तिलक पाैडेल
ढुवानीको सहजताले पनि हुनसक्छ – त्यतातिर, ओच्छ्याउने डनलप र ओड्ने टिम्बा सिरक/ब्लाङ्केट हुँदा रहेछन् । त्यही न्यानोमा बसी दिउँसो गुनगुनाउँदै टिपोट गरेका निम्नानुसारका लोकगीतहरूलाई ल्यापटपमा टङ्कण गरेँ –
तदुपरान्त, न्यानो ओड्नेभित्र भरदिनको थकानसँग मीठो निद्रा निदाएँ । स्थूल शरीरले थकाइ महसुस गरेपनि अन्तरयन्त्रहरू भने सनातनीरूपमा चलिरहँदा रहेछन् क्यारे ! पूर्ववत् ४ बजेको समयमा दिसा गर्नाखाँतिर बिउँझिएँ । वास्तवमा जिल्लाका विशिष्ट व्यक्तिहरू (तीन
राजनैतिक दलका प्रमुखहरू एवम् प्रतिनिधि, स्थानीय विकास अधिकारी) भएको व्यहोरा मनन गरेर होला, बाटोमा विदेशी पर्यटक भएपछि हामीलाई बाससम्म उपलब्ध नगराइएको परम्परा त्यहाँ तोडिएको थियो । हुन त सबैसँगै बस्न भने मिलेको थिएन । जेहोस्, उठेर हेर्दा थर्मसमा पानी र ४ वटा मगहरू रहेछन्, अनपेक्षित तातोपानीले त्यो चिसो ठाउँको प्यास मेट्न पाउँदा – Very Goodmorning to Heavenly God ! भन्न मन लाग्यो । कोही पनि नउठेका कारण आफ्ना नित्य कर्ममा पनि संलग्न नभै दिसापिसाप गरेर आई पुन: आराम गरेँ, जुन वास्तवमा थप आनन्ददायक रह्यो ।
अन्तत: ७ बजेतिर उठेर सबै जम्मा भई चिया पियौँ । ४ वटा घोडा उपलब्ध हुने व्यहोरा अवगत भएपछि हामी ४ जना (राजनैतिक व्यक्तित्त्व र म) घोडामा र अरू साथीहरू पैदल हिँड्ने सल्लाह भयो । धर्मशालाको बसाइ सहज भएमा लार्केपास गर्ने रायानुसार कालो चस्मा, लट्ठी किन्ने कार्यका साथै वीरबहादुरजीले कफी पिउन भन्नुभए मुताविक कफीपान गरी सामूहिक फोटो खिचेर सवा आठबजे यात्रा अघि बढाइयो – लार्केपास गर्ने कौतुहलतासँगै ।
हिजोको घोडा चढाइ सम्बन्धितले डोर्याइदिएर सफल गरिएको थियो । आज पनि त्यस्तै गरिएकोमा फूर्वाभाइले आफैँ लगाम समाई दायाँ-वायाँ हिँडाउन गरिनुपर्ने कार्यसँग परिचय गराएबमोजिम जीवनमा पहिलो पटक बिना सहारा घोडचढी यात्रा (Ponney Trek) गरेँ । घोडा पनि सज्जन रहेछ, आरामसँग अघि बढेँ । करिब आधा घण्टाको यात्रापछि झोलुङ्गे पुल निर्माणको प्रस्तावित ठाउँ अवलोकन गर्यौँ । ढुङ्गैढुङ्गाको पहिरो र खोलामा पुल बनाइनुपर्ने देखियो ।
पौने घण्टाको यात्रा सकिँदा रामशरणजीलाई घोडाले लोटाएको खबर प्राप्त भयो । संयोग खासै चोट लागेनछ । त्यो घोडा ‘अरू अघि गएको देखीनसहने प्रवृत्तिको छ’ भन्ने व्यहोरा अवगत भएपछि त्यसैलाई अघि लगाई यात्रा अघि बढायौँ । १० बजे साम्दो गाउँ पुग्ने बेलामा काठेपुल तरी उकालो हिँड्नु पर्दोरहेछ । उकालो र ओह्रालोमा घोडा चढ्नु अनुपयुक्त भन्ने व्यहोरा ज्ञात भएपछि २० मिनेट जति पैदल हिँडियो । नीलो जस्ताको छाना भएको सार्वजनिक भवन र अधुरा शौचालयहरू हेर्दै हामी साम्दो गाउँ पुग्यौँ । मानेनेर साम्दो गाउँको भूमिकामा घोडा चढेका फोटाहरू खिच्यौँ । ‘ह्वाइटबोर्ड’मा ‘भोट्याङ्ग्रेजी’ जस्तो लाग्ने स्वागत समाचार पढ्दै एउटा होटेलमा पुगी चिया पियौँ । फोनको सुविध रहेछ, सम्पर्क गरी हिजो बेलुका उत्तरी गोरखामा केन्द्रबिन्दु बनाई गएको करिब ५ रेक्टर स्केलको भूकम्पले खास क्षति नभएको र हामी कुशल रहेको व्यहोरा अवगत गराइयो ।
