावित मनास्लु नामको भिन्थाङको होटेलमा पुग्यौँ, जहाँ हाम्रा अग्रगामी साथीहरू खाना खाई आराम गर्नुभएको थियो । गोपीजीलाई ओह्रालोमा अलि बढी ज्वरो आएको; हामीलाई पर्खन बस्दा पर्यटकका पथप्रदर्शकहरूले बस्न नहुने, बिस्तारै हिँडिरहनुपर्ने अन्यथा रगत जम्न सक्ने जस्ता सुझावले साथीहरू खुरुखुरु हिँडेको र १:३० बजितर त्यहाँ पुगेको व्यहोरा हात लाग्यो । हिँडाइको सुस्तताले हामीलाई झण्डै साढे दुई घण्टा पछि पारेको अड्कल भएपछि ढिलो हिँड्ने यात्रुका लागि काम लाग्ला ठानी गणना गरिएका पाइलाहरू र लागेको समयको संक्षिप्त विश्लेषण गर्ने मन पल्हायो । अरू साथीहरूले खाना खानुभयो । मैले भने मनाङ् कफी खाएर तल तस्वीरमा संलग्न भए बमोजिमको विश्लेषण गरेँ ।
साँझको खानामा पनि वास्तविक मनाङ कफी – घ्यूमा चामल फुराई चिनी र कफी राखी घरपाला रक्सीले झ्वाइँय परेर तयार पारिने, खाइयो । कुराकानीको प्रसङ्गमा राजनैतिक सफलासफलका व्यहोरा चर्चा चले । सबै साथीहरूले खाना खाएपछि पत्रकार लोहनीजीसँग मांसाहार, मस्तिष्क वर्गीकरण – दायाँ/वायाँ, बेसिक-मिड-नियोकर्टेक्स, आदि विषयमा चर्चा गरियो । १२ कक्षा पास गरेकी जीवन गुरुङले पकाएको च्याङ्ग्राको मीठो झोलसँग खाना खाई शरीर दुखेको निको हुने मल्हम लगाई रामशरण बस्नेतजी र म एउटा कोठामा आराम गरेऊँ – ल्यापटपमा फोटाहरू अपलोड गरी मनपरेका लोकगीतहरूको भिडियो हेर्दै ।
तस्वीरमा व्यहोराहरू …













