तिलक पाैडेल
२०६८ कार्तिक २४ गरे बिहीबार बिहान उठी चिया पिई गोरखा फर्कने प्रमुख जिल्ला अधिकारी लगायतको टोलीलाई बिदा गरी राजनैतिक
संयन्त्रका सदस्यहरू सर्वश्री लेखबहादुर थापा (एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी), शुकदेव दवाडी (नेपाली काँग्रेस) र रामशरण बस्नेत (नेपाल कम्युनिष्ट पार्टी, एकीकृत मार्क्सवादी-लेनिनवादी) अनि सहकर्मीहरू सर्वश्री गोपी कोइराला (नायवसुब्बा), कृष्णकुमार खड्का (सब-ओभरसियर), एकु राई (खानेपानी टेक्निसियन) र सहयोगीहरू देवानसिं थापा र पोष्टराज भण्डारीसहित राजधानी दैनिकका पत्रकार श्री किरण लोहनीसाथ प्रात: ६:४५ बजे उत्तरी गोरखाको यात्रारम्भ गरियो ।
७:१५ बजे लामो चौतारो पुगेर चिसापानी हुँदै ८:०० एक्ले भट्टी पुग्यौँ । ८:३० मा चुम्चिलुङ्ग पुगेपछि छेकम्पार र सामा गाउँ जाने दोबाटो आउँदो रहेछ, हामीहरू सामातिर लाग्यौँ । केही बाटो हिँडेपछि गण्डकीमा रुबीनाला मिसिँदो रहेछ, जुन सधैँभरि हिलेरङको हुँदोरहेछ । सहयात्री एमालेका विष्णु काप्री र अर्जुनका अनुसार त्यो नालामा सुन बगिरहेको छ रे !
लामाचौतारामा औषधि खाएर हिँडे पनि मेरो खुट्टाको दुखाइ कायमै थियो । वास्तवमा २०६१ सालमा ड्युडोनममा प्वाल परेपछि पीडाहरक ‘पेनकिलर’ औषधि खान मनले मानिरहेको थिएन । परिणामस्वरूप बाटो काट्ने औषधिका रूपमा कथाहरू ‘सेयारिङ्’ गर्दै अन्तत: १०:१५ पेवा आई खाना खायौँ । भोकले हुनुपर्दछ – मैले त्यति मीठो र त्यति धेरै खाना सायद कहिल्यै खाएको थिइन होला र अधिकांशले पनि यस्तै प्रतिक्रिया दिँदै हुनुहुन्थ्यो । आलु र बरेलाको तरकारी, गोला सिमीको दाल र मूलाको ताजा अचार खाएको प्रतिजना रु.१२०।- रहेछ, जुन उपयुक्त लाग्दथ्यो । त्यहाँ करिब दुई घण्टा बिताइयो । कारण, हामीहरूले पुलको वस्तुस्थिति विवरण तयार पार्यौँ, लेखबहादुरजीले ‘लिष्ट’मा चिन्ह लगाउनु भयो ।
खाना खाएपछि १२:१५ बजेतिर हामीहरूले यात्रा अघि बढायौँ ।
करिब सवाघण्टाको यात्रापछि ड्याङ् (२०२६ मीटर) मा पुग्यौँ । जहाँ काठमाडौँका धिरज श्रेष्ठले दशवर्षे करारमा जग्गा लिई चालिसजनासम्म रहनसक्ने होटेल स्थापना गरेका रहेछन् । संयोग लापुमा प्रमुख जिल्ला अधिकारी र डिएसपीका लागि लट्ठी उपहार छाड्ने व्यक्ति पनि निजै रहेछन् । डिएसपी हाम्रो साथमा नहुँदा त्यो लट्ठी मलाई उपलब्ध भएको थियो । आफूले उपलब्ध गराएकोमा साखुल्यता दर्शाउँदै टेक्नेतिर अद्यावधिक गरिदिए । तिनै व्यक्तिले सामा गाउँमा पनि सार्वजनिक जग्गामा होटेल बनाएर विवाद सिर्जना गराएको व्यहोरा एमक्याप र गाविसका जनताहरूले बताउँथे । यो मानेमा निजको उपहार परोक्षरूपमा स्वीकारेकोमा मलाई असामञ्जस्यता खड्क्यो । जेहोस्, केही क्षणको विश्रामपछि हामी अघि बढ्यौँ । त्यहाँको साग र बरेलाको उत्पादन उत्साहप्रद, राम्रो देखिन्थ्यो ।
