तिलक पाैडेल
कार्तिक २५ गते शुक्रबार बिहान उठी नजिकैको विद्यालयको शौचालय उपयोग गरियो । चिया पिई केही साथीहरू प्रोक गाउँको अवलोकनका
लागि जानुभयो भने हामी केही साथीहरूले होटेलमा खानाको व्यवस्था मिलाइयो । साथीहरू गाउँबाट फर्केपछि खाना खाई ११:१५ बजे यात्रा अघि बढाइयो । १२:१५ बजे लङ्गाक्षेतस्थित पूर्व जिल्ला पञ्चायत सदस्यको किमोलुङ् होटेलमा पसी फोन सम्पर्क गरियो । मन हलुङ्गो भयो । हाम्रो यात्रा सहज हिसाबले अघि बढिरहेको थियो । २:०० नामरूङ्ग (२६५० मीटर) मा पुगी साहिँलाकहाँ तातोपानी पिइयो । फोनको सुविधा रहेछ, सबैले यथास्थानमा सम्पर्क गरेर अनुहार उजिल्याइयो । सचिव अमगाईं र पत्रकार किरणजी त्यहीँ बसेर भोलि बिहान हामीलाई भेट्ने राय गर्नुभयो । अन्य हामीहरू केही वल्तिरको हेल्थपोष्टको अवलोकन गरी २:३० बजे अगाडि बढियो । ३:०० बजे भन्जाममा पुग्यौँ । त्यहाँ समथर फाँट रहेछ, जसमा करू (उवा) र जौको अत्यन्त राम्रो खेती हुँदो रहेछ । थन्क्याउने समय रहेछ । करू टिप्ने विधि सबै कर्णाली अञ्चलतिर जस्तै ‘करूका फेदहरूलाई दुईटा नियालाका लट्ठी (पञ्चैबाजाको ट्याम्को बजाउने गजा जस्तै र जत्रै)का बिचमा पारी माथि सर्क्याउँदै तान्ने र बाला छनेमा ठीकै भयो, नछिनेकालाई कम्मरमा दिशा मिलाएर भिरिएको आँसीले काटी थुन्सेमा राख्ने’ चलन रहेछ ।
त्यो फाँट हिँडेपछि थोरै उकालो पर्दथ्यो । फेदिमा ४ जना केटीहरू ओरालो झरेर बिसाएका रहेछन् । ‘नमसते’ भनेर अभिवादन गरेपछि गोपीजीले मिठाइँ दिनुभयो । सायद उनीहरूले हामीलाई विदेशी पर्यटक जस्तो मानेछन् क्यारे ! मिठाइँ पाएपछि ‘थ्याङ्क्यू’ को प्रतिक्रिया जनाउँदा वातावरण मीठो बनाएको हालसम्म ताजै छ ।तदुपरान्त उकालो लाग्नुपर्ने बाध्यकारी परिस्थितिलाई अङ्कमाल गरी अघि बढ्यौँ । पारिपट्टिका अनवरत हामफालिरहेका झरनाका प्राकृतिक मनोरम दृश्यहरूले नयन स्पर्श गरिरहेका थिए ।
बरू स्मरणीय पक्ष के रह्यो भने बुद्धमूर्ति कुँदिएका ढुङ्गाहरूका थुप्राहरू पार गरी नदी तर्दा नदीले पहरोलाई छेडेर बगेको दृश्य, सडकको छेउमा रहेको ठूलो सल्लाको फेद चारैतिरबाट काटेको दृश्य, कमजोर काठेपुलबाट खच्चडहरू तरिरहेको दृश्य, काठको सहारामा भीरमा बाटो बनाएको दृश्य, गुलाफजस्तो काँढादार काण्डमा सफेद रङले रङ्ग्याएको जस्तो दृश्य, नामरुङपारी सीमा प्रहरी चौकी लार्केमा ‘सबै पर्यटकहरू दर्ता हुनुपर्ने’ भनी चकले लेखेको सूचना, तर अगाडि सबै बन्द अनि साइनबोर्ड आधा च्यातिएको दृश्य, सडक छेउमा पानी नआउने धाराहरूको दृश्य, ठाडो पर्खाल र ढोका/गेटमा काठहरू ठड्याई पशुहरू वारपार गर्न नसक्ने तर मान्छे हिँड्न दुईवटा लिस्नोहरू राखिएको दृश्य र भन्जाम फाँटका मान्छेरहित घरहरूको दृश्यहरू वास्तवमा सम्झनयोग्य ठहर्यायो – मस्तिष्कले ।
जेहोस्, करिब २५५ पाइलाको उकालो पार गरी ४:१५ बजेतिर लिही गाउँमा पुगियो । जसको उचाइ २९३४ मीटर रहेछ । पारीपट्टिका झरनाहरूको दृश्य नियाल्दै चौँरी चरेका दृश्य, आमा-छोरीले आलु खनेको दृश्यले मनलाई आल्हादित गरायो । पानी नआउने धाराहरू हेर्दै हिमालचुली होटेलमा आयोजित स्वागत कार्यक्रममा सरिक भई आलु र चिया खाइयो । त्यसदिन पनि त्यहाँ पर्यटकहरू बस्न आउने भएकाले हामीलाई बास दिइएन र यात्रा अघि बढाउन बाध्य भयौँ ।
नामसाङ् खोला तरी हामीहरू स्योका लागि रमाना भयौँ । चौंरीले भारी बोकेका दृश्य र खोलाको बिचमा थुम्को अनि त्यसमाथि रुख बुट्यान देख्दा प्रकृतिको कालिगढी उपर नतमस्तकता प्रकट गर्न मन पल्हायो भने बिजुली निकाल्न खनिएको कुलोमा कमिला हिँडेको दृश्य, बिजुलीको काठको खम्बा पनि काटेका दृश्यले अनि स्यो गाउँमा लक्षित होटेल पुग्न अत्यासलाग्दो बाटोले अर्थात् कृत्रिम दुष्प्रयासले प्राकृतिक वरदानलाई धमिल्याएको पाइयो । अन्तत: साथीहरूले मनास्लु होटेलमा बस्ने व्यवस्था मिलाउनु भएकाले सबैले बस्ने शुर कसियो । त्यसदिन त्यहींको विद्यालयमा पढाउने पोखराकी कमला मेडमको समेत सहयोगमा तयार पारिएको खाना खाइयो । मलाई रुघा लागेको हुँदा घरभेटीले निरमसी, मरिच, जिम्मुको पानी उमाली बाफ लिएर पिउन सुझाउनु भए मुताविकै गरेर आराम गरेँ ।
तस्वीरमा व्यहोराहरू …



















