तिलक पाैडेल
(सदरमुकामदेखि तातोपानीसम्म)
२०६८ साल कार्तिक १९ गते शनिबारको दिन भएपनि फिस्लिङमा नयाँ पूल निर्माणका लागि सोको विवरण तयार पारी प्रधानमन्त्री डा. बाबुराम
भट्टराईको फिस्लिङ् अवाइको स्वागत गर्न प्रजिअ. श्री कमलप्रसाद भट्टराई र हामीहरू बिहानै त्यता लाग्यौँ । त्यहाँको कार्यक्रम सकिएपछि जिल्ला विकास समितिको सभाकक्षमा सबै कार्यालय प्रमुखहरूसँग अन्तरक्रियात्मक निर्देशन गर्ने प्रधानमन्त्रीको कार्यक्रममा सरिक भयौँ । प्रधानमन्त्री भट्टराईले ‘गोरखा विकास आयोजना’ पढ्ने व्यहोरा स्मरण गराउँदा सदा प्रथममा पनि प्रथम भएको व्यहोरा मनन गर्न मन लाग्यो ।
कार्यक्रम सकिएपछि खाना खाई ३ बजेतिर प्रजिअ. भट्टराई, भवनका डिई. दिलिपशेखर, दुईजना कार्यालय सहयोगी र एकजना अङ्गरक्षकसमेत ५ जनाको टोली फिलिममा चलिरहेको घुम्ती सेवाको अनुगमन, निरीक्षण गर्ने हिसाबले रमाना भयौँ । हिजो बिहानै सबै
राजनैतिक दलका प्रतिनिधिहरू र सेवा प्रदायक कार्यालयका प्रमुख एवम् कर्मचारी साथीहरू यता रमाना भैसक्नु भएकोमा हामी प्रधानमन्त्रीज्यूको कार्यक्रमले सहयात्राबाट अलग भएका थियौँ । जेहोस्, करिब ५ बजेतिर आरुघाट पुगेर होटेल थ्री स्टेपमा बासको बन्दोबस्त मिलायौँ, हिजो वहाँहरू पनि यहीं बस्नु भएको रहेछ । पुनर्ताजगीपश्चात् खाना खाई आराम गर्यौँ ।
भोलिपल्ट २० गते आइतबार प्रभातकालीन सनातनी कर्महरू समापन गरी चिया बिस्कुटको नास्ता गरी काशीगाउँ-५ का खकीन गुरुङ्ले हाँकेको जीपबाट ६.३० गने यात्रा अघि बढायौँ ।मङ्गलटार, सिमराफाँट, शान्तिबजार हुँदै ७:३० बजे आर्खेतमा पुग्यौँ । गाडीबाट हुने यात्रा तिनताका सोतीसम्म भएपनि अगाडिको बाटो सहज नरहेको जानकारी पछि त्यहींसम्ममा टुङ्ग्यायौँ । त्यहाँ प्रो. गोकर्ण खनालको ‘साकार होटेल’ मा उसिनीराखेका चना मटर रहेछन् र मैले त्यत्तिकै नून खुर्सानी हालेर र अरूले तेलमा भुटेर अनि अण्डा उसिनेर नास्ताको रूपमा ग्रहण गरी कालो चिया पियौँ । संयोग गहुँका चिउरा पनि पाइएकाले खरिद पनि गरी ९:०० बजे पैदल यात्रा आरम्भ गर्यौँ ।
हामी कोखेटार, छेपारेडाँडा, सोती, केवरापानी हुँदै ९:२५ मा अर्मला पुग्यौँ । पारीपट्टि मान्तुको झरना मनमोहक देखिन्थ्यो । हिँडेको २५ मिनेटपछि लिदिङ्गको खुर्सानीबारीमा कुखुराको पोथीले आफ्ना चल्लाहरूलाई ममत्व प्रकट गरेको नमुना देखियो । अरू १० मिनेटको
हिँडाइपछि साना बच्चाहरूले पनि दाँत माझेको देख्दा सफाइले बास माग्दै त्यहाँसम्म पुगेको आभास मिल्यो । त्यतिबेलासम्मको हिँडाइबाट प्रतिमिनेट ३० पाइलाको दरमा हिँडिएको र हिँडाइ सहज हिसाबको रहेको हुँदा यही गतिले अघि बढ्ने शोच विकास गरियो
। मनलाई उपयुक्त जँचेका तस्वीरहरू खिच्दै यात्रा अघि बढिरहेको थियो । हावाडाँडा पुग्नु पहिल्यै गर्मी भएकाले बाहिरी कपडाहरू उतार्यौँ । मैले एकसरो कपडासहित ल्यापटप बोकेको थिएँ । १०:३० मा हावाडाँडा पुगेपछिको पहराको बाटो अलि खतरा लाग्यो । मैले १०-१०० सम्मका रोइला गीतहरूको कल्पना गर्दै र बीचमा विद्युत् पोलहरूको दुरुपयोग प्रकृतिका मनोवाञ्छित तस्वीर खिच्दै हिँड्दा अरूहरूभन्दा ढिलो भएको थियो ।
केटी : एक् दुई् तीन्चार् पाँऽऽच्छ, एक्लाई् सुन्ना दश हो, आज यतै बस भो ।
केटा : एक्लाई् सुन्ना दऽऽश, दुई्लाई् सुन्ना बीस्पनि, नगर्नु है रीस्पनि ।
केटी : दुईलाई् सुन्ना बीऽऽस, तीन्लाई् सुन्ना तीस्भयो, मलाई् केको रीस्भयो ।
केटा : तीन्लाई् सुन्ना तीऽऽस, चार्लाई् सुन्ना चालिस, भो-भो नलाऊ् पालिस ।
केटी : चार्लाई् सुन्ना चाऽऽलिस्, पाँच्लाई् सुन्ना पचास, साँच्चै माया कता छ ?