हामीहरू रानाको पुल तरेर करिब ३:०० बजे बिहींफेदी पुग्यौँ । केही साथीहरू बिहींगाउँतिर लाग्नु भयो भने हामी अन्य साथीहरू बिहींफेदीतिर लाग्यौँ । अफसोच ! हामीलाई त्यहीँ बस्ने प्रबल इच्छा र रायलाई त्यहाँका साहुजीले ‘पर्यटक/गोरे आउँछन् कि ?’ भनेर पर्खाएछन् । हाम्रो टोलीको पछाडि आउने ‘मलाई देखाउँदै – उ… गोरे आउँदैछन् !’ भन्दा रामशरणजीले ‘उनी त हाम्रै टोलीका मुख्य मान्छे हुन्’ भन्नुभएको मैले पनि सुनेँ । जेहोस्, त्यसपछिको स्टेशन ३ घण्टा टाढा भएकाले हामी सबैले त्यहीं वस्ने भनी मन बिसाइएका थियौँ । मलाई त अरू ५ मिनेट बितेको भए भित्र कोठामा गई आराम गर्न मन लागेको थियो ।
संयोग, हामीले पुवामा भेटेको ५ जना पर्यटकको टोली ठ्याक्क आइपुग्यो । अब त साहुजीले उनीहरूलाई बास बस्ने इजाजत दिए । हामीहरू फाल्तु बन्न बाध्य हुँदा मैले त्यस गाविसका सचिव तोयनाथ अमगाईंजीलाई ‘बरु पैसै सबै थोक भए, हामी पनि तिर्दा हौँ, हैन भने पहिला आउनेलाई पहिलो प्राथमिकता दिई मानवीयताको सम्मान नगर्नु त कारबाहीको भागी हुनुपर्ने …’ भन्दा ‘हो सर’ भन्दै होटेलवालासँग – ‘वहाँहरू जिल्लाका राजनैतिक संयन्त्रका मुख्य मान्छेहरू, एलडिओ साहेबहरू हुनुहुन्छ, वहाँहरूलाई पनि बस्न नदिनु राम्रो हैन …’ भन्दै हुनुहुन्थ्यो । उता पर्यटकका पथप्रदर्शकले पनि हामी-तपाइँहरू मिलेर बसौँ न ! भन्दै थिए । तर, रामशरणजी अघि बढिहाल्नुभयो अनि मैले पनि पछ्याउँदो भएँ । माथि गाउँमा गएका साथीहरू पनि त्यहीं बास बस्न आउने कुरा थियो ।
वहाँहरूलाई पनि व्यहोरा रद्द भएको खबर गरी ३:१५ बजे हामी अघि बढ्यौँ । त्यतिबेला रामशरणजी, कृष्णजी, देवानजी र म मात्रै साथमा थियौँ । रामशरणजी पनि खोच्याउँदै हुनुहुन्थ्यो, मेरा पनि माथिल्लो जोर्नी दुखिरहेको थियो । परिणाम मन बिसिइसकेको थियो । तर, पैसाका खाँतिर द्रव्यपिशाची बनेर भनौँ वा अतिथि देवो भव: भन्ने मान्यतामा पर्यटकहरूलाई स्थान दिएर हो ! हामी अघि बढ्न बाध्य भएका थियौँ । अगाडिको बासमा चाँडै पुगेर बस्ने, खाने प्रबन्ध मिलाउन सचिव अमगाईं र अर्को साथीलाई अलि गति बढाई अघि जान लगायौँ ।