खानाको बन्दोबस्त यहाँ पनि अलि कमसल होटेलमा गर्न बाध्य भयौँ – पूर्ववत व्यहोरा अनुसार । जेहोस्, खाना पकाउन लगाई हामीहरू साम्दो प्राथमिक विद्यालयको अवलोकन गर्न लाग्यौँ । केटाकेटीहरू अङ्ग्रेजीमा गीद गाउँदा रहेछन् । पर्यटकादिको सौजन्यमा चिया बिस्कुट खाँदै थिए । सौजन्यकारले बरु पैसा दिएर त्यहींको आलु, करुको सातु जस्ता स्थानीय भोजनको व्यवस्था मिलाए हुने जस्ता कल्पना हुँदा व्यहोरा शेयर गरेँ । अन्तत: आलु र बन्दाको तरकारीमात्रसँग भोक मिसाई खाना खाएर १२:२० बजे सामूहिक फोटो खिची धर्मशालातिर अघि बढियो ।
पौने घण्टा जति हिँडेपछि साम्दो साना जलविद्युतको पावरहाउस पुग्यौँ । अवलोकन पश्चात् अरू साथीहरू पैदल अघि लागे भने रामशरणजी र म ४ वटा घोडा आउँदै गरेको थाहा लागेपछि बुद्धमुर्ति कुँदिएका धार्मिक ढुङ्गाहरूको थुप्रामा ङुटुप लामासँग तस्वीर खिची ङिमा र फुर्वुले घोडा ल्याइदिएपछि हामी दुई र उनीहरू दुईजना घोडाबाट अघि बढ्यौँ – १:२० बजे ।
सबा दुईबजे पहिरोले बाटो खराब बनाएको ठाउँमा पुग्यौँ । म दायाँ-वायाँका फोटाहरू खिच्दै थिएँ, घोडा निकासै नभएको खतरा डोरेठोतिर सोझिएछ, मैले क्यामेरा गोजीमा राखेर अघि हेरेको त भीरमै पुगेको रहेछ – २:४५ बजेतिर । धन्य ! दायाँ लगाम खैँचँदा घोडा उपयुक्त बाटोमा लाग्यो र दुवै जीव (घोडा र म) को जीवन जोगियो । मलाई अद्यावधि सम्झँदा ज्यानै सिरिङ्ङ हुन्छ – सायद मानव मात्रको कि मेरो बाँच्ने रहर !
जसोतसो ३ बजेर ५ मिनेट व्यतीत हुँदा धर्मशालामा पुगियो । केही विदेशी पर्यटकहरू पनि थिए । हाम्रो साथमा आएका ङिमा र फुर्वु डोमा लामासाथ संयुक्त फोटो खिचाई चाउचाउ र मसरुमको सुप खाई उनीहरूलाई बिदा दिइयो । हामीलाई बस्नका लागि ‘टेण्टहाउस’ त्रिपालघर ‘बुक’ गरिएको रहेछ । झोला बिसाई वरिपरिको अवलोकन गरियो ।
साविकमा बनाइएको ठाँटी/पौवा – जसलाई धर्मशाला भनिन्थ्यो, को दीर्घ स्मरणका लागि अन्तत: त्यस ठाउँको नामै धर्मशाला रहेको रहेछ । त्यो भवन हाल पर्यटकका भरियाहरूको भान्सा र सुत्ने ठाउँ बनेको रहेछ । बाँकी ४० जनाजति बस्न सक्ने एउटा पक्की र ३ वटा त्रिपालघर, एउटा डाइनिङ् र एउटा किचेन रहेछन् । एमक्यापको क्षेत्रमा उनीहरूको स्वीकृति नलिई बनाइएको र सामा-६, साम्दो-३ का जनताहरूका बिचमा समेत खिचलो उत्पन्न भएको रहेछ । चुरोट र रक्सी खान बन्देज गरिएको त्यो ठाउँमा समयमै खाना खाई आराम गरियो । मलाई भने दिउँसो घोडा र म बँचेको क्षणको सम्झनाले एकछिनसम्म निद्रादेवीले कख्याउन मानिनन् ।
तस्वीरमा व्यहोराहरू …