केटा : पाँच्लाई् सुन्ना पऽऽचास्, छलाई् सुन्ना साठी भो, काली कति बाठी हो ?
केटी : छलाई् सुन्ना साऽऽठी, सात्लाई् सुन्ना सत्तरी, भन्यौ दाइ्ले कस्तरी ?
केटा : छलाई् सुन्ना साऽऽठी, आठ्लाई् सुन्ना असी हो, लौ त यतै बसियो ।
केटी : आठ्लाई् सुन्ना अऽऽसी, नौलाई् सुन्ना नब्वे हो, माया साम्यगाम्मे भो ।
केटा : नौलाई् सुन्ना नऽऽब्वे, दश्लाई् सुन्ना सय हो, घर्बार् एउ्टै गरे भो ।।
२०६८।७।२० गते आइतबार, बिहान ११:२५ बजे,
लापुबेंसी पुग्दै गर्दा
सहयात्रीहरू लापुवेँसी पुगेर ‘मनास्लु होटेल’मा खाना खाने व्यवस्था मिलाउनु भएको रहेछ । हामी पुगेपछि स्थानीय सब-हेल्थपोष्टका स्टाफ र होटेलका
बैनीहरूले टीका, खादा, मालाका साथमा एउटा पदयात्रीको साथी (ट्रेकिङ् स्टिक) पनि उपलब्ध गराउनु भयो । मसँग सादा लट्ठी पनि नभएको अवस्था मनन गरिदिए जस्तो लाग्दा साह्रै आनन्द लाग्यो । बत्तीको पूजा गरी एकछिन बिसाएर सब-हेल्थपोष्टको अवलोकन गर्यौँ । भूकम्पले चर्केको देखिन्थ्यो । अन्तत: रक्तचाप परीक्षण गरी (मेरो १२०/८० नै रहेछ, खुसी लाग्यो) लक्ष्मी र रत्नकुमारीद्वारा पकाइएको लोकल कुखुराको झोलसँग कोदोको ढिँडो खायौँ । जुन आफैँमा स्वादिष्ट थियो; त्यसमाथि प्राकृतिक सुगन्धयुक्त घिउले सुनमा सुगन्ध थपेको महसुस भएथ्यो ।
तस्वीरहरू खिची/खिचाइ हामीहरू १२:३० बजे अघि बढ्यौँ । करिब १:०५ बजे नौलीखोलामा पुगी साना जलविद्युत् आयोजनाको अवलोकन गर्यौँ । वरिपरिका पाखाहरूमा बहेका प्राकृतिक मनोरम छहराहरू नियाल्दै यात्रा अघि बढायौँ । १:३० बजे खानबेँसी हुँदै २:४० बजे
माच्छेखोलामा पुगेथ्यौँ । स्थानीय विद्यालयमा अध्यापन गर्ने लालकौशी गुरुङ र प्रसूती केन्द्रकी अमला
अधिकारी ‘गुरुङ्’ बाट त्यहाँको संक्षिप्त जानकारी लिइयो । आमा समूहको स्वागत ग्रहण गरी यात्राको तत्काल राहतमा संक्षिप्त सहयोग गरी अघि बढ्यौँ । ४:०० बजे खोर्लाबेँसीमा पनि स्वागत कार्यक्रममा सहभागी हुँदै ५:०० बजे तातोपानीमा पुगेर ‘कान्छी होटेल’मा बास बसियो । दिलिपसरले बाटोमा सेयारिङ् गरेको ‘बाटो काट्ने औषधि’ कथाले बाटो पार गर्न सहज भएको जनाउँदा आनन्दानुभव भएको अहिल्यै जस्तो लाग्दछ ।
ललितपुरकी वनस्पति शास्त्रमा विद्यावारिधि गर्दै गरेकी सुषमा आफ्नी आमासाथ फिलिपबाट आजै फर्केकी रहिछन् । वहाँहरू फिलिमबाट करिब ७ घण्टामा त्यहाँ पुगेको जनाउनु हुन्थ्यो । जेहोस्, तातोपानीमा मजासँग नुहाई ‘थहटो’ थकाइ हरण टोनिकको सहारा लिई भट्टराईसरबाट
‘हाइकु (५-७-५ अक्षर)’ बारेमा जानकारी गराउनुभएपछि संक्षिप्त अभ्यास गरी खाना खाएर हाम्रो टोलीका
सहयात्रीहरू एउटै कोठामा आराम गरियो । भोकमा मीठो मसिनो नपाइए पनि भोजन भए पुगेजस्तै थकाइमा पनि आरामी बिच्छ्यौना नभएपनि उपलब्ध स्थानमै निद्रादेवीले शरणमा लिन्छिन् भन्ने व्यहोरा लागु भएछ, सबैजना मस्तसँग आराम गर्यौँ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#