बिचमा भरजममा पुगी चिया पियौँ । वास्तवमा बाटो लामो रहेछ । उज्यालोले बिदा लियो । नीशाको अङ्गालोमा हाम्रो यात्रा शिथिल हुन बाध्य भयो । पछाडिको टोलीको अत्तोपत्तो थिएन । कता-कता मनले खल्लो महसुस गर्दै थियो । मलाई मोवाइलका लोकगीतहरू बजाएर हिँड्ने मन पल्हायो । ‘म त आउने थि’न, यस्तै हुन्छ भन्या भा’ भन्ने गीत गुन्गुनाउँदै बाटो काटियो । होटेलवाला साथीहरू हामीलाई लिन अलि वरसम्म आए । अन्तत: हामीहरू ६:१५ बजे गप भन्ने ठाउँमा पुग्यौँ । पूर्णरूपले सञ्चालन भैनसकेको निर्माणाधीन होटेलमा बासको प्रबन्ध मिलाइए बमोजिम बास बस्यौँ । पछिल्लो टोली करिब आधा घन्टापछि आइपुग्यो । गोपीजीले मकै र भट्टका खाजा निकाल्नुभो । सबैले थकाइ र भोकको सितनसँग बडो मीठो मानेर खायौँ । हामी समेतको सहयोगमा मुसुराको दाल, आलु र सागको तरकारी तयार भयो । वास्तवमा भोकसरह मीठो केही रहेनछ, अति स्वादसँग सायमकालीन भोजन ज्यूनार गरी आराम गरियो । बत्तीको प्रबन्ध थिएन भने नेटवर्कले काम नगर्दा कसैसँग सम्पर्क पनि गर्न सकिएन ।
यस्तो यात्रामा मैनबत्तीको व्यवस्था मिलाउनु पर्दोरहेछ । कर्णालीतिर त हामीले लिएर हिँड्थ्यौँ । एकपटक जुम्लाबाट डोल्पा आउने क्रममा हाल मेट्रोसिटी हस्पिटल, पोखरा परिवारका गाइनेक्लोजिष्ट डा. रवि रेग्मी र म भरभरेको भञ्ज्याङ् पार गरी ओह्रालो झर्दै गर्दा नयाँ बाटोमा गरिएको यात्राको भएकोले अलमलमा पर्यौँ र पर्दा बाटोमै रात पर्यो । तिनताका (२०४२ सालतिर) हाते बत्ती (ह्याण्ड टर्च) को चलन थियो । संयोग बल्बहरू जले ।
अँध्यारोको रजाइँमा नवपथिक हामीसँग कोही पथप्रदर्शक पनि थिएनन् । रपनि झोलाबाट मैनबत्ती निकालेर बाल्दै तल-तल झर्दै थियौँ । तल भेरीनदी सुसाइरहेको थियो, मानौँ आज बुढीगण्डकी जस्तै । जेहोस्, एकाध घण्टाको सङ्घर्षपछि काइगाउँको विद्यालयमा पुगी सरहरूको आश्रय पाएथ्यौँ । त्यसको तुलनामा त आज मोवाइलहरूमै बत्ती थिए, जानकार साथीहरूले उपर्युक्तानुसार सबै बन्दोबस्त मिलाएका छन्/थिए । परिणाम सुत्ने बेलामा बत्ती भएन भनेर चित्त दुखाउनु पर्ने रहेन तापनि यस्ता यात्रामा बत्तीको ‘व्याकप’ को व्यवस्था मिलाउनु उपयुक्त ठान्दै निद्रादेवीको शरण परियो । थकाइको नतिजा हुनुपर्छ – सबैजना केही समयमै निदाएको प्रमाण पेश गर्न थाल्नुभयो ।
‘बाम सयी द्विभञ्जानो, षठमुत्रं द्विपुरिषक …’ भन्ने व्यहोराको जानकारी भएपछि साँझ-बिहान नै दीर्घशौच गर्ने बानी बसाएको मलाई भने सायमकालको शौचतालिका अस्तव्यस्त भयो । जेहोस्, निदाएछु र ३:३० बजे सोही कारणले बिउँझिएँ । होटेलघर नै निर्माणाधीन रहेकोले शौचागारको व्यवस्था थिएन । अन्तत: लामो समयको अन्तरालपछि खुला आकासमुनि उदर हलुङ्ग्याएँ । मन न हो ‘खुला दिसा मुक्त क्षेत्र’का जमानामा आएर पनि अझै यस्तो गर्नुपरेको व्यहोरा मनन गर्दै थियो । शयनागरमा फर्की बिहान ढिलासम्म आराम गरी सके यतै खाना खाएर हिँड्नुपर्ला सोच्दै पुन: निदाएछु ।












